कोमल श्रेष्ठ मल्ल – मेटिदैछ
उदण्डको संकट
पात उडेर
रुख ढल्दैछ
अनिश्चित प्रगतिको शिखर
समथर फर्लाङ मारेर
पाईला मेटिदैछ !!
नेपाली कविता को बिशाल संग्रह
कोमल श्रेष्ठ मल्ल – मेटिदैछ
उदण्डको संकट
पात उडेर
रुख ढल्दैछ
अनिश्चित प्रगतिको शिखर
समथर फर्लाङ मारेर
पाईला मेटिदैछ !!
रुपेश राई – अबोला छु
गाउँ छक्क पर्छ,
मेरो पढाइमा। यसो
टाउको निकाल्छु; यो
केही होइन।
यसैले ता अबोला छु
समाज र संस्कारभित्र
नियमित टकटक गरेर जाने मेरो आयु।
काम छैन
घरआँगनमा। गुल्चे गर्छ
नियतीले; हुरूक्क
पार्दै फेक मेलमा फ्रडहरू।
बायोडेटा/रिज्युमको
गन्ती छैन। अनलाइन जब, जब सिकर,
नौकरी.कम, शाइन.कम, रोजगार समचारमा
सब्सक्राइबको ता कुरै छैन।
छ, केश झरेको तालुमा साथीको
व्यङ्ग्य; भाग्यमानी पो हुनु हरे!
कामपछिको आवत-जावत
ट्रेनमा कति मिल्दा हुन्। बोलाई हाल्नु
चम्केको भन्ला; म कति संकुचित छु!
क्लकवाइज
आयुको टेनसनमा बल्ला
मिल्यो गुवाहाटी एक्सप्रेसको केबिनमा
एउटी तर भाग्यमानी तालुले गुल्चे खेल्यो।
यसैले ता म अबोला छु
प्रत्येक म्याउँ-म्याउँ र भौ-भौमाझ।
सरोज धिताल – मान्छेको छोरी
वर्ष दिनकी मान्छेको छोरी
फर्केर हाँस्दै मतिर हेरी
छक्क परी सोध्यो यो मनले
यो फुच्चीले लौ न के गरी !
पढिछ कि कुन्नि उसले मेरो मन
सिँगाने अनुहारबाट मेरो हाँसोलाई
थन्क्याएर Continue reading “Saroj Dhital – Manchhe Ko Chhori”
कृष्णप्रसाद पराजुली – किन-किन लाग्छ मलाई मीठो मधुपर्क (गीत)
(मधुपर्क माघ, २०६७)
किन-किन लाग्छ मलाई मीठो मधुपर्क
फर्किएर जति हेरुँ मनमा हुन्छ हर्क !
जीवनमा रस घोल्दा
मान्छे बाँच्न सक्छ
नीरस जीवन राम्रो होइन
अन्त्य हुन पुग्छ……….
नबोलूँ म कसैसँग हेर्छु वर्षैवर्ष
किन-किन लाग्छ मलाई मीठो मधुपर्क !
कथा पनि देख्छु उसमा
गीत पनि सुन्छु
दुःखैबाट पनि नयाँ
जीवन रस चुम्छु………….
आइदिएछ भेट गर्ने बल्ल यौटा पर्व
किन-किन लाग्छ मलाई मीठो मधुपर्क !
रीता खत्री – मन
जीवनको सुकिलो
ऐना अगाडि उभ्याएर
मैले मनलाई कैयौपटक
दोषी सावित गर्न खोजेँ
इच्छाको युद्ध रोक्न खोजेँ
आवेगको आँधी रोक्न खोजेँ
तर मन, मेरो देशको
पाखा, पखेरा र भीरजस्नै दुख्यो
गाउँ, बेसी र शहरजस्तै दुख्यो
चौतारी, भञ्ज्याङ्ग
र देउरालीजस्तै दुख्यो
यो देश जस्तै दुख्यो
देशको इतिहास जस्तै दुख्यो
र त मैले, मनविरुद्ध
युद्ध नलड्ने निर्णय गरें
मुद्दा नहार्ने निर्णय गरें ,
मन तिमी मलाई मार, काट,
बचाऊ, सिध्याऊ,
हराऊ, जिताऊ
जे गर तिम्रो स्वविवेक,
म तिमीविरूद्ध –
युद्ध लड्न सक्दिन
अदालत धाउन सक्दिन
र मुद्धा जित्न सक्दिन ।
रीता खत्री – सम्बोधन तिमीलाई
तिम्रो आँखामा
आँसुको अथाह समुद्र बगेको हेरिरहें
जब पोलेर आए आफ्नै मुटुलाई
पीरको झरिलो अगेनामा
शुष्क ओठहरू अझ शुष्क बने
निस्तेज बने आवाजहरू
तिमी बग्नु थियौ एउटा समय नदी
बग्यौ,
म अभागी बगर उभिरहें
मौन…..
