Komal Shrestha Malla – Sagar Mai Prem Khasyo Bhane (Geet)

कोमल श्रेष्ठ मल्ल – सागरमै प्रेम खस्यो भने (गीत)

सागरमै प्रेम खस्यो भने, समाउन सक्छ कि कोही ?
बगरझै प्रेम सु्क्यो भने, फूलाउन सक्छ की कोही ?

प्रेम चादनी उदाउने भए मर्नेहरु मर्थे किन यहा ?
प्रेम िकरण फिजाउने भए रुनेहरु रुझ्थ्य िकन यहा ?

प्रेम सुसाउछ र बहन्छ लुकी लुकी देख्न सक्छ कि कोहि यहा ?
प्रेम जलाउछ र उडाउछ खुली खुली छेक्न सक्छ कि कोहि यहा ?

प्रेम राग भए खुसि खुसि जिउने को को छन यहा ?
प्रेम बैराग भए छाती पिटि पिटी रुने को को छन यहा ?

Mohan Bahadur Kayastha – Atma Bimba

मोहन बहादुर कायस्थ – आत्म बिम्ब

कलेटी परेका ती कन्चट र निधारका धर्साहरु
हिस्सी नपरेका ती अनुहारका रेखहरु
वर्षौंवर्षपन्जामा परेका ती भावनाहरु
यसै ओइलाएर सुक्नेछन्
धुजिएर जानेछन्, बिलाएर जानेछन्
किनभने
यहाको आबोहवाले नौलो रङ्ग लिएको छ
नया पालुवा फेरेको छ-आफै भित्र ।

जुगौंपहिले हिस्सी परेको अनुहार
बान्किलो टम्म शरीर
आज कलेटी पर्न गएको छ
बान्किलो शरीर गलित भइसकेको छ
उठ्न-बस्न धौधौ परिसकेको छ (देखिन्छ)
किनभने
यहाको आबोहवाले नौलो रङ्ग लिएको छ
अनैतिकतालाई अगालेको छ- आफैंभित्र ।
भोकप्यासमा अल्झिएको त्यो दिव्य अनुहार
उधो न उभो भएको त्यो शरीर
ताजा रगतले भरिएको थियो कुनै बेला
सुन्दर-शान्त थियो कुनै बेला
किनकि
यस जुग खाएको कलेटीले देखाउछ-
जिउनुको परिश्रम अनन्त छ
अतिशय कठिन छ
औ यहाको आबोहवाले
पालुवा फेरेको छ- नैतिकतालाई बिर्सेंको छ ।

B J Bantawa Rai – Samarpan

बि. जे. बान्तवा राई  – समर्पण

तिम्रो मुस्कान स्वच्छ अनि मिठो
तिम्रो माया गाढा अनि अमृतरुपी
म हरेक तिम्रो जादुमा हराईरहन्छु
तिम्रो सम्पुर्ण अनुभुतीका स्पनदनहरुमा पाईरहन्छु

हरेक प्रभात तिमीलाई सम्झेर उठ्ने गर्छु
हरेक रातको निदरीमा तिमीलाई देख्ने गर्छु
अनी मलाई लाग्छ तिम्रै बाहुपासमा छु
मलाई लाग्छ तिम्रो हरेक स्वासमा छु

मलाई यस्तो महसुस पहिलो चोटी भयो
तिम्रै तस्बिर मेरो वरिपरि घुमिरह्यो,
अनी त मैले मेरो स्वास-प्रस्वास सुम्पीदिएँ
उप्रान्त मेरो जिबन तिम्रै नाम गरिदिएँ

Hari Ghimire – Badhi

हरि घिमिरे – बाढी

वर्षा लागे पछि-
तिमी नदी-किनारका वस्तिहरु!
भयभित भएको कुरा गर्छौ
बाढी आउला कि भनेर
दुई महिनाका लागि
मुटु कमाउदै तर्सन्छौ
तर
दस महिनाको प्राकृतिक सुन्दरता र स्वच्छताको
हरियाली श्रेष्ठताको
कमसे कम उपभोग त गर्न पाएका छौ्।
नदी किनारका ओरिपरि
त्यै बाढीको पानीले
नयाँ सिर्जना त गर्न पाएका छौ
तर
हामी गाउँ-शहरका बस्तीहरुमा
सँधै वर्षा लागेको छ-
मृत्युको वर्षा
हत्या-लुट-बलात्कारको वर्षा
अपहरण-आतङ्क र अशान्तिको वर्षा
तिम्रो त मनसुनले आकाशबाट पानी बर्साउँदो हो
एकै छिन डर लागे पनि
मन रोमाञ्चित भएर उठ्दो हो
हाम्रा त-
आँखाबाट वर्सेका पानीले
बाह्रै महिना बाढी ल्याएको छ
त्यो बाढीभित्र-
विनासै-विनासको लीला छ
चिहानै-चिहानको खात छ।
हाम्रो त मुटु नै छैन
के कमाउँनु?
के तर्सनु?।

