Aryabiman Chitrakar – Samaya

आर्यविमान चित्रकार – समय

दिन अनि रात
फेरी अर्को प्रभात
आकाश पाताल अमोग
त्रास सन्त्रास र सुयोग
अहम अभिमानी
हुनेछ त्यो भाग्यमानी
गर्नेछ जसले जय
अमर अजय
अलौकिक अदृश्य
म हु समय

विधाता हु म
छु म विराट
सुन हे मनुष्य
गर्भम़ा मेरो
छ तेरो भविष्य
दिर्घशाली बलवान
अमोग,अदृश्य
हु एउटा समय

तृष्णा,चाहना खोइ के मोह
पलभरको पाहुना हो यो देह
निराकार, पूर्ण र निमित
सबथोकमा आश्रित र सिमित
मिथ्या मेरा लागि तेरो क्रोध
सर्वशक्तिमान हु, तँ गर बोध
धैर्यको गर संचय
हुनेछस त विजय
अजर अमर अदृस्य
महारुद्र स्वयम् समय

Ratna Shamsher Thapa – Bhutte Bancharo

रत्नशमशेर थापा – भुत्ते बन्चरो
(रूपरेखा २०२१)

यहाँ मानिस
आफ्नै खुट्टामा
भुत्ते बन्चरो चलाएर
पुरुषार्थी बन्छ ।

फाट्टफुट्ट-फाट्टफुट्ट
अमिला मुस्कानका
दुईचार रेखा देखाएर
आफूलाई आशावादी भन्छ ।

आक्कल झुक्कल जोशमा
शान्ति रुचाउने
तटस्थ नीति अपनाएर
आफूलाई ठूलो गन्छ ।

अनि !
आफूलाई नापेर
आफ्नै मिहिनेतले
आफैलाई पुर्न
एउटा खाल्डो खन्छ ।

अनि मानिस
आफ्नै खुट्टामा…

Rakesh Karki – Basdai Gayo Maya (Nepali Geet)

राकेश कार्की – बस्दै गयो माया (गीत)

बस्दै गयो माया नजिक हुँदै जाँदा
आँखा आँखा जुधी बदन छुँदै जाँदा

समुद्रको लहरमा आउ बग्दै जाउँ
उडी उडी बादलुमा प्रिति लाउँ
ताराहरु बटुलेर दुबै मुटु भरौँ
तल तल जमिनमा खुशी छरौँ

मेरो ओठमा तिमी मुस्काई रहुली
जिन्दगी सधैँभरी प्रेमले कोरौली
तिम्रो मिठो स्वरमा मुटु चलाउँला
बसन्त भै मायाको तिमीमा पलाउँला

– लस् एन्जेलस्

(Sent to Sanjaal Corps via Email)

Bhupin Byakul – Chhal Haru

भूपिन ब्याकुल – छालहरु

छालहरु
नदि बगिरेहेका संकेतहरू हुन्
नदि बग्छ
र छालहरु निस्कन्छ

छालहरु
नदीले गाएका मौन गीतहरु हुन्
नदीले भरेका प्रिय संगीतहरु हुन्
अक्षरहरु हुन् छालहरु
नदीले उत्कर्षमा रचेका
जो बुझ्दैनन नदीले लेखेका शब्दहरु
जो सुन्दैनन नदीले गाएका धूनहर
मलाई शंका छैन
ती मेरो देशका शासकहरु हुन्

छालहरु हुलाकीहरु हुन
खबर पर्खेर बसिरहेका आफन्तहरुलाई
बगिरहने नदीको कथा सुनाउँछन्
छालहरु बेनामे चिठ्ठीहरु हुन्
नदीको अतल गहिराइबाट झिकेर
खामबन्दि गरिरहन्छन परिवर्तनका सन्देशहरु
र नदीतटक बस्तीहरुलाई सुनाउँछन्
समयको नरोकिने धूनझैँ
हरेक लहरका नदीका
जीवनका प्रिय संकेतहरु हुन् !
एउटा अग्लो घुम्ने कुर्चीमाथि
मस्त निदैरहंछ देश
र छालहरु आइरहन्छन
कुर्चीको क्षितिजमाथि
संधै दुबिरहांचा एउटा घाम
र छालहरु गइरहन्छन्
मा सोचिरहेछु युगौदेखि
किन शासकहरु देश बनाउन चाहन्छन
छाल नाउने सपाट नदिजस्तै
जब किनारमा उभिएर एउटा युग
लेखिरहेछ रगतले प्रेमपत्र
छालहरुको नाममा !