जीवनको थकित किनारामा ।
अचम्म लाग्छ–
घुटुक्क निलेर कसरी स्विका¥यौ तिमीले
एउटा कृत्रिम खुसी ?
कसरी उमा¥यौ उदास अनुहारमा
अनुपम मुस्कान ?
बालुवामा कोरिएका
पाइतालाका डोबहरूजस्तै
मेटाएर अतीत
बिन्ती धमिला सम्झनाहरूले
नदुख्नु कहिले
तिमी मेरो जीवनको सुवासित पूmल
मेरो हृदयको प्रेमिल मूल
बर्खे खहरे भएर नसुक्नु कहिले
र पीरका बलेंसीबाट झरेका
अविरल झरीले नरुझ्नु कहिले
चिम्म बन्द गरेर आँखा
सम्झनू
परस्पर हात समाउँदै तर्दै गरेका
जीवनका अप्ठयारा साँघु
काँडाका सडक टेकेर हिंद्दै गरेका
दुखका लामो उकालो
आँखाका आँसु साटासाट गरेर
मेटाएको मायावी तिर्खा
सम्भवतः अझै होलान्
तिमी र म हिंडेका
साँघुरा आली र गोरेटाहरूमा
सामूहिक पद्चापका कोमल छाप
मनभित्र अझै रहिरहेका होलान्
जीवनका साँघुरा भीरमा
अनायास चिप्लिएर तिमी लड्दा
नमीठो गरी आपूm दुख्नुुको पीडा
कता हराए ती प्रेमिल जोडी
आँखामा धमिला यादहरू बोकेर
अझै सोधिरहेका होलान्
कुहुकुहु गर्दै वनका चरीहरू
तिम्रो र मेरोे प्रतीक्षामा
मौन पर्खिरहेका होलान्
ढुङ्गे फलैंचा धारा
र डाँडा भञ्ज्याङ, चौतारीहरू
फेरि एकपल्ट
ईष्र्याको सहरमा फैलिरहेको होला
तिम्रो र मेरो सम्बन्धको नमीठो हल्ला
हाम्रो सपनाको
दुखद मृत्यु हुनुको भ्रममा
खुसी होलान् धेरै आरिसे मन
दुःखी होलान्
केही शुभचिन्तक र आफन्त
हुनदेऊ अब केही नसम्झनू
हिंडेर छाडेको बाटो नसम्झनू
पहिरोमा बगेर गएको
जीवनको उदास पाटो नसम्झनू
मुटुमा यदाकदा बल्झने
दुखःका खाटो नसम्झनू
मात्र यति सम्झनू
एउटा अनियन्त्रित आँधीमा पनि
दुई हत्केलाले जोगाएर प्रेमदीप
हामीले जितेका छौं एउटा युद्ध
त्रासदीको गहिरो भासबाट
निकालेर सुन्दर जीवन
स्वप्निल उद्यानमा रोपेका छौं
प्रेमको सुन्दर पूmल
र कोरेका छौं
समयको निष्पक्ष इजलासमा
एउटा शाश्वत नजिर
प्रेम शरीर होइन आत्मा हो ।
हेमनाथ घिमिरे – मधू–मिलन
मीठो यौवनमा गुराँसहरुले लाली चढाईदिए ।
लाली जोवनमा बुकी पनि फुले वास्ना बढाईदिए ।।
बैंशालू मनमा सुनाखरि फुले हाँगा सबै रङ्गिए ।
मेरो अन्तरमा उनी पनि फुलिन् आहा ! म नै रङ्गिएँ Continue reading “Hem Nath Ghimire – Madhu Milan”
नरनाथ लुइँटेल – गणतन्त्रको पुतला (व्यङ्ग्य कविता)
खोलो अब तलतिर होइन मास्तिर बग्छ
आकाश निहुरिएर भुइँमै लम्पसार पर्छ
र अब जमिन उचालिएर आकाश बन्छ
यो उलटपुलट हो, यो फेरबदल हो
समयले ल्याएको जबरजस्त अदलबदल हो ।
गणतन्त्रको स्वप्नवगैँचामा फुलेको म जुही हुँ, जाई हुँ
स्वनामधन्य म दुर्जकुमार राई हुँ
म राष्ट्रको पहरेदार एक सिपाही हुँ
धेरै खतराहरूसँग लड्ने बहादुर योद्धा
म जनता र व्यवस्थाको कुशल संरक्षक हुँ
राजशाही व्यवस्थाको विरोधमा
कमिलासरी मानिसहरू सडकमा ओर्लिंदा
बज्र भएर उभिने म राष्ट्रसेवक हुँ
यसो गर्ने हजारौँ हजारको म एक्लो प्रतिनिधि हुँ ।
थामिनसक्नुको हुरी बनेर मानिस ओइरिन थाले
परिवर्तनको आँधी रोक्न दुर्गमा खटिएको म दुर्ज
टुलुटुलु हेरर बस्न कहाँ सक्थेँ र
कमिलाको गोलोमाथि निशाना दागेर दनादन