Damodar Pudasaini – Gadhi Darbar Ka Bhagnabasesh Sapana

दामोदर पुडासैनी किशोर – गढी दरबारका भग्नाबशेष सपना

एउटा डरलाग्दो दम्भ
ढलेको छ
भग्नाबशेष बनेर

पुरानो दरबारमा
चाँग लागेर बसेका
हरेक ढुँगाहरू
मौन साक्षी उभिइरहेछन्
र ,थाकेका छन्
मौन घोषणामा

बदलिने संसारसंगै
अनुहार बदल्न नसके
ढल्दोरहेछ पुरै शरीर

चराको एउटा सुन्दर गुँडलाई
च्यातचुत पारेको छ समयले
कहाँ गएहोलान् चराहरू
कहाँ गएहोलान् बचेराहरू
हिजोको रगजग सँझेर
एउटा चिल्थरो गुँड टोलाइरहेछ

रोक ,जिन्दगीलाई
भग्नाबशेष स्मारक बन्नबाट रोक
जिन्दगी भग्नाबशेष बन्यो भने
के पो बाँकि रहन्छ र
पश्चाताप बाहेक

हामीलेनै सुनेका हौँ
महाराजको सिँहनाद
हामीलेनै देखेका हौ
अरूको जिन्दगी ढालेर
आफ्नो जिन्दगी बिस्तार गर्ने
षढयन्त्रका गोप्य बैठक
हाम्रै सामु लुटिएको हो
कयौँ बेगवान घोडाहरूको
कलकलाउँदो जवानी

उ त्यो भित्ता र भुइँमा सुकेको दाग छ नि
त्यो राम्ररी स्वस्ती गर्न नजान्नेलाई
छ्याप् छ्याप् छप्काइएका
बबुराहरूको रगतको टाटो हो

पन्छाऊ, म माथि उम्रेको सिस्नुघारी पन्छाऊ
यहीँ कतै पुरिएको भेट्नेछौ तिमीले
महाराजको अधिकार पत्र
यहीँ कतै जीर्ण अक्षरमा भेट्नेछौ
महारानी र नानीहरूको
प्रेमका रोचक अभिलेख
यिनै कोठाका कुनै कुनाहरूमा भेटिनेछन्
कसैको मागमाथि तोक आदेशको पर्खाई

जिन्दगी भनेको
लहरनै हो रहेछ
कार्य र अस्तित्वको

गर्दा गर्दैका काम
लथालिँग छोडिएपछि
अनुबाद हुनेरहेछ भग्नाबशेषमा
डँगरँग ढलेको आफ्नै शरीर हेरेर
म सुदुर सपना देखिरहेछु

म नै हुँ
समयको चहकिलो कोलाज
म नै हुँ
समयको सुन्दर बकपत्र

मलाई बाँच्नदेऊ
मैले भन्न बाँकि छ
मेरो जवानीका कुरा
मेरो साँझ र मेरो बिहानीका कुरा
मैले केही भनिरहँदा
तिमीले भेटनेछौ तिम्रा पूर्वजहरूलाई
र तिमी आफैलाई

तिम्रो र मेरो पनि
भर्खरै शुरू भएकोछ नवीन सुस्केरा
त्यो नथाकोस् र नवनोस् कहिल्यै भग्नाबशेष

सबैबाट परित्यक्त बनेर
भग्नाबशेष बन्नुजस्तो पीडा
अरू के नै छ र जिन्दगीमा

प्रिय !
यतै कतैबाट त हो
प्रेम गर्न थालेको तिमीले र मैले
भग्नाबशेषको दुर्घटना
नउठोस् कतै बादल बनेर

प्रेमको भग्नाबशेष होइन
प्रेमको इतिहाँस बनाउँनुपर्छ तिमीले र मैले
शिखरका प्रत्येक परिबर्तनहरूमा

-२०७५ फागुन २१ गते
मकवानपुरगढी दरबार,गढी गाउँपालिका ,मकवानपुर

Mithila Pyakurel – Euta Tara

मिथिला प्याकुरेल – एउटा तारा
(Source: Himal Khabar)