छालहरु
नदि बगिरेहेका संकेतहरु हुन् !

Manita Limbu – Gidi Ko Dosh

मनिता लिम्बु – गिदीको दोष

कसै सुखी छन यहॉ
यसको श्रेय कसलाई दिने
कोही दुःखी छन् यहॉ
त्यसको दोष कसलाई दिने
कसै उन्नतिको पहाड निरन्तर चढ्छन् यहाँ
यसको श्रेय कसलाई दिने
कोही अरुको प्रगति देखेर निरन्तर जल्छन यहाँ
यसको दोष कसलाई दिने
न गरिबीलाई दोष
न बाबुआमालाई दोष
दिदी,दाजुभाइ,भाउजुबुहारी कसलाई यो दोष दिने
या समाजलाई न वरिपरिको वातावरणलाई
घाम त उसको समयमा झुल्किन्छ नै
जून त उसको समयमा उदाउछ नै
ताराहरु पनि निरन्तर चम्कन्छ नै
हावा पनि निरन्तर बहिरहन्छ नै
फुलहरु पनि समयमा फुल्छन नै
पृथ्वी पनि घुमीरहन्छ नै

तर,….मानिसलाई सुख दुःख
के ले हुने हो ????
जीवनको सुख दुःखको
उपज के हो????
उतर खोजीहिड्दा लाग्यो मलाई
सायद ,सबै मानिसहरुको टाउको छ यहाँ
हो,त्यही टाउकोको दोष हो यो
अँह,होइन टाउकोभित्र त गिदी छ
त्यही गिदीको दोष हो यो…
अँह पटक्कै होइन,त्यो गिदी कसरी चल्छ
त्यसको दोष हो यो

हो..हो..जीवनमा कोही सुख दुःख
के कारण हुन्छ भनि हेर्दा त
मैले पाए यो त…
टाउको भित्र चल्ने गिदीको दोष हो यो…
टाउको भित्र गिदी चल्ने तरीकाको दोष हो यो…

Pratima KC – Hareko Sapana

प्रतिमा के.सी. – हारेको सपना

हर रात मेरो सपनामा
अनगिन्ती बालिकाहरु
बामे सर्दै आउँछन
र भन्ने गर्छन
हाम्रो बालअधिकार खोई ?
भेदभाब रहितको बातावरण खोई ?
डाक्टर ईन्जीनियर बनाउने सपना खोई ?
भन्दै तोते बोलीमा प्रश्न गर्छन
अनि म माथी आक्रमण गर्छन
मलाई पिट्छन् टोक्छन् र लुच्छन
न्यानो संरक्षणको अभावमा
रुन कराउन थाल्छन
म चुपचाप हेरी रहन्छु /
हर रात मेरा सपनामा
असंख्य युबतीहरु
केहि हराए झैँ अलिकति डराए झैँ
ठिंग उभिन्छन र भन्छन्
हाम्रो इज्जत खोई? हाम्रो समानता खोई?
बेचिनु पर्ने हाम्रो जीबनको मुल्य खोई?
उनीहरु पनि म माथि आक्रमण गर्छन्
म नतमस्तक उभिइरहन्छु /
हर रात मेरा सपनामा
आधा आकाश र आधा धर्तीको भार थाम्ने
अधबैँसे नारीहरु र जीवनलाई सकी नसकी
थेगीरहेका बृद्धा आमाहरु मलाई घेरा हाल्छन र सोध्छन
महिला अधिकार खोई ?
जन्मदेखि मृत्यु बिचमा भौतिक र मानसिक रुपमा
हेरक क्षणमा बलात्कृत हुनुपर्ने
अवसर गुमाउनु पर्ने
दोस्रो दर्जामा गनिनु पर्ने
पुस्तौदेखि यस्तै अपहेलित हुदै काटिरहेका पिडाहरुलाई
मेरो आगनमा पक्छ्याल्तै पोख्छन्
रुन्छन्, कराउछन् र भन्छन्
हामी कहिले मानव भएर जिउने?
मैले उनीहरुका यी कारुणिक पीडालाई
टिप्न सक्दिन , बोल्न सक्दिन र मसंग उत्तर पनि छैन
म पनि यही लडाई लडिरहेकै छु
त्यसैले,
मैले मेरा हर सपनामा
हारेको अनुभव गर्छु
मैले हारेको सपना
हर रात देख्ने गर्छु /