फुरनदाना लोड गरिएको पेस्तोल चलाएँ
यिनै गर्विला हातको पौरख हो
एकै थलोमा आधा दर्जन जति ढलाएँ ।
रगतले सडक हिलाम्य भएथ्यो
अखबारभरि त्यही रगत पोतिएथ्यो
एउटा बेबकुफ पत्रकारले खिचेको तस्विर
मेरो पौरखी कार्यको नमुना, निशाना
मैले रोक्न खोजेको आँधी, झन भूमरी परे उठ्यो
र एउटा घुर्मैलो बिहान म थामिरहेको छु भन्दाभन्दै
राजशाही ढल्यो, म हतास भएँ, म निराश भएँ
अखबारमा छापिएको तस्विर हेर्दै
म बसेको घरतिर चोरऔँलो ठड्याएको देख्न थालेँ
मेरो बहादुरीको कदर एकदिन कसो नहोला ?
प्रतीक्षाको पलपल गन्दै केही वर्ष बिताएँ ।
मेरो हातमा गन त छँदै थियो तर गणतन्त्र आएछ
मेरो गनले ताक्दाताक्दै उम्किएकाहरू सांसद र मन्त्री भएछन्
मैले पक्रेर लात्तै लात्तले भ्यानमा खाँदेकाहरू माथिमाथि गएछन्
मलाई बिर्सिए कि भनी चिन्ता लाग्नलाग्न थालेको बेला
मेरो प्रमोशन भयो, जो हुनैपथ्र्यो
मेरो पौरखको प्रशंसा गरियो, जो गर्नैपथ्र्यो ।
बिचरा सगुनहरूका आमाहरू व्यर्थैमा रुन्छन् किन ?
उनीहरूकै आँसुमा मेरो पौरख फलिरहेको छ मुस्काउँदै
बिचरा प्रल्हादहरूका पत्नीहरू बिलौना गाउँछन् किन ?
उनीहरूकै आलापबिलापमा
मेरो बहादुरीको बाली मौलाइरहेछ
त्यसैले त गणतन्त्र दिवसको पुनित अवसरमा
मलाई ‘सुप्रवल जनसेवाश्री’को तक्मा थमाइयो,
शिर निहुराएर मेरो बहादुरीमाथि सम्मान जनाइयो
क्याबात, मेरो सम्मानका सिफारिसकर्ताहरू
क्याबात, मलाई सम्मान गर्ने निर्णयकर्ताहरू
आहा, म कति प्रफुल्ल भएको छु
माउजरबाट त्यही पेस्तोल झिकी
हजारौँपटक चुम्मा खाएको छु ।
रुन्चेहरू डाँको छोडेर रोइरहेका छन्
पिञ्चेहरू आँसुको भल काडेर रोइरहेका छन्
म भने मेरो ज्यानमारा पौरखप्रति गौरव गर्दै
खित्का छाडेर हाँसिरहेको छु
म बहादुर दुर्जकुमार राई
म हजारौँ हजारको एक्लो प्रतिनिधि हुँ
म मौलिक नेपाली गणतन्त्रको खाँटी पुतला हुँ ।
१५ जेठ २०६७
तेस्रो गणतन्त्र दिवस
लीलाप्रसाद बराल – एउटा नयाँ बस्ती बसाउँछौँ
अब यस रुखो पर्वतसँग के आस्था
न कतै यसमा जंगल हुन सक्दछ
न कतै कसैको यसले मंगल हुन सक्छ
जो छन् हतियार सबै यसमा प्रयोग गरौँ
जो छौं सबै यसलाई ढाल्न सहयोग गरौँ
गर्भमा पत्रे चट्टान बोकेर यो
हाम्रै एउटा सुन्दर ठाउँ ओगटी रहेछ
हाम्रै एउटा मनोरम गाउँ ओगटी रहेछ
अन्जानमै सदिऔँ देखि हामी कतै मैदान भेट्नलाई
यसै ठाउँ भएर हिँडेका छौँ
बाटो बिराएर उहिल्यै देखि हामी सुन्दर बस्तीको कल्पना बोकेर
यसै ठाउँ कतै यतै डुलेका छौँ
यसैले त हाम्रो अमूल्य पसिना यसले लिइसकेको छ ।
यसैले त हाम्रो अमूल्य रगत पनि यसले पिइसकेको छ ।
फेदैदेखि खन्न थालौँ र यो एक दिन ढल्ने छ ।
फेरि पनि हाम्रो पसिना सिच्ने छ र यो गल्ने छ ।
जाउँ र सबैले साथ दिऔँ
जाउँ र सबैले हात दिऔँ।
यस्तै गीत गाउँदै जाउँ। यस्तै प्रीत लाउदै जाउँ
हामी एक दिन अवश्य यो नाङगो पर्वत धसाउँछौँ।
र एक दिन अवश्य यहाँ एउटा नयाँ बस्ती बसाउँछौँ।
कोमल श्रेष्ठ मल्ल – नहिंड है मस्किएर (गजल)
नहिंड है मस्किएर कहिले पनि तिमी हजुर
सम्हालेर मनलाई मुटुभरी फूल हजुर..