एउटा तारा मलाई आकाशबाट हेर्छ राति173राति
नआउञ्जेल भानु प्यारा मलाई आकाशबाट हेर्छ रातिराति

मन हुँदो हो उसको पनि सँगै बस्न प्रीतले कस्न
तर ऊ Continue reading “Mithila Pyakurel – Euta Tara”

Kum Shahi – Pokhara

कुम शाही – पोखरा

तिम्रै बिशाल काखमा
बिभिन्न नामले परिचित
बसन्त फुलाउदै कांडालाई पन्छाउदै
अंकुर फुटाउदै बहार उन्यौ ,
पृथ्वीमा घाम छरिदा नछरिदै
सरद्को दाना सगै फूलहरु हाँसिरहेका
धोबिनी चरी बोलिरहेकी
परिवर्तन र नयाँ यामको खोजिमा
तिमी कती भाग्यमानी पोखरा,
परिबर्तित मौसमसगै तरुनी तन्नेरीहरु मधुर मिलनलाई
मनको गति दिन करुण कहानी र जीवन गाथा यौवनको
बैसालु रस पस्कदै
अपुरो कथा पूर्ण गर्न ब्यस्त छिन्
पोखरा,
तिम्रै कोमल आलिँगन
अनेकौ नामधारी तालहरु
फेवा,बेगनास, रुपा
अरु अनगिन्ती नामहरु
प्राकृतिक मनोरम
मधुर रस कि धनी
पोखरा,
माछापुछ्रेको काखमा
सेतीलाई पोल्टामा लुकाएर
आफ्नो गन्तब्यमा पुग्न आतुर
कति शक्तिशाली तिमी
पोखरा,
तिम्रै स्पर्शले आँशु र सुस्केराहरुलाई
सदाचारको माला पहिराइ रहेछौ
मधुर चुम्बनको साथ
तिम्रो शताब्दियौ देखिको आगमनलाई
सुस्वागतम “पोखरा” ।

Sharan Aansu – Malai Maaf Gara Hai Meri Kabita

शरण आँसु – मलाई माफ गर है मेरी कविता

-मलाई माफ गर है
मेरी कविता !

-म सिसिफस’
जिन्दगी उकालो हिंड्दै छु
देउताहरूको श्रापले!
उकालो तल झर्दैछ –
ओझेल पारेर अस्तित्व
शुन्यतामा !

-देहातमा,
राप्ती नदीको किनारमा,
गाम बेसीमा र
सिरान डाँडाको हिउँमा
कविता बिम्ब पाइला
युगीन दु:खको राष्ट्रिय चिन्ह
मेटिइरहेछ !
आफ्नो अस्तित्व खोज्दै म
आफ्नै जिन्दगी
चपाइरहेछु !
युगौं देखिको
पहाड मन
अस्तित्व यात्रामा
उभिइरहेछ !
उस्तै रङ , उस्तै परिवेश
उस्तै मनको कोलाजमा पोतिंदा
चर्को घाम झैं
त्यो प्रेमिल तुष्टिको जब्बर आँखाले
तिमीलाई म कहिल्यै
हेर्न सक्तिन !

– मैले बाँच्नुका
सीमानाहरू छन्
मैले हाँस्नुका
सीमानाहरू छन्
तिमी त सीमानापारि छ्यौ
र त
तिम्रो सम्झनाको
असीमित रापले
सधैं सधैं
पग्ली रहेछु – नौनी झैं !
तर
मनकै कुलेसोबाट म बग्न सक्तिन
मलाई माफ गर है
मेरी कविता …
तिम्रो अधरको भिरबाट
म यो धर्तीमा खस्न सक्तिन !

– गणीतिय सूत्रहरूले
मनको अस्तित्व
सावित गर्दैनन्
त्यसैले त
प्रतीक्षारत मनको
साविती वयान दिंदै
समय यन्त्र घन्टाघर
सम्झनाहरूमा बजिरहन्छ !
खोल्सो बनेर जिन्दगी
अस्तित्व यात्रा
बगिरहन्छ !

-सिमलको भुवा
मन उडेको देखिनौ र ?
ढुंगा होइन- मन
आँखाहरूको धारलाई
मनले उद्’याउन सक्तिन-म !
मलाई माफ गर है
मेरी कविता …
म एउटा कवि
अनागरिक सिसिफस
तिम्रो प्रियतम
स्वर्गको उकालो चढ्दैछु
अन्तरिक्षमा !