८ जनवरी २०११
बेलायत

(Sent to Sanjaal Corps via Email)

Gopi Krishna Dhungana Pathik – Nepal Chihairahechha Darjeeling

गोपीकृष्ण ढुंगाना पथिक – नेपाल चिहाइरहेछ दार्जिलिङ

अधरमा प्रकृति मुस्कान बोकेर
टाइगर हिलबाट सूर्योदय स्वागतमा रम्दै,
अंगप्रत्यंगमा चियाका बुट्यानहरु
अनि शान्त अनुहारमा निर्दोषपन बटुल्दै
नेपाल चिहाइरहेछ दार्जिलिङ ।

देखिन्न दाग कतै, संवेदनशील तर स्नीग्ध
मुटुभरि आत्मविश्वासको पहाड बोकेर,
बिरानो भूमिमा आफ्नै संस्कृतिको दियो बाली
सन्तानका खुसी र सुखलाई काखी च्याप्दै
नेपाल चिहाइरहेछ दार्जिलिङ ।

मातृत्व र भातृत्वमा संसार देख्ने
घोत्लिएर हरपल भाषा र साहित्यमा भुल्दै,
सगरमाथाबाट कोसौं टाढा रहेर पनि
तेञ्जिङ र हिलारीलाई मुटुमा टास्दै
नेपाल चिहाइरहेछ दार्जिलिङ ।

झस्किन्छ, चस्किन्छ अनि पुःन व्युतिन्छ
लाखौंपटक मरिसकेको छ स्वतन्त्रताका लागि,
परम्परा र पहिचानको प्रमाणका लागि
रातदिन अनि दिनरात बर्बराउदै
नेपाल चिहाइरहेछ दार्जिलिङ ।

दुई प्राण एउटै श्वास बाच्ने प्रयासमा
नदीका दुई किनार भए पनि,
पागलपनबाट बौरिदै र भक्कानिदै
अन्ततः क्षितिजमा मिलनको संभावना बोकेर
नेपाल चिहाइरहेछ दार्जिलिङ ।

काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर

Komal Shrestha Malla – Kasari Lekhun Maya (Nepali Geet)

कोमल श्रेष्ठ मल्ल – कसरी लेखुँ माया (गीत)

कसरी लेखुँ माया ? माया त मायालु दुखेको दुख्यैछ ।
नलेखु सकिन्न सहन, आँशु त मायालु झरेको झर्यैछ ।।

जे देख्यौ वहेको त्यो खोला मेरै यो आँशुको हुन सक्छ ।
नसोध बादललाई तिमी निष्ठुरी त्यो गर्जेर रिसाई बोल्छ ॥

कसरि लेखुँ माया ….

को माग्छ बिदाई आँफै ? मन किन यसोरी मर्छ ?
जे देख्यौ सुकेको अधर त्यो पनि अरुको किन हुन्छ ॥

कसरि लेखुँ माया …

तर्साउँछ यो आफ्नै छायाँ म बाटै पर पर हुन्छ
निभाउँ कसोरी मनको आगो? आँशुले बाटो नै छेक्छ ॥

Pravin Khaling – Machis Ra Chheparo

प्रवीण खालिङ – माचिस र छेपारो

ऐना फुटे जस्तो
चर्को जिन्दावादले
बस्तीको निन्द्रा डिस्टर्ब भएपछि
गॉंउले सिरानीमा राखेको माचिस छाम्छ।