बरालिनु हैन राम्रो बन तिमी मेरै हजुर
अंगअंग नशा नशा माया छरी डुल हजुर
फकाउनु फसाउनु आफ्नीलाई मात्रै हजुर
दुनियाको के कुरा माया संगै खुल हजुर
बाचा कसम विश्वासमा बचाउदै प्यार हजुर
आफ्नो भन्नु आफ्नै हुन्छ अरुलाई भूल हजुर
युद्धप्रसाद मिश्र – दुष्मन प्रोहित
पत्र र पुस्तक अघि-अघि सार्दै
मरिसकेको धर्म फलाक्दै
मानिस मर्दा जुँगा मुसार्दै
तस्मै मार्दै पैसा झार्दै
स्वतन्त्र मानवलाई बिगार्दै
प्रगति देखी तल तल पार्दै
भन्छ नछोड्नू पुरुखाको रीत
जनताको त्यो दुष्मन प्रोहित
पदम भण्डारी – भानुभक्तलाई पनातिको चिठ्ठी
जिज्यू हजुर बा !
तपाईं सञ्चै हुनुहुन्छ?
हामीलाई त यहाँ कसैलाई संचो छैन
स-परिवार बिरामी छौं
यहाँ रोग निको होला भन्दा थपिंदो छ
त्यसैले जिज्यू हजुर बा
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
जिज्यू हजुर बा !
गाउँमा घाँसीले खनेको घाँसीकुवा पनि पुरिईसक्यो
तपाईँको नाममा खुलेको विद्यालयपनि खुल्न छोड्यो
गाउँलेहरू मिलेर बनाएका ठाँटीहरूपनि भत्किईसके
अब त गाउँ पनि गाउँ जस्तो छैन
त्यसैले जिज्यू हजुर बा
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
जिज्यू हजुर बा
चुँदी गाउँकि सीता मलेसिया गई भन्थे कता हराई कता?
जुत्ता सिलाउने गरेको सुके सार्की पनि गाउँमा छैन
बिसे नगर्चिका पनातिहरू दलितका नाममा हेपिएका छन्
भिमे कुमालकि १८ वर्षे छोरी हीरा हराएको एक वर्ष भैसक्यो
ठूला घरे कान्छाकि गर्भिणि श्रीमति बलात्कृत भई
गाउँमा एकले अर्कालाई सहयोग त परै जाओस
विश्वास गर्ने वातावरणपनि छैन
त्यसैले जिज्यू हजुर बा
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
जिज्यू हजुर बा
बेरोजगारीले गर्दा गाउँका यूवाहरू
कोहि जंगल पसे, कोहि कालापानी पसे
देशभरी रडाको मच्चियो
गाउँभरी विधवामात्र हुन थाले
आईमाईहरूका जीउमा राति पहिरन देखिन छाडेपछि
धर्म, कुसंस्कार र कुरीति मान्नुहुन्न भनेर एकथरी आए
रातो पहिरन लगाउने अभियान गाउँभरी चलायौं
अर्काथरी आएर धर्म नमान्ने माओबादी हुन भन्दै
गाउँलेहरूलाई भकुर्न सम्म भकुरे जिज्यू हजुर बा
हामीहरू यहाँ बस्नै नसक्ने भयौं, त्यसैले
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
गाउँको गौचरन थियो नी जिज्यू हजुर बा
सुकुम्बासीका नाममा ठूलाबडाले नै ओगटे
माथि डाँडाको जंगल त परेड खेल्ने थलो भएको छ
गाउँमा पिउने पानी पनि छैन
फूर्के सल्लाको पानी गाउँमा ल्याउन
ट्याङ्की त बनेको हो, धाराहरूपनि बनेका हुन्
अहिले त्यहाँ कमिलाको गुँड छ, माकुराको जालो छ
जिज्यू हजुर बा
पानी भर्न जाँदा तपाँईकि पनातिनी बुहारीको टाउकोमा
एउटीले ढुङ्गाले हानेर टाउकै फुटाइछ
आजकल त उ डेढ घण्टा गाग्री बोकेर खोला झर्छे
पानीपनि खान नपाईने यो ठाउँमा के बस्ने?