Biwash Bipra – Ma Mastiska Chetana-Shunya Hundaichhu

बिवश बिप्र – म ‘मस्तिष्क’ चेतना-शुन्य हुँदैछु !!

अधिक सोचको बिफल परिणाम
नचाउदैछन आँखाभित्र हत्केलाहरुले !
निस्सासिएर ओच्छ्यानमै
चेतना-शुन्य हुँदैछु !!

हुन्नन अरुहरु
र,
जो कोहीहरु
सन्तुलन गुम्ने डरले
आँफै गुमनाम भैदिन्छन
खोपडी-खोपडीहरुमा
खप्पर-खप्परहरुभित्र l
म सम्हालिन सकिन

न चेतना-शुन्य हुँदैछु l

यदाकदा आँफै घोरिन्छु
भन्छु,
म पनि बिछिप्त भइदिन्छु
अनि,
फेरी चर्तिकला सुरु गर्छु l
उर्ध्व-प्रचापसँगै
तोडछु खप्परहरु
फोडछु खोपडीहरु
जुर्मुराउछु जाँगरिलो भएर

प्रयोग गर्छु नशा-नशाहरु
म बहुलाउन पनि सकिन
धेत !!
म चेतना-शुन्य पो हुँदैछु l

सपनाहरु आउछन म भरि
सपनै सपना
स………..प…….ना
सफलता देख्छु
सहयोग पाउछु
सद्भाव भेट्छु
सहकार्य हेर्छु
झल्यास्स बिउँझन्छु
उहि हात लाग्यो शुन्य
र,
पो म मस्तिष्क चेतनाशुन्य हुँदैछु

म भित्रको उदेकलाग्दो शुन्यता-भित्र
म ”मस्तिष्क” बाहेक सबै भूमिगत छन
कोटी प्रयास पछि अब त कुर्कुच्चा पनि पो गिज्याउछन
म मस्तिष्क भने अझ चेतनाशुन्य हुदोछु l

(Sent to Sanjaal Corps via Email)

Sushmita Nepal – Kavita Ko Ghar

सुश्मिता नेपाल – कविताको घर

पहाडका चुचुराहरुलाई जग हालेर
ढुकढुकीलाई ढोका बनाएर
सप्तरङ्गी इन्द्रेनीलाई दलिन हालेर
हावाका झोक्काहरुलाई गाह्रो बनाएर
आकाशको छानो हालेर
बादलका बुट्टाहरुलाई आँखीभ्याल बनाएर
एउटा सानो कविताघरको
निर्माण गर्न लाग्दै छु

सानो कविताको घरमा
जून–ताराहरुको पिलपिल बत्ती
बोल्न चाहान्छु
बिहानीको सूर्यको किरण
अँजुलीमा उठाएर
मनको दैलो पोत्न चाहान्छु

जीवनको गोरेटोमा नै अल्झेका
आँखाहरुलाई
कुहिरोभित्र श्रमलिई हिँडेका पाउहरुलाई
समयसँग लरखराइरहेका हातहरुलाई
मेरो सानो कविताको घरमा
भित्र् याउन चाहान्छु

चराहरुले गाउने मीठो सङ्गीत
धरतीले आफै जन्म लिँदाको रोदन
आवाजहरु तोते बोली बोल्दै
मेरो ढुकढुकीको ढोका
घचघच्याउन आइपुग्छन्
ठीक त्यसैबेला नै
म एउटा सानो कविताको घर
निर्माण गर्न लाग्दैछु ।

Pratima KC – Aghoshit Yuddha

प्रतिमा के.सी. – अघोषित युद्ध

एउटा अघोषित युद्ध
चलिरहेछ
निरन्तर चलिरहेछ
शताब्दियौं देखि आजसम्म
हो त्यो अघोषित युद्धमा
बमहरु निस्क्रिय छन
बन्दुकहरु सुतेका छन
बारुदको धुवाँ अल्मलिएको छ
अरु बमहरु Continue reading “Pratima KC – Aghoshit Yuddha”

Ajit Chhetri – Prem Ek Antaheen Yatra

अजित क्षेत्री – प्रेम-एक अन्तहीन यात्रा

महिना दिनको
माइत बसाईं पछि
भेट्ने तिब्र चाहनामा
ऊ आई हुईकिँदै
दौडिँदै
एक सासमा बेगले
आँगन, र
आँगन हुँदै पिँडी
अनि भुइँतलाको
त्यो सानो कोठा
जहाँ म आतुर थिएँ
ऊ अर्थात्
मेरी पत्नीसँग आलिंगनको,
एउटा न्यानो अंगालोको
भुमरीमा
आफूलाई बिसर्जन गर्न ।

