Baidyanath Upadhyaya – Drishya

वैद्यनाथ उपाध्याय – दृश्य

अचानक
नाटकको दृश्य बदलिए जस्तै
बदलिन्छन घटनाक्रमहरू
मैले सोचेको
चाहेका धेरै सपनाहरू
आकार लिन नपाउँदै
फेरिए जम्मै उर्वर प्रदेशहरू
ठूल्ठूला आशाका
पहाडहरूले थिचिएर
विशृंखलताको पैह्रो लागेको
यो समय
जताततै अराजक शंखनाद!
रचनात्मकताको
एक मुट्ठी बिउ छरेर
सुनौलो फसलको
अपेक्षामा रित्तिएको समय
कस्तो दृश्य यो
आशंकाहरूले नजर धमिलिएको बेलामा।

Baidyanath Upadhyaya – Drishya

वैद्यनाथ उपाध्याय – दृश्य

मेरै पीडाहरूको
समागमले
प्रगाढ छ यो रात!
मेरो वश चल्दथ्यो भने
म सूर्य झूल्काई दिन्थें
त्यो कालो पर्दा जस्तो रात
म च्यातेर मिल्काई दिन्थें।
सँधैं
केही छुटीरहेछ
केही जुटीरहेछ
जीवनको क्रम..
मेरो बौद्धिक सीमादेखि पर
केही घटिरहेछ निरन्तर
भौतिक लालसाको विस्तारमा
खुम्चिएको छ आकाश
भोगवादको प्रवल्यले
डगमगाएको छ यो धरती
संकटग्रस्त हिमाल
वन-सम्पदाहरू
निद्राग्रस्तहरूको सपनाको
दैल्हो चियाई
शरण माँगिरहेछन
थरि थरिका
मानव अत्याचारले
पीडित
नदी-नालाहरू
आफ्नै अस्तित्वको
तलाशमा
काल्लिंदैं बगिरहेछन
अँध्यारो यो कैनवासभित्र
म यो कुन दृश्य
प्रत्यक्ष गरिरहेछु!