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
रम्घा खोलाको पानीबाट बिजुली निकाल्ने कुरा भयो
योजनामा श्रमदान गर्नुपर्छ भनेर
घरैपिच्छे १०।१० दिन श्रमदान गर्यौं
पछि ठेकेदारले बील बनाएर खायो रे
भ्रष्टाचारीको योजना भनेर खोई कसले हो
बमले उडाइ दिएछन्
सबै गाउँलेहरूको मेहनत खेर गएको छ
हाम्रो चित्त दु:खेको छ
जिज्यू हजुर बा
यहाँको स्थति हेर्दा एकछिनपनि बस्न मन छैन, त्यसैले
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
बिकास त यहाँ ठप्पै छन् जिज्यू हजुर बा
सरकारले यो वर्ष ४२ अर्ब बजेट छुट्याएको
१० अर्ब मात्रै बिकासमा खर्च भएछ
बाँकि सबै सुरक्षा र साधारण खर्चमा गयो रे
यो बिकासै नहुने ठाउँमा बसेर काम छैन
त्यसैले, जिज्यू हजुर बा
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
मंत्रीको भत्ता बढाउन यहाँ कसैले रोकेको छैन
सरकारी ढुकुटीबाट निजी घर मर्मत गर्न कसैले रोकेको छैन
लडाईं गर्ने हतियार किन्न पनि यहाँ कसैले रोकेको छैन
भाई भाई लडाईं गर्न पनि यहाँ कसैले रोकेको छैन
अनि बिकास गर्न कसले रोक्यो बुझिएको छैन
मर्ने र मार्ने बाहेक केहि नहुने ठाउँमा के बस्ने?
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
जिज्यू हजुर बा
अहिले त यहाँ सारा बहुदलबादी भ्रष्टाचारी छन्
सारा पत्रकार भतुवा छन्
अत्याचारको बिरोध गर्नेहरू आतंककारी छन्
आतंककारीहरूसंग घाँटी जोड्ने मतियारहरू छन्
बैंकपनि उद्योगपतिहरूलाई कारवाहि गर्छ, मंत्रीलाई सक्दैन
पापीहरूले मेलम्चिलाईपनि तुहाई दिए
भ्रष्टाचार भयो भनेर बिदेशीलेपनि रकम दिन्न भन्छन रे
मुलुकमा संकट माथि संकट थपिंदै छ
बिकासमा सहयोग गर्ने दातृ राष्टहरूपनि
प्रजातन्त्र प्रजातन्त्र भन्दैछन्
बिदेशीहरूपनि साह्रै हावि भए जिज्यू हजुर बा
के गर्ने, के गर्ने साह्रै छटपटि भैरहे छ
म मात्रै आएर के गर्नु, स-परिवारै आउने बीचारमा छौं
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
अहिले त सबैभन्दा मोज त कर्मचारीहरूलाई छ
गाउँमा जानसक्ने अवस्था छैन भन्यो
मज्जाले जिल्ला सदरमुकाममै बस्यो, तलव खायो
गाउँका योजनाहरू सदरमुकाममै बन्छन्
सदरमुकाममै कार्यान्वयन हुन्छन्, त्यहिं सम्पन्न हुन्छन्
शत प्रतिशत प्रगति हुन्छ जिज्यू हजुर बा
खाने र खुवाउनेहरूमात्र यहाँ बस्न सक्छन्, हामी सक्दैनौं
त्यसैले, जिज्यू हजुर बा
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
यहाँका थुप्रै बुद्विजिविहरू बिदेश पलायन भैसके
म पनि पलायन हुँ की जस्तोपनि लागेको थियो
एकजना मंत्रालयका सचिवले आत्महत्या गरे
म पनि आत्महत्या गरूँ की जस्तोपनि लागेको थियो
परिवारको मायाले त्यसो गर्न सकिन
यो रित्तो खण्डहर भूमीमा बस्न नसकिने भयो
हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
यहाँ केहि छैन जिज्यू हजुर बा
यहाँ शान्ति सुरक्षा छैन
मानव अधिकार छैन, प्रजातन्त्र छैन
राजनैतिक प्रतिवद्वता छैन
उत्तरदायि शासनप्रणाली छैन
भएका प्रणालीहरूपनि एकपछि अर्को ध्वस्त हुदैछन्
बाँकि त अब संकटमात्रै छ, जिज्यू हजुर बा
त्यसैले, हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
भन्नुहोला, नआत्तिनु, समाधान होला नी भनेर
तर समाधानको कुनै लक्षण छैन
सरकार सदरमुकाममा छ
माओबादी गाउँमा छ
हामी बीच चेपुवामा छौं
कसले धेरै मान्छे मार्ने होड चलेको छ
दुबैको संवेदनशिलता हराएको छ
कसरी समाधान होला र?