उ आई
चिसो प्रेमिल बतास आयो
सागरको लहर आयो
संघारमै
र त्यसमै म बगेँ
उसले हात दिई
समाई
काखमा राखी
उसैगरी
जसरी
काखमा राख्नु हुन्थ्यो
मलाई मेरी आमा

उ झुकी
बादल जस्तो घना कपाल
मेरो छातीमा बिसाई
ईनार जस्ता गहिरा आँखा
मेरो आँखामा जुधाई
म चितुवाको पञ्जामा परेको
मृग सरी आत्मसमर्पण गरें
लाग्दैथ्यो
उसले सिकार गरिसकि
र, अब खान्छे पनि
काँचै मलाई ।

सागरमा पानी बढ्दै थियो
लहर उठ्दै थियो
तुफान आउनु अगाडीको
समुन्द्री किनार जस्तो
हलचल र कम्पन थियो
ब्यग्र प्रतिक्षा थियो
उग्र चाहना थियो
मिठो मिलन थियो
उ ममा र म उमा
कैद थियौ बेकसुर
प्रेमको अन्तहीन जेलमा

छोरा टिभी हेर्दै थियो
हामी एक अर्कालाई बेर्दै थियौं,

लाग्दैथ्यो-
यो समयको सुई यहिँ रोकिदिऊँ
अनि बिताउँ एक युग
यही अवस्थामा
यही हालतमा ।

आँखा बन्द थिए
तर हामी यात्रामा थियौं
बिना पाइला
बिना बाटो
प्रेमको एक सुदुर यात्रामा ।

हामी सिमानामा थियौं
दुई ज्यानको
दुई मनको ।
तर निसंकोच उ हस्तक्षेप गर्दै थि
मेरो सिमाना माथी
मेरो अस्तित्व माथी
म खुसी र आन्दले लुटिँदै थिएँ
मिचिँदै थिएँ
सोंच्न सकिन-यो कस्तो खेल हो
न हार हुने न जीत ?

अनायसै उसले सोधी-
प्रिय तिमी कसलाई सबैभन्दा
बढ्दा प्रेम गर्छौ ?
मैले निशंकोच जवाफ दिएँ-आमा

प्रेमको यो महासागरमा
डब्नै लाग्दा पनि मैले
आमालाई भुल्न सकिन
मेरो पहिलो प्यार त्यो ।

हो म आमालाई
संसारमै सबैभन्दा बढि मायाँ गर्छु
प्रिय,तिमीमा पनि त म
आमाको एक अंश भेटाउँछु

अचानक छोरो आईपुग्छ
आफ्नी आमाको काखमा
र,लुटपुटिन्छ उसैगरी
जसरी लुटपुटिन्थेँ म
काखमा मेरी आमाको ।

प्रिय, तिमी
मेरो छोराको पहिलो प्रेम हौ
र,मेरो अन्तिम प्रेम
एक अन्तहीन प्रेमको जननी तिमी ।।

-युएई

Gopal Kawali – Mero Aradhya Tan Ta

मेरो आराध्य तँ त,
साँझै पिच्छे शंख घन्ट बजाए संगै
जल आहुति दिन चुकाएको थियिंन
नैबेधको कमि महसुस गराएको थियिंन
जपहरु, ध्यानहरु बिराएको थियिंन
रगत सुकाउने खडेरी होस्
अथवा, मुटु थर्काउने ठिही होस्
चप्परी उक्काउँदै आफ्नै मन जोत्दा
तलाईं खोकिलामा आसन दिएकै थिएँ
समाजका छाती भित्रका
नफुटेका डल्लाहरू,नमिलेका आँतरहरु,
बिहान सूर्यलाई अर्घ दिए संगै
सम्याउने सल्लाह गरि, संगै सुतेका हामी
मैले दत्तिवन नगर्दै तैंले खोलो तरिस
तँ कस्तो भगवान होस् त?
सानु सुकुल बोकेर,
जब म सम्मोहन बिद्या सिक्न कुटीतिर धाउँछु
मलाई संसार सम्याउनु छ
उता तँ,
बिकर्सणका विकिरणको श्रीस्टि गर्छस
मेरो संसार जलाउन चाहन्छ्स
तेरा र मेरा मस्तिस्कका घर्षणले
मनुआत्मा मा उठेका ज्वार भाटा, अनि
नास्तिकबादका आगलागीहरु
अब कुनै बारुण यन्त्रका बसमा छैनन्
जीवनका नाटकमा तेरो संगतले
जब म राम बन्न खोज्छु
तँ रावणको भूमिका निर्वाह गर्छस
कमसेकम बिभिषण बन्न सक्थिस नि
श्वास धान्ने नित्य दैनिकीमा
तेरो अपरिहार्यता आँक्दै
जब म कृष्ण बन्न खोज्छु
तँ संधै कंश भएर उभिन्छस
कमसेकम सुदामा बन्न सक्थिस नि
ठिकै छ, तँ तिघ्रामै ताली बजा
तँलाई यो हात चाहिंदैन भने
ठिकै छ तँ एकान्तमै लिला देखा
तँलाई मान्छेको साथ चाहिंदैन भने!!!