थाहा छ,
आगोको बिउ जोगाउन कति साह्रो छ ?
उ सतर्क छ
विजय जुलुसको झरीमा
माचिस ओस्सिनु हुँदैन
अनि
उ छामिबस्छ खल्ती घरि घरि
र ढुक्क हुन्छ
आगोको अनिकाल परेको गॉंउमा
जोगिएको एक बाकस माचिस छामेर।

गल्लीहरूमा
क्यामोफ्लाईज छेपाराहरू
विकासको घाम ताप्न आइपुगेका छन्‌
समयको गति रोक्न
एन्टीक्लग सम्झौताको धजा हल्लाउँदै
देउरालीमा उभिएर
फेरि ऱङ परिवर्तन गर्दै झुक्काइरहेका छन्‌।

तर
अझै उठेको छैन शान्ति,
शब्दहरू ब्युतिएका छैनन्‌
एक दिन
बुटले कुल्चीएका रगताम्मे अक्षरहरू
विस्तारै उठ्‌नेछन्‌
अनि
देशको संविधानलाई माटोको टिका लगाई माग्नेछन्‌
त्यतिबेला विकासको घाम डुबिसकेको हुनेछ
गल्लीमा छेपाराहरू चिसिने छन्‌
तर
गाउँले जोगाएको आगोको बीउ रोप्नेछ
खल्तीको माचिस पार्ने छ
फेरि आगो बाल्नेछ।

गान्तोक

Rajendra Thapa – Kehi Tukra Haru

केही टुक्राहरू – राजेन्द्र थापा
(मधुपर्क माघ, २०६८)

१. बाघ राजनीति

यौटा बाघ मर्छ – खबर बन्छ
त्यै बाघले दिनहुँ मृग मार्छ – खबर बन्दैन
थुक्क राजनीति !

२. सडक बन्द

सडक बन्द भन्छ मान्छे,
तर Continue reading “Rajendra Thapa – Kehi Tukra Haru”

Pratima KC – Khushi Ko Barko Odhera Aau (Nepali Gajal)

प्रतिमा के.सी. – खुशीको बर्को ओडेर आउ

शान्ति सुरक्षा माया र सद्भाव जोडेर आउ यसपाली तिमी
प्रेमको चोलीमा खुसीको बर्को ओडेर आउ यसपाली तिमी

महिला पुरुष जात धर्म भन्दै किन भैरहेछ यो भिन्नता
विभेदको Continue reading “Pratima KC – Khushi Ko Barko Odhera Aau (Nepali Gajal)”

Deependra KC – Vijayotsav

दीपेन्द्र के.सी. – विजयोत्सव

फाँटभरि सुलीहरु छरेर
फैलिएको गन्ध,
असीमित कुखुराका;
सुँघेर ह्वाँस्स
अनौठो मादमा,
उर्लिएका हुँइयाहरु
झर्दैछन शहरमा ।
परिवर्तनका झण्डाहरुले छोपिदै
छिर्छन चोक, गल्लीहरुमा
घोकाइएका Continue reading “Deependra KC – Vijayotsav”

Maya Sharma – Aawhaan Naari Lai

माया शर्मा – आव्हान नारीलाई

नबिर्सौं आज हामीले नारी म को हुँ भनेर
नबिताउँ हाम्रो यो सिङ्गो जिवन दासिनी बनेर
यो पुरुष प्रधान समाजमा हामी जन्मेर हुर्केर
नबिर्सौं हामीले अस्तित्व आफ्नै छ केहि भनेर

भृकुटी, Continue reading “Maya Sharma – Aawhaan Naari Lai”

Ashank Upadhyaya – Aaye Gaye (Nepali Gajal)

आशांक उपाध्याय – गज़ल – आए गए

सपनाका लहरमा, छाल कति आए, गए
आजसम्म जीवनमा, काल कति आए, गए

लेख्दा गीत पिरतीका, हृदयको माझबाट,
संगीतले सजाउन, ताल कति आए, गए

स्वप्न परि जस्तै लाग्ने, यौवनाको छेउ पर्दा,
बेचैनीमा हास्नु पर्ने, हाल कति आए, गए