समाधान हुँदैन, जिज्यू हजुर बा
त्यसैले, हामी पनि स-परिवार त्यतै आउँछौं, हुन्न?
लामो गन्थन गरें जिज्यू हजुर बा
पढ्दा पढ्दै दिक्क लाग्यो होला होला, माँफ पाउँ
हामी स-परिवार त्यतै आउँछौं
बाँकि भेटमा विस्तार गरौंला
अहिलेलाई बिदा, जिज्यू हजुर बा
अहिलेलाई बिदा
तपाईंको पनाति
२०६२।३।२७
सिमकोट, हुम्ला
(१९२ औं भानु जयन्तिको अवसरमा कर्मचारी मिलन केन्द्र, हुम्लाद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल भएको कविता)
डा. विश्वदीप अधिकारी – बन्धक परेको जिन्दगी
(मधुपर्क असार, २०६७)
औंसीको रातमा लेकमा बसेर
बेसीको धिपधिपे उज्यालो देख्नेलाई
लागेको होला
शहरीया मोराहरूलाई के विधि सुख
आफूलाई भने जून पनि नलागेर
बौलाउनु Continue reading “Dr. Biswadeep Adhikari – Bandhak Pareko Jindagi”
बि. जे. बान्तवा राई – नारी तिम्रो कोख दोषी हैन
नारी तिम्रो कोख दोषी हैन
तिमी दोषी हैनौ, तिमीलाई
दोष दिने दुनियाँ दोषी छ
तिमीले जन्माएको सन्तानले नै
दोषी देख्छ तिमीलाई
तिमी कहिल्यै दोषी हुनै सक्दैनौ
राम्रो पक्षमात्र हेर्ने दुनियाँलाई
पनि तिमीलेनै जन्माएकी हौ
तिमीले थुप्रै सन्तान जन्माई सकेका छौ
तिम्रो कोखबाट थुप्रै
थुप्रै बुद्व, राम, जिसस, मोहम्मद,
मार्क्स, लेनिन, माओ, गेटे, दाँते, रबिन्द्रनाथ, गान्धी,
शुकरात, सम्पुर्ण छोराछोरी जन्मायौ आमा बनेर
छोराले मात्र दुनियाँ हाक्न नसक्दा
आङसाङ सुकी, बेनेजीर, एलीजाबेथ,
अनी थुप्रै शासक बनेर पनि उभियौ
थुप्रै राजामहाराजाहरु जन्मिए
बिद्वान, लेखक, बैज्ञानिक सबै तिम्रै देन हुन
परापुर्बकालदेखी जन्माउदै जन्माउदै
आएर पनि आजसम्म दोष पिएर बसेकी छौ
नराम्रोको भडखालमा जकडिएर बसेकी छौ
आफ्नै छोराहरुको दुख खप्न नसकी
टेरेसा बनेर पनि उभियौ, फ्लोरेंस
भएर पनि उभियौ, अनी निंदमा लुकेका
छोराहरुको लागी पासाङ ल्हामु भएर पनि उभियौ
गौरवमय सीता माता, प्रतिष्ठित भृकुटी भएर पनि
तिमीले नारी हुनुको थुप्रै उदाहरण
दि रहेकी छौ
त्यसैले तिम्रो कोख दोषी हैन
न त तिमी दोषी हौ,
दोषी त त्यो दुनियाँ छ
जसलाई परिबर्तनको चस्मा लाउनु छ।
[कबिता लेखिएको मिती २०६० भाद्र १५ गते मनामा बहराईन।
कृष्ण कट्टेल – पहाड र मेरा बा
असंख्य पहाडहरुको पत्रमा
उभ्भिएको एउटा पहाड
त्यहि पहाडले जन्माएको मेरा बा
आजसम्म उसकै छात्तिमा हुर्किएर
स्याहारिरहेछन् त्यहि पहाडलाइ ।
शिशिरमा उजाडिएको पहाडको खुसी
मेरै बा को पसिनाबाट फर्किन्छ वसन्तमा
अनि लगाउछ हरियो लाली
देखिन्छ झनै हराभरा र सम्पन्नशाली ।
त्यहि पहाड हो
मेरा बा को सबैथोक
अनि मेरो पनि इश्वर