जुलियन,अफगान,१७/१२/१२

Radha Baskota – Badalindo Man

राधा बास्कोटा – बदलिदो मन
(मधुपर्क असार, २०६७)

हरिया छन्-पातहरू
मनसँग दाँज्नु थियो
चङ्गा छन्-वैंसहरू
लहरासँग बाँच्नु थियो
जीवन गतिमा
धेरै गल्तीहरू गरिएछ
बोल्नै नहुनेसँग-बोलिएछ
सँगै पाइला चाल्नेसँग
सधैँ सधैँ टाढिएछ
खै, म
मान्छे त चिन्छुजस्तो लाग्थ्यो
त्यो पनि
केवल अहङ्कार रहेछ
असलको आडलाई
सधैँ घृणा गरेर
पश्चातापको साथ लागिएछ
सेता
नरम
बादलका टुक्रासँग
सधैँ झूटो बोलेर
काला
विषालु
बादलको लहरमा लागिएछ
आँखाहरू
भर्खर खुलेजस्तो लाग्दैछ
अहङ्कारको बादल फाट्दैछ
किरिया खाएर भन्दैछु
अब झूटो बोल्न सक्तिन
फुकाएर
मनका विगतलाई
म तिम्रो
सेतो सिमलको भुवाजस्तै
मनभित्र मन राखिदिन्छु
सत्ते
धरोधर्म
विगतका
गलत पानाहरू पल्टाएर

गर्मीको जेठ पनि देखाइदिन्छु
सुकेको शिशिर पनि देखाइदिन्छु
सत्ते
धरोधर्म
मन साक्षी राखेर
आत्मा साक्षी राखेर
म तिम्रो सिमलको रुखजस्तो
शरीरमा
भुवा भएर घुम्नेछु
विगतका विषालु फोहोर
झिजाएर तिम्रै सामु
गरुङ्गो मन विसाएर
रुने छु
फूलका पत्र फक्रेर
धरोधर्म
तिमीलाई दिएको घृणा छुनेछु
चन्द्रमा जस्तै
तिम्रो दिलको दिल बनेर छुनेछु
सत्ते, धरोधर्म ।

Baidhyanath Upadhyaya – Sangharsha Gatha

वैद्यनाथ उपाध्याय – संघर्ष गाथा

निर्जन पाहाडको भीरमा
आफ्ना जिजीविषाहरूलाई
चट्टानको शुष्क छातीमा
विनाशको विकरालताभित्र
क्षणिकनै भए पनि
जीवनको जयघोष गर्दै
आकाश लम्किरहेका वृक्षहरू
अरू केही हैन
त्यो मेरै जीवनको संघर्ष गाथा हो।

Pratima KC – Saraswati Pooja (Baal Kabita)

प्रतिमा के.सी. – बाल कविता: सरस्वती पूजा

आज हो हाम्रो सरस्वती पूजा गर्ने दिन
आउ साथी संगै बसौं मिलि एकै छिन
माफ गर्दै गल्ति हाम्रो स्वीकारेर लेउ
माता तिमि सरस्वती बिधा दान देउ

पूजा गर्छौ तिम्रा पाउ फुल अक्षता राखी
गर्नु पर्ने बिधि जति केहि बाँकि नराखी
पण्डित पनि बोलायौँ पन्चामृत बनायौं
तिम्रो सामु निस्चल हाम्रा भाबना खनायौं

स्याउ केरा चढायौं अगरबत्ती बाल्यौ
खुसि भइ रमाई घन्टी पनि बजायौं
निधारमा रातो टिका हामी सबै लायौं
हलुवा पुरी मिठाइ मिलिजुली खायौं

१.
आशिर्बाद् पाउने तिम्रो ठुलो मान्छे हुन्छ
यसै भन्छन सबैजना ज्ञानी गुणी हुन्छ
अबदेखि म पनि सधै किताब पढ्छु
तिम्रो आशिर्बाद लिइ अघि अघि बढ्छु

ठुलालाई पनि तिमि आशिर्बाद देउन
बिबेक र बुद्धि दिई सुमार्गमा लेउन
हाम्रो देश नेपालमा शान्तिमय गर्देउ
बाल हृदयमा हाम्रो ज्ञान ज्योति भर्देउ

हातमा किताब बिणा माला लाग्दछ राम्रो
सरस्वती माता तिमि पुकार सुन हाम्रो
घरमा पनि पुजा गर्यौ स्कूलमा नि गर्यौ
हामी यो शिर नुगाई तिम्रो चरण पर्यौ
२.