जवानीले अंगालेर, अङ्ग अङ्ग पगालेको,
आशा गरि बिताएका, साल कति आए, गए

उत्तरको आशा गरि, प्रस्तावको दाउ थाप्दै,
समर्पित खेल खेल्ने, खाल कती आए गए

Rakesh Karki – Virus Haru

राकेश कार्की – भाइरसहरु

लाञ्छनाका भाइरसहरुले रुघाखोकी लगाउँदा पनि खोकिएन प्रिय
हार्टयाट्याक गराउने गरी धोका दिँदा पनि मुटु रोकिएन प्रिय

सिकाउने, भड्काउने, बिगार्ने, छुटाउने, कुरा लाउने कति धेरै
तिनैका लहलहैमा पिँजडाको सुगाले जस्तै पाठ घोकिएन प्रिय

म प्रेममा अन्धो थिँए हाम्रो सामुन्ने अजँगको पहाड थियो
तिमी खुरुक्क मोडियौ म हिँडिरहेँ मलाइ कतै ठोकिएन प्रिय

छाती चर्केको देखेर होला, भट्टीले स्वागतका ढोका खोलीदियो
बहाना पाएर, लाचार भएर, हरुवाले झैँ टन्न धोकिएन प्रिय

सबैजना स्वच्छन्द छन्, आफ्ना आफ्नै छुट्टै बिचार छन्
तिमीले जस्तो अर्काले बलजफ्ती लादेको बिचार बोकिएन प्रिय

-लस् एन्जेलस्

Yagyesh Dhwoj Karki – Yo Samaj

यज्ञेशध्वज कार्की – यो समाज

यो मानिसको किनबेच चल्ने समाजमा
मजबुरीमा, लाचारीमा, बलजफतीमा, जबर्जस्तीमा
कयौं बेगुनाह चेलीबेटी बेचिन्छन्,
जो लज्जा र अपमानले
दिनभरी लुक्छन्,
रातभरी दिनलाई कुर्छन्,
सबका सामु झुक्छन्,
आफ्नो नसीबलाई धिक्कारी सुकुँसुकुँ रुन्छन्,
उनलाई अतीतले पोल्छ
भाग्यले पिरोल्छ
भित्रभित्र भावनाहरुले दुख्छ,
अनि यो समाजले पनि
उनै उपर थुक्छ!
तर,
आफ्नो इच्छाले,
आफूखुशी आफैलाई
आफ्नो इमान र मर्यादासँगै बेच्नेहरु चाहिं
रोव, रवाफ र शानसंग
दिनभरी भुक्छन्,
रातभरी चैनसंग घुर्छन्,
आफ्नो घुसियापन सबका सामु पुर्छन्,
ओहदामा माथि माथि उठ्छन्,
उनलाई न कानुनले छेक्छ
न नैतिकताले रोक्छ,
केवल कपटले बोक्छ
अनि यो समाज पनि
उनैलाई निहुरी निहुरी सलाम ठोक्छ!

Narayan Adhikari – Ke Farak

नारायण अधिकारी – के फरक ?

ए स्वयम्भू !
सत्य सत्य बोल न्यायको बारभित्रबाट
हिजो र आजमा केही फरक पायौ ?
उही उद्घाटन्-सेमिनार गोष्ठी-प्रवचन
उही भोज-भोतेर सत्ता-भत्ता
तिमी के देख्छौ खै ? म त यहि देख्छु ।

पीडामाथि पीडा थपिँदै छन्
सुनको त कुरै नगरौं नून खानै गाह्रो भइसक्यो
कोशी गण्डकी महाकाली पुरानै घाउ हुन्
निको हुनु कता कता
सीमा अतिक्रमणका नयाँ घाउहँरु फैलिँदै छन्
पुराना सन्धी-सम्झौता
नवीकरण पुनरावलोकन ठीकै होलान्
तर तिनका नाममा खै !
के के सट्टा भर्ना गर्नुपर्ने हो !
म त यही देख्छु ए स्वयम्भू !
भन तिमी के देख्छौ ?

