Biplav Dhakal – Jal Devi Ko Geet

विप्लव ढकाल – जलदेवीको गीत
(मधुपर्क माघ, २०६७)

रातभरि
आँसुले नुहाइदिएर
सुकिलो बनाएको जून
कहाँ पुगिसक्यो !
कोक्रोमा सुताएर
तेल घसीघसी
हुर्काएका ताराहरू
कहाँ पुगिसके !
बिहानै डोलीमा राखेर
कलिलो बेहुलोजस्तो घामसँग
अन्माएर पठाइदिएको
माली चरो पनि
कहाँ पुगिसक्यो !
जलदेवी
नदीको बगरमा उभिएर
पानीले बगाइरहेको
आफ्नो छाया हेरिरहेको छ !
थाहै नपाई
माटोमा झरिसकेछ
शिरको गुलाफ !
निभ्नै लागेछन्
आँखाका जोरबत्तीहरू !
ओहो ! कसरी यति धेरै
चिरा परे अनुहारमा ?
पानीले पखाल्दा पखाल्दै
मेटिन लागेछ अनुहारको ज्योति !
शरीरबाट चुँडिएर
झर्नै लागेछन् हातहरू !
झर्नै लागेछन् खुट्टाहरू !
नदीको पल्लो किनारमा
सुताएर आएकी थिई
जूनकीरीजस्ती छोरीलाई
थाहै नपाई
शिरानीमा लुकिसकेछ
हरियो सर्प !
ढाकरमा नून
र मट्टतिेल बोकेका
अभागी भरियाहरू
आज आउँछन् कि आउँदैनन् ?
झोलामा सिन्की
र चिउरा बोकेका
गरिब बटुवाहरू
आज आउँछन् कि आउँदैनन् ?
कर्कटपाताको भारी
र पानीको पाइप बोकेका
थकित गाउँलेका लस्करहरू
आज आउँछन् कि आउँदैनन् ?
माथि पहाडबाट
परालको भारी बोकेर
बूढा गोरुहरूको बथान धपाउँदै
तराई झरिरहेका खरितेहरू
आज आउँछन् कि आउँदैनन् ?
कतारको मरुभूमिमा
ऊँट चराएर फर्किएका
परदेशी छोराहरू
आज आउँछन् कि आउँदैनन् ?
मलेसियाको सडक बनाउँदा
हात चुँडाएर फर्किएका
यो देशका नौजवानहरू
आज आउँछन् कि आउँदैनन् ?
शरीरको रातो रगत
पहेंलो बनिसकेपछि
रगतकै टाटाले भिजेको
पुरानो गुन्युँ लगाएर
सिमाना पारिबाट फर्किएका चेलीहरू
आज आउँछन् कि आउँदैनन् ?
र भन्छन् कि भन्दैनन् उसलाई मझिनी !
टाढा पुग्नु छ टाढा….
पुग्नु छ सपनाको गाउँमा
यो नदीजस्तो जिन्दगी
तारिदेऊ न हामीलाई !
कोही पनि आएनन्
आज अबेरसम्म !
हिजो त यही बाटो भएर
केही राजाहरू
जङ्गलबाट दरबारतिर गएका थिए
र केही राजाहरू
दरबारबाट जङ्गलतिर गएका थिए !
भरभराउँदो जवानीजस्तै
भरिएको थियो
जलदेवीको डुङ्गा
तर आज
ओहो ! फेरि कहाँ पहिरो गयो ?
धमिलो बनिरहेको छ
नदीको पानी !
कहाँबाट बग्दै आइरहेका हुन्
यी सिलबरका थालबटुकाहरू ?
कहाँबाट बग्दै आइरहेका हुन्
यी तीतेपातीले बारेका झुपडीहरू ?
कहाँबाट बग्दै आइरहेका हुन्
यी कोक्रोमा निदाएका नानीहरू ?
आएनन्
आज कोही पनि आएनन् !
थकित बटुवाहरू आएनन् !
हारेका परदेशीहरू आएनन् !
रित्तै छन् गाउँका कोखहरू
रित्तै छन् आमाका काखहरू !
कोक्रोमा सुताएर
तेल घसीघसी हुर्काएका
जूनताराहरू पनि आज आएनन् !
नदीको पल्लो किनारमा
सुताएर् आएकी जूनकीरी पनि
ब्यूँझिएर रोइसकेको होली !
नदीको ओल्लो किनारमा
जीवनजस्तै रित्तो डुङ्गामा बसेर
जलदेवी
पानीले बगाइरहेको