८ फेब्रुअरी २०११

(Sent to Sanjaal Corps via Email)

Aman Maharjan – 2012

अमन महर्जन- २०१२

लगाई अदृस्य हत्कड़ी हातहरु, बाँधी छबी पट्टी आँखाहरु
बिचल्ली मनस्थितिहरू, सुसुप्त मस्तिस्कहरू
कहाँ बिदेशी झिलिमिली त कसैको अन्धकार रात
कहाँ काकटेल पार्टी त कहाँ के खाने “भोलि” को समस्या
यो हुने र नहुनेको दोसाँघ यो धनि र गरीबीको फासला
निरंतर अघि बढ्दै गर्छ, समय आफ्नो फर्का मार्छ

आक्रामक संकीर्ण मनाबता, बिस्फोटक सामाजिक जीबन
घृणित अपहेलित समाज, लालची कू संचालित ब्यबस्था
प्रतिस्पर्धा गरिरहेछन सधै बारूदी सुरुंङ अनि मैदानहरुमा
को कुनबेला समाप्त हुन्छ र को कसरी उदय हुन्छ धर्तिमा
यो मतलबी दुनिया, यी असंख्य बर्बादी मोर्चाहरु
अन्धकार बिनास यात्रामा लागिरहेछन, आफै शिकार बनिरहेछन

नोस्त्रदामस भन्छ २०१२ मा हुन्छ ब्रह्मंड को नै समाप्ती
माया तालिका बोल्छ २०१२ मा हुन्छ पृथ्वीको अन्त्य
तर कसले पो छोडेको छ र रयाल काढ़ना आज
कुन ठाउमा पो पाउँछ र बास बुद्ध ले यहाँ आज
दुम्सिका प्वाल थुन्ने हातहरु नै सर्प बनी बिष बमन गर्न थालेपछि
बिसाक्त क्रोधी सर्प बनी आफै आफ जगल्टियपछि

Sushila Khadka – Sundar Sapana Haru

सुशीला खड्का हसिना – सुन्दर सपनाहरू

मेरी आमाले
पैतलामा काँडा बिझाउँदै
भोको पेट कसेर
भालेको डाकसँगै
वनमा पुगेर ल्याएकी
डोकोभरिको घाम
हेरेर म खुसी हुन्थेँ,

मेरो बुबाले
झिसमिसे उज्यालोमा
आँखा
मिच्दै
चरचर चिरिएको हातले
गोबर पन्छाउँदै
गोठभरि छरेको जून
हेरेर म दङ्ग पर्थें,

एकातिर
मेरी आमा
निभेको चुलो बाल्न बस्थिन्
उद्देश्यका दीपहरू सल्काउँदै
डालीभरि चाहनाका ताराहरू बटुल्दै
हरेक साँझ जाँतोमा
सुख, दुःख पिस्थिन्
प्रत्येक बिहान पँधेरीमा
गाग्रीभरि आशा भर्थिन्
अर्कोतिर
हलोजुवा काँधमा बोकेर
हलगोरु खेद्दै ओरालो लाग्थे बुबा
बाँझो बारीसँगै जोतिन्थे
उहाँका अनगिन्ती इच्छाहरू
खेतका आलीसँगै लेप्सिन्थे
भोकमा सिस्नु र खोलेमै रमाउथे
जुन दिन समयले कोल्टे फे¥यो
झरेन आँगनीमा
कुनै नौलो बिहानी
उनिएन खुसीहरू
सम्झौताको डोरीमा
भरिएन सुख–शान्ति,

