Hari Ghimire – Badhi

हरि घिमिरे – बाढी

वर्षा लागे पछि-
तिमी नदी-किनारका वस्तिहरु!
भयभित भएको कुरा गर्छौ
बाढी आउला कि भनेर
दुई महिनाका लागि
मुटु कमाउदै तर्सन्छौ
तर
दस महिनाको प्राकृतिक सुन्दरता र स्वच्छताको
हरियाली श्रेष्ठताको
कमसे कम उपभोग त गर्न पाएका छौ्।
नदी किनारका ओरिपरि
त्यै बाढीको पानीले
नयाँ सिर्जना त गर्न पाएका छौ
तर
हामी गाउँ-शहरका बस्तीहरुमा
सँधै वर्षा लागेको छ-
मृत्युको वर्षा
हत्या-लुट-बलात्कारको वर्षा
अपहरण-आतङ्क र अशान्तिको वर्षा
तिम्रो त मनसुनले आकाशबाट पानी बर्साउँदो हो
एकै छिन डर लागे पनि
मन रोमाञ्चित भएर उठ्दो हो
हाम्रा त-
आँखाबाट वर्सेका पानीले
बाह्रै महिना बाढी ल्याएको छ
त्यो बाढीभित्र-
विनासै-विनासको लीला छ
चिहानै-चिहानको खात छ।
हाम्रो त मुटु नै छैन
के कमाउँनु?
के तर्सनु?।