ए स्वयम्भू !
तिम्रा बुद्धका आँखाले
शान्तिको गति के देख्छौ ?
एउटा भयानक युद्ध रोकिए पनि
युद्धका जीजिविषा पाल्नेहरु
फुटेर चोइटिएर टुक्रिएर भए पनि
रगतको होली खेलेकै छन्-
म त यही देख्छु-
पानी सङ्लो छ भन्नु भ्रम मात्रै हो
मेचीदेखि कालीसम्म
जहाँको पानी उठाएर हेर
रगतकै छिटा पाउनेछौ ।

के फरक छ हिजो र आज
उही मालिक रिझाउने खेल
उही शासन टिकाउने खेल
उही मागेर गर्जो टार्ने खेल
ए स्वयम्भू !
सत्य सत्य बोल न्यायको बारभित्रबाट
कतै देख्यौ कि नयाँ नेपाल ?

(उडब्रिज, भर्जिनिया)

Anukul Prakash – Naya Paribhasha Prem Ko (Nepali Gajal)

अनुकुल प्रकाश – नयाँ परिभाषा प्रेमको (गजल)
(चितवन)

नयाँ परिभाषा प्रेमको, बुझाएर गयौ !
आशा अभिलाषा जीवन्को, टुटाएर गयौ !!

मन्मा बसन्तको भर्खर, आगमन थियो ,
वरा! मनडाली भाँचेर, सुकाएर गयौ !!

गाँस्नु रैन रैछ पिरती, हैसिएत मेरै
आँखो अन्धो थियो मनको, खुलाएर गयौ !!

भनी बाँच्नुपर्छ तिमीले, ‘साथबिना मेरो’,
मर्नुभन्दा ठुलो सजाएँ, सुनाएर गयौ !!

लुट्यौ लुट्नुसम्म आखिर, प्यासीनै’छ अनु,
खुशी नै’छु धोको तिमीले, पु-याएर गयौ !!

Krishna Joshi – Hiun Jhain Aayeu Hiun Jhain Gayeu

कृष्ण जोशी – हिउँझैँ आयौ हिउँझै गयो
(मधुपर्क बैशाख, २०६७)

हिँड्दा हिँड्दै
विष्फोट फाटेर
दोबाटोले तिमीलाई निलेको देख्थेँ
कहिले फेरि
अनजान मान्छेले जबर्जस्ती
अनजान ठाउँतिर लगेको पनि देख्थेँ

मेरा काला शङ्काहरूमा
तिमी हराउँथ्यौ पनि
देशको विस्थापित सीमास्तम्भ भएर
मेरो भूगोलबाट

देख्नु परेथ्यो कुनै दिन
नाम्चेको आरक्षणबाट निकुञ्ज भित्र नै
गोली लागेर मृत्यु छट्पटाइरहेको
एउटा कस्तुरी मृग

मायाले सुमसुम्याउनुबाहेक
कुनै उपाय थिएन मसँग
चिसो भयो त्यही क्षण हिउँ भयो कस्तुरी मृग
त्यो चिसो हिउँलाई
अर्थहीन मायाको अन्तिम सत्य प्रतीक सम्झेँ

अचानक
गोलीको रगताम्य घाउ लिएर
कस्तुरी मृगझै आयौ मसम्म तिमी पनि
त्रसित थिएँ उपचार गर्न नसक्ने
छरछिमेकलाई बोलाउन नसक्ने
बन्धित थिएँ काखमा सुमसुम्याउन नसक्ने

त्रसित मेरो मुटुमा
आवाजहीन भक्कानो फुटाउँदै तिमी पनि
चिसो भयौ त्यही मृगझैं हिउँ भयौ
अन्तिम उपहारमा मलाई
कस्तुरी वासना दिएर ।

Umesh Rai Akinchan – Sakshi Shahar Ma

उमेश राई ‘अकिञ्चन’ – ‘साक्षी शहर’मा

आँखामा राखेर
उत्साहको झोला
हिँडिरहेको होला
त्यो
सौन्दर्यको शहर……

उस्तै होला
हामीले हिडेको
हङकङ पार्कको बाटो

उस्तै होला
भूँइमा खस्तै गरेको
जोर्डनको साँझ

त्यो
परको समुद्रमा
चलिरहेको होला किस्ती
वा
झन रफ्तारमा
दौडिरहेको होला
मास ट्रान्जीट रेल्वे

यही पल
आँसुको मधुरो मैनमा
छाम्दै हौला तिमी
मर्ने मान्छेको नमर्ने याद
जुन १, २००३