ममताको अँगालोमा
सधैँ–सधैँ
उस्तै दुःख उस्तै पीडा
झन्झन् थपिँदै जाँदै छ
उहाँहरूको जीवनमा
अझै अप्ठ्यारो
अझै अँध्यारो
अब कैयौँ
बाधा र व्यवधानका बाबजुद् पनि
लड्ने छु म नियतिसँग
कोर्ने छु भाग्यरेखा
सुकाउने छु, आँसुको तलाउ
बनाउने छु आफ्नै सुन्दर संसार
जहाँ प्रगाढ माया र स्नेहले
सुरक्षित जेलेर राख्ने छु
सुख, शान्ति र हर्षसँग
मेरी आमा र मेरो बुबाको
सुन्दर सपनाहरू
सजाउने छु क्षितिजको पानाभित्र ।

दोलखा, हाल ः काठमाडौँ ।

– बिहीबार, 19 भाद्र, 2071

Bibek Dulal Chhetri ‘Damak’ – Akshar Haru Sita Ko Lukamari

विवेक दुलाल क्षेत्री “दमक” – अक्षरहरूसितको लुकामारी

निद्रा खलबल्याई दिन आइ दिन्छन्
रातभरी
बेला ,कुबेला
अक्षरहरू
गर्दागर्दैको कामलाई ठप्प रोक्न आइ दिन्छन्
दिनभरी
जुनसुकै बखत
अक्षरहरू
कलिलो घामको निर्दोषितालाई गिज्याउदै
छूनुमुनू गर्दै आइ दिन्छन्
बिहानभरी
कुनै पनि पल
अक्षरहरू
गुलावको बैशालु यौबनलाई फिक्का पारी
बैशको तातो हावा बोकेर आइ दिन्छन्
ठण्डीको कुनै पनि क्षण
अक्षरहरू
जिज्ञाशा र सत्य बचन बोकेर आइ दिन्छन्
यादभरी
मुटूको कुना कुना
अक्षरहरू
दुखमा / सुखमा कुनै कुराको ख्यालै नगरी आइ दिन्छन्
दफ्तर /मेला /स्कुल /धारा /बजार
कुनै पनि बेला
अक्षरहरू
अब –
भन्न मन लाग्छ ;
नागबेली चुल्ठिमा सजाइएका फूलहरू हुन् – अक्षरहरू
निलो समुन्द्रमा दौडिरहेका जहाजहरू हुन् -अक्षरहरू
अन्धबिस्वास बिरुद्द उद्घोष गर्ने मुलमंत्रहरू हुन् -अक्षरहरू
हरेक मान्छे ,मान्छेका संग्ला मनहरू हुन् -अक्षरहरू
महाशय ;
यहाले पनि अक्षरहरू पक्कै पढ्नु भएको होला …
साच्ची मलाई
तिनै अक्षरहरूसित
खेल्नु थियो
एक पल्ट लुकामारी .

अस्तु :
(वास्तविक नाम ;भानुभक्त दुलाल )
दमक ,झापा
हाल :अबुधाबी ,यू ए ई .

Pratap Koya Rai – Nango Sansar

प्रताप कोय राई – नाङ्गो संसार

ममतामयी आमाले नाङ्गै जन्माइन्
तोते बोलि र बामे सर्न पनि सिकाइन्
अनि लाज ढाक्ने बस्त्र पनि दिइन्
हुर्काइ बढाई लक्का जवान् पनि बनाइन् ।

जवानीले उन्माद भई भौतारी हिँडदा
अप्सराको माया जालमा बाँधिन्न पुगेछु
मायाको ब्यापारमा मोडल बनाई
संसार हेर्न उनले मलाई नङ्गाईन् ।

तब पो बल्ल होस आयो
प्रश्नहरु तेर्सिए समाधान बिहिन
आफैलाई सोधें संसार के हो त ?
झुट्टो माया जाल की ? नौटंकी गर्ने रङ्गमञ्च ??

गीतकारले गायक र गायिकालाई नङ्गाईन्
गायक र गायिकाले नर्तकीलाई नङ्गाईन्
नर्तकीले दर्शक सबैलाई नङ्गाईन्
बाँकी के नै रह्यो र ?

स्वार्गको वकालत गर्ने ओशो पनि नाङ्गै
महात्मा कहलिन्ने मोहनदास पनि नाङ्गै
गोरेटो बनाउँने कवि, लेखक, साहित्यकार पनि नाङ्गै
मूलबाटो बनाउँने कलकार, समाजसेवी,
प्रसाशक,राजनितीज्ञ पनि नाङ्गै
न्याय दिलाउँने वकिल अनि न्यायधिश पनि नाङ्गै
त्यति मात्र कहाँ हो र ?
समाजको ऐना हुँ भन्ने पत्रकार पनि पो नाङ्गै
त साँचो संसार के हो ?
नाङ्गो नौटंकी नै संसार हो त ???