त्यहिँ रोपिएको पसिना
मोती भइदिएर नै
रगत पसेको हो मेरो मुटुमा ।
कहिले गल्र्याम्म लडिदिन्छ पहाडको एक भित्तो
पर्खाल लगाउछन् मेरा बा
अनि फोरेर चट्टान, माटो बनाउछन्
रोप्छन्,हुर्काउछन,फलाउछन अक्सिजन
त्यसैले मुटुभन्दा प्यारो ठान्छन मेरा बा
यो पहाडलाइ,यो देशलाई ।
सिटिजन एफएम, महाराजगंज काठमाण्डौ ।
– मगलबार, 4 कार्तिक, 2071
अजित क्षेत्री – चिठ्ठी
प्रिय,
कुनैदिन म गएछु भने
तिमीबाट टाढा भएछु भने
लेखिदिनु एउटा बिरही गीत,
खसी जाने शितको सम्झनामा
पैयुँको बोटमा जुनकीरिले गाए जस्तो
बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउनेछु ।
म खसेछु भने
मिर्मिरेमा तारा खसेजस्तो,
म बगेछु भने
सागरमा पुतली बगेजस्तो,
चढाई दिनु दुई थुँगा फूल,
लाहुर हिँडेको सिपाहीले
फेरी भेट्ने बाचा गर्दै
पियारीको सम्झनामा
सिमलको फेँदमा
पाती चढाए जस्तो
तिमीले बिर्स्यौ भने पनि
त्यै बाटो ओहोर दोहोर गर्दा
म झस्काउन आउनेछु
तिमीले डराए पनि
म तर्साइ रहनेछु ।
प्रिय, लेखिदिनु एउटा गीत
कुनै चिसो बिहान
तिम्रो सम्झनाले
बेस्सरी मुटु पोल्दा
म गाइरहनेछु ।
आमालाई पछ्याउँदै रुँदै रुँदै
बजार पुगेको बालक
कतै बजारको भिडमै हराए जस्तो,
गुँडमा बचेरा छाडी
आहार खोज्न निस्केको हाँस
कतै सिकारीको जालमा परे जस्तो
समयको जन्जिरमा म परेछु भनें,
बर्षौंदेखी हुलाकको बाकसमा थन्केको
गुमनाम चिठ्ठी जस्तो,
म यतै मरूभूमीमा बेकसुर मरेछु भने
हाली दिनु ईश्वरको अदालतमा
एउटा मुद्दा
ईश्वरकै बिरुद्धमा
म ईश्वरकै अगाडी उभिएर
ईश्वर मरेको घोषणा गर्नेछु
र,
त्यसैदिन देखि च्यातेर
ईश्वरको तस्बिर
मेरो तस्विरमा तिमी
फुल अक्षता चढाउने छ्यौ
त्यै तस्बिरको म,
तिमी मस्त निदाएको देखेर
मुस्कुराउने छु ।
प्रिय, लेखिदिनु एउटा गीत
बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउने छु ।
-युएई
(यो कविता लेख्दै गर्दा खाडीमा ज्यान गुमाएका र बिना कसुर जेलमा परी जीवन र मृत्युको दोसाँधमा अल्झेका थुप्रै नेपालीहरु सम्झेर आँखाबाट आँशु झारें मैले ।)
मनोज काफ्ले मनसुन – मेरो जीवन फुलाउन
मेरो जीवन फुलाउन मिठो सपना बुन्थ्यौ होला
तिम्रा मनका बहहरू मैसँग त धुन्थ्यौ होला
न त केही पाई गयौ न त केही लिई गयौ
जिउँदो भए मेरा स्वामी मैसँग त रुन्थ्यौ होला
नाम Continue reading “Manoj Kafle (Mansoon) – Mero Jeevan Fulauna”
हेमन्त परदेशी – तिम्रो अभागी प्रेमीको कथा
यता तिमी बैंशालु गुराँश बनेर
लेकाली पाखाभरि ढकमक्क फूलिरहँदा
उता रेगिस्तानको बन्जरभूमिमा ‘नोष्टाल्जिया’का हाँगाभरि