Biplav Pratik – Praman

बिप्लव प्रतिक – प्रमाण

युद्ध जित्नकै लागि
यदि हतियार उठाएको भए तिमीले
जाऊ एकपल्ट
योद्धाहरूको चिहानमा
र सुन रातको सुनसानमा
त्यहाँ गुन्जिएको मौनता ।

कुन मान्छेले कोसँग जितेर
कति सीमा र समयसम्म
आफ्नो जितको झन्डा फहराएको छ ?
मान्छेले जितेँ भनेर
कतिसम्म चिच्च्याउन सक्छ र !
जितको झन्डा लिएर
कुन युद्धपुरुष अहिलेसम्म जिउँदै छ ?

मान्छे केवल आफ्नो जितको उन्मादमा
मात्तिएर मुर्दा भएको
तिमीले हामी हिँड्दै गरेको
यही धूलोमा देख्न सकेनौ भने
कुनै अर्को धूलो छैन मसँग
प्रमाणका लागि ।
कुनै नयाँ चिहान छैन मसँग
सबुदका लागि ।

नयाँसडक, २८ जनवरी १९८७

Ram Gopal Ashutosh – Manab Ko Basti Bhitra (Nepali Gajal)

रामगोपाल आशुतोष – मानवको बस्तीभित्र

मानवको बस्तीभित्र विनाशब्द ढलिरहेँ
आफ्नै आँगन चित्ता भयो जलिरहेँ जलिरहेँ ।

भित्रभित्रै ऐँठन हुन्थ्यो, आफन्तको प्रहारमा
निस्सासिन्थेँ यद्यपि म जसोतसो चलिरहेँ Continue reading “Ram Gopal Ashutosh – Manab Ko Basti Bhitra (Nepali Gajal)”

Rajan Mukarung – Shunya Awataran

राजन मुकारुङ – शुन्य अवतरण

रात र दिन
या अँध्यारो र उज्यालो
जोसँग रुने र हाँस्ने हविगत सकिएको छ ।

ट्वाल्ट्वाल्ति पर–परसम्म
बजारमा
सुदूर भविष्यहरु पनि बेचिन्छन्
अस्वस्थ भाग्यका अगेनाहरु भुर्भुराउँछन्
जसमाथि–
Continue reading “Rajan Mukarung – Shunya Awataran”

Bhupin Byakul – Loktantra Lai Prashna

भूपिन ब्याकुल – लोकतन्त्रलाई प्रश्न

नानीमा आशा टाँसिएका आँखाहरु छन्
परेलीमा निराशा टाँगिएका आँखाहरु छन्
लोकतन्त्र
तिमीसंग ती आँखाहरुलाई दिन
कुन-कुन नयाँ दृश्यहरु छन् ?

तिमीलाई उज्यालो इन्द्रेणी बनाउन
उनीहरुले आङको घाम दिएका छन्
उनीहरुले पसिनाको रङ
र जीवनको निजी गन्ध दिएका छन्
कतिपय
फुकेका खाली हातहरु छन्
कतिपय
बन्द मुठीहरु छन्
लोकतन्त्र
तिमीसंग ती हातहरुमा थमाउन
कुनकुन नयाँ जून घामहरु छन् ?

स्कुलको पुरानो ऐनामा
जीवनको नयाँ बिम्ब हेर्न लालयित
केटाकेटीहरुलाई
जीवनको क्रुरताबाट झिकेर
कसरी पुर्याउँछौ स्कुल ?
के राखिदिन्छौ ?
स्कुल हिंडिरहेका नानीहरुको झोलामा
किताब कि बन्दुक ?

के पलाउँछौ किसानको खेतहरुमा ?
जीवन कि आँसु ?

जे भित्र्याउँछौ मजदुरका झुप्राहरुमा
उज्यालो कि अंध्यारो ?

के झार्छौ गरिबहरुका आँगनमा
उल्का कि तारा ?

समयको चुली चढ्न ब्यग्र बाटाहरु
निदाइरहेका छन् गाउँहरुमा
तिनीहरुलाई कसरी ब्युँझाउँछौ ?
दु:खको गाढा ऐँठन छ
मधेसको फिक्का अनुहारमा
त्यसलाई कसरी उप्काएर फाल्छौ ?
ऊनसँग साटेर
नून कसरी पुर्याउँछौ बस्तीहरुमा ?
कसरी पुर्याउँछौ ?