मरुभूमिको ‘क्याक्टस’ फूल्न विवश तिम्रो अभागी प्रेमी
कति फिक्का र निरस जीवन बाँचिरहेको होला l
हुन त पैतलामा काँडा बिझ्दा मष्तिष्क दुख्छ मान्छेको
त्यसैले, आफ्नो अभागी प्रेमीको पीडामय जीवनकथा सुनेर
तिम्रो छातीभित्र पनि अदृश्य घाऊको खिल पल्टिएको होला
अनि दिनरात आँशुको सागरमा डुबुल्की मार्दै
तिम्रो कोमल हृदय बेस्सरी तड्पिरहेको होला l
तर, आँशुले दु:ख धुन सकिँदैन -ले
मलाई चट्टान जस्तै दह्रिलो मन बनाएर भन्न मन लागेकोछ
कि, सबथोक गुमाएर पनि-
फाटेको मन टाल्ने एक टुक्रा आफ्नै माटो त छ नि तिमीसंग
अनि, आँखाका डीलबाट बगिरहेका आँशुलाई धोई पखाली गर्ने
आफ्नै हिमालको चिसो पानी पनि त छ तिमीसंग l
साँच्ची आफ्नो माटोको सुगन्ध कति मिठो हुन्छ है
कल्पना मात्रै गरेर त हेर एकपल्ट
तिमीले कोशेली स्वरुप पठाइदिएकी
गुन्द्रुक र अकबरे खुर्सानीमा
तिम्रो अभागी प्रेमीले कति मिठो सुगन्ध अनुभूत गर्दो हो
पराईभूमिमा पनि आफन्त र आफ्नो देशको माटोको l
यीनै पाखा, पखेरा र सौलुङ्गको दृश्यानुभूतले
कति बिक्षिप्त बन्दो हो उसको मन ?
कति बगाउदो हो तिम्रा यादहरुलाई आँशुका भेलहरुमा ?
तर बिडम्बना !
न आँशु पखाल्ने हिमालको चिसो पानी छ ऊसंग
न सिंचित हुने एक टुक्रा आफ्नै माटो नै ।
तर पनि ऊ निरास बनेको छैन रे !
धेरैपल्ट चिठ्ठीमा लेखेको छ उसले –‘जिन्दगी दिन र रात जस्तै हो l’
दिन पछि रात आए, रात पछि दिन पनि अवश्य आउछ
बस् खाँचो छ त केवल सकारात्मक सोच सहितको समयको सही उपयोगको
अनि, साथ, सहयोग र सद्भावपूर्ण सहयात्रामा
एक अर्का प्रतिको अपरिवर्तनीय बिश्वास र साझा समर्पणको l
मदन राई ‘लामाखुले’ – धरानका चोकहरू
(मधुपर्क २०६६ माघ)
अत्यन्त समृद्धचोकहरू
कतै नलर्खरावस्
कतै नबरालियोस्,
उभियोस् अटल छाती
साँगुरी भन्ज्याङ्ग भएर
भानुचोक, छाताचोक, लक्ष्मीचोक
बालकचोक, किराँतचोक, Continue reading “Madan Rai ‘Lamakhule’ – Dharanka Chowkharu”
इन्जिनियर राकेश कार्की – रसायन (कविता)
विषाक्त रसायन सल्वलाए
स्वच्छता वर्षिने बाटोमा
अंग अंग पक्षघात पारे
सिर्जेन कतै केही माटोमा
जोडिन्छन् गुनिन्छन् थप्दै
व्यालेन्स मिलाउन खोजिन्छन्
हचुवाका एक्सपेरिमेन्टहरुले
डरलाग्दा मिश्रण थपिन्छन्
रटाएका सूत्र कोही बक्छन्
प्रतिफल बारे अनभिज्ञ छन्
कतै पड्काउछन् जलाउछन्
कतिलाई जिउँदै गलाउँछन्
कर्तव्य गर्नेलाइ जमीन सिँच्नु छ
बाँच्नेलाइ हातमुख जोर्नु छ
अम्ल क्षारले कन्टामिनेट हावा
सास त तिमीलाइ पनि फेर्नुछ
जन्माउने जमिन एउटै हुन्
स्तनपान गराउने गौरी हुन्
रसायन बन या अमृत झर
बनाउ या मास आफ्नो घर
– लस् एन्जेलस्