प्रश्न गर्न बर्जित
यो मुलुकमा
एकसाथ धेरै प्रश्नहरु सोध्न खोजिरहेका छन्
मानिसहरु
लोकतन्त्र
तिमीसँग उनीहरूलाई दिन
के-के नयाँ उत्तरहरु छन् ?
के-के नयाँ उत्तरहरु छन् ?

Dr Mallika Shakya – Janma Din Ko Janma

डा. मल्लिका शाक्य – जन्म-दिनको जन्म

नाम – रूप
उदाउँदै – अस्ताउँदै छायाँहरु बाँचिरहेछन् मायाजाल
बाँच्नु भुमरी हो
असमापित, अनाहुतित, अनुत्कर्षित

एक्कासि म भित्रको खेताले तत्व
फुत्त निस्कन्छ
र कूँद्छ एउटा देउता
त्यसलाई म मेरो ब्रीफकेसमा साँच्दछु
बेला-बेलामा हाजिर गराँउछ आफूलाई त्यो
औपचारिकतावश
अध्यागमन कक्षहरूमा
चिन्तन-कोठीहरुमा
भोज-भतेरहरुमा
‘म’ पात्रको भूमिका खेल्छ देउता
उसको चहक, कहिलेकाहीं मलाई रुचाउनेहरुको मायासँग मिल्छ
अरु बेला दालचामलको मोलसँग
छायाँका बगालहरुसँग
अथवा खेताला हुनुको नियतिसँग

म सोच्छु, देउता मेरो मान्छे
देउता भन्छ, म मान्छे देउताको
उसको नामको सार मैले बोलाउनुमा त छ, न कि बिर्सनुमा
मेरो रूपको अर्थ उसलाई बनाउनुमा छ, न कि भत्काउनुमा

चल्ला र अण्डाको प्रश्न जस्तै
सनातन चलिरहन्छन् भुमरीहरु
असमापित, अनाहुतित, अनुत्कर्षित
त्यसकारण त हो खेताले तत्वमा देउता चढेको
बर्बराएको, हन्-हनाएको
अनि आजकै जस्तै कुनै एउटा दिन तोकेर
बकेको –
आ, मैले जन्म दिएँ तँलाई
जा, संसार आरम्भ भयो तेरो
बाँच् र मर्
कोर् एउटा कथा जसमा तेरो मुक्तिको मिठास होस्
कूँद् एउटा देउता जसमा तेरो अस्तित्वको आकार होस्

मेरो जन्मदिनको पहिलो आयाम – आएर भावीले लेख्छ निधारमा
मेरो जन्मदिनको दोस्रो आयाम – फूँकेर समाज काढ्छ मेरो नाम
मेरो जन्मदिनको तेस्रो आयाम – प्रेम
चौथो आयाम – विरह
पाँचौ आयाम – समचित्तता
छैठौं आयाम – जर्जरता
सातौं आयाम – विश्राम

अहा! सांच्चिकै स्वादिलो आख्यान!
भुलभुलैया भन्दा भुलिलो
मायाभन्दा मीठो
जा, तँलाई माफ गरें देउता मैले, आजलाई।

प्रेटोरिया, दक्षिण अफ्रिका

Prem Oli – Bhana Timi Bhanda Ma Ke Kam Chha

प्रेम ओली – भन तिमी भन्दा म के कम छ

एउटा हातमा तास छ
अर्को हातमा रम छ
तिमीलाई फुर्सद छैन होला
आफु त यसरी नै
बार्है महिना जम छ
भन तिमी भन्दा म के कम छ।
मिर्मिरेले खेदेर तिमीलाई
सन्ध्याले फकाइ ल्याउछ
मरेर जाने यो जिन्दगीमा
कस्को गोरु ब्याउछ ?
आफु बार्है महिना
यसरी खेल्न भ्याउछ
हिङ नभए पनि
हिङ राखने टालोको दम छ्
भन तिमी भन्दा म के कम छ।
तिमी अमेरिका जाउ वा अफ्रिका
उधोग चलाऊ वा पत्रीका
जती भए पनि धन कम छ
समय झन कम छ
किनकी
तिमीलाई खर्ब कमाउने मन छ
तिम्रो चैनमा खाली अमन छ
भन तिमी भन्दा म के काम छ।
हो तिमीसँग धेरै
कारहरु होलान
हारहरु होलान
तर मृत्युको अगाडि यसको के दम छ
तिमीलाई जस्तो मलाई
न सुगर न दम छ
न चिन्ता न गम छ
त्येसैले
अफु त साथी हरेक दिन
यसरी नै जम छ
यसरी नै रम छ
विश्वाश छैन भने
त्यो तिमीलाई भ्रम छ
भन तिमी भन्दा म के कम।

Krishna Bajagain – Dhaar

कृष्ण बजगाईं – धार

बैंशालु युवतीसँग छिल्लिएझैं
उत्ताउलिएर मान्छेहरु
समयको धारसँग खेल्छन्
धार एउटा लक्ष्मण रेखा हो
समयको कठघरामा उभिएको मान्छेहरु
त्यसमाथि टेकेर वारपार गर्दछन्
अर्जाप्छन् हतियारहरु
समयको Continue reading “Krishna Bajagain – Dhaar”

Eklabya Raj – Biwashtama Bancheko Atma

एकलव्य राज – बिवशतामा बाँचेको आत्मा

फोहोरको डंगुरमा
लुकामारी खेल्दै अभावका डोकाहरु
उनिहरुको सामु लम्पसार परेको छ ।
उता हरक्षण आकाशिने होडमा
कुदिएका छन्
प्रातकालिन समय
पुष्पगुच्छाका अगुल्ठाले
छोपिदै स्वर्ग खोज्ने होडमा
भौतारिरहेको काला वादलहरु
गुरुरु गुरुरु यता उता
चाँपाचाप त्यो अस्लिल नगरीमा
कुरिरहेकाछन् मानवताका
भण्डारमा वस्न
तर यता भने
वाध्यताका पोका पन्तुराहरु लिएर
भोकको ढाकरलाई अँगोछाले छोप्दै
कालो निस्लोट रातमा
प्याट प्याट गरेको चाप
सुनिन्छ अनि गुजिन्छ
ति रातका प्रहरहरुमा
खोज्दैछन संयमका डोरीहरु
कर्कलोको पानी अडिनु जस्तै ।

अगेनाको छेउमा निदाईरहेको त्यो चोखो
आत्मा नानाले जाडो भगाउनुको सट्टा
रापले तताईरहदा
माथि कौसींवाट छ्याप्प मैलो पानी
सडकमा पर्छ अनि उसका रातका
वयेलीहरु सुसाउछन्
चुईक्क चुईक्क
कहा लागेको छ र निन्द्रा
खोज्दै छ अगेनाको राप
भेट्दैन केहि ।

त्यसैवेला माथी
घृणाको तलाउवाट
उशाको लाली सँगै व्युझदै
एक मुठो प्रेमको थाली वोकेर
मन्दिर र विहारका स्तुपामा
एक अम्खोरा पानीले आफ्नो
कर्तुतलाई पखाल्दै
कोटी होमको मन्त्र जप्दै
एक भारी फूलले
ओढाईन्छ त्यो स्तुपामा
त्यति नै खेर
उ परवाट चियाई मात्र रहन्छ
उसका वख्खुले एक डोको निन्द्रा
भिजेका छन् दलिनवाट
संस्कारमा जिउदै
भिडमा हराउदै
खुरुरु खुरुरु
यता उता दौडिन्छ
भोक र आशुको विटो वोकेर
चियाउछ छेउछाउका अभ्रखमा
त्यहा छ एक भारी भोकका पोकाहरु
हरेक जत्था मानव र संस्कारले
उनीहरुलाई पुर्छन फोहोरको सगरमाथामा
तर ठिक विपरित
फूल र लड्डुको घुईत्रो हान्दै
सलामी ठोक्छन् स्तुपामा ।

तर
उ भने सधै
विवषतामा वाँच्न
सडकका पेटी कोट्याउन
आकाशको छानो लगाई
कोल्टे फेर्न वाध्य छ ।
सुन्यतामा विकेको
उसको संकटलाई
अन्धकारले टेकेको
उसको बिवषतालाई
चुलिदै गएको
उसको भोकलाई
लात हानेका छन्
अर्ध चेतन धर्मात्माले ॥

Anmol Mani – Bidaai

अनमोलमणि – बिदाइ

बितेका बाटाहरू हेर्दै नहेरी भेटेर जाऊ फेरि भेट हुन्छ हुन्न!

फेरि यस्तै दिन नहुन सक्छ
नवहन सक्छ यस्तै हावा
पहिरो जान सक्छ लेउ लागेको
प्राचीन बाटो
कुनै शासक
हातमा नाङ्गो तरबार Continue reading “Anmol Mani – Bidaai”

Bibek Dulal Chhetri ‘Damak’ – Euta Nirjan Basti Ma

विवेक दुलाल क्षेत्री “दमक” – एउटा निर्जन बस्तीमा

समयको कुनै एक भाग
रात ,दिन
घण्टा ,मिनेट
सेकेन्ड ,पल
बिहान , मिर्मिरे
मध्यान्ह ,साँझपख
एउटा निर्जन बस्तीमा
मान्छेहरू बस्थे.

त्यो वस्ती मान्छेकै लागि
उपयुक्त थियो
विस्वासका खम्बाहरुले
त्यो बस्ती मन मोहक लाग्थ्यो
विचारका छानाहरुले
बस्तीलाई
पानीबाट जोगिन ओत दिन्थ्यो
जागरका हातहरूले
त्यो बस्तीमा सबथोक सिर्जिन्थ्यो
र मान्छेहरू
निराजनातालाई भूलेर
एकतामै रमाएर
त्यो वस्तीमा ढुक्कसित बस्ने गर्थे .

मान्छेहरूको प्रवेश पछि
निर्जन बस्तीको
गुण गान पर पर
बाबरी फूलको बास्ना झैँ फैलिएको थ्यो
मान्छेहरूको प्रेमपछि
निर्जन बस्ती
मनमोहक दुबो झैँ मौलिएको थियो .

दिन नै लागेर होला
आज त्यो बस्ती फेरी शुनसान भएको छ
दशा नै लागेर होला
त्यो बस्ती पुन निर्जनतामा फैलिएको छ
मान्छेहरू बस्ने त्यो बस्ती
कठै ! आज शमसानमा परीणत भएको छ .

यसैले मलाई आज
त्यहि निर्जन वस्तीमा
मान्छेको वस्ती बसाउन मन लागेको छ
मलाइ त्यहाँ
बिस्वास भित्र्याउन जागर चलेको छ
मलाई त्यो मान्छे बेगरको बस्तीमा
पुन मान्छेको भाइ चारा र एकताको जग हाल्न
मनलागेको छ .

हो ;
समयको कुनै एक भाग
रात ,दिन
घण्टा ,मिनेट
सेकेन्ड ,पल
बिहान , मिर्मिरे
मध्यान्ह ,साँझपख
एउटा निर्जन बस्तीमा
मान्छेहरू बस्थे.

अस्तु :
विवेक दुलाल क्षेत्री “दमक “
दमक , झापा
हाल :अबुधाबी , यू ए इ .

Baidhyanath Upadhyaya – Khushi

वैद्यनाथ उपाध्याय – खुसी

पीरले लोलाएको
यो समयमा
उलझिएका छन
मेरा प्रत्येक दिनहरु!
मन भित्र भित्रै
चलिरहेछ
अविरल
एक घमासान!
असाध्यै राम्रो लागेर
अपनाएको चीज पनि
केही क्षणमै वाक्कै लाग्ने
यो कस्तो विडम्बना!
रातको प्रगाढता
लम्पसार भएर
तेर्सिएको छ वारी-पारी
क्षितिजभरी
पूर्पूरोमा हात राखेर
नियालिरहेछु,हरेक अनुहारहरु
आखिर मैले चाहेको
त्यो खुसी के हो?

असम

Homnath Pathak – Valentine

होमनाथ पाठक – भ्यालेन्टाइन

तिमी मेरी भ्यालेन्टाइन बन्देऊ म बनुँला तिम्रो
गुलाब साट्ने आजको दिन्मा जोबन मागे तिम्रो ।।

राम्रो लाग्थ्यो तिम्रो बानी व्यहोरा राम्रो मन पनि
न जागिर छ न छ सम्पत्ति स्वीकार्छेउ भन त नि?

म बनुँला प्रेम चरो तिम्रो, तिमी मेरी चरी
गुलाब झै फक्रियोस् माया हाम्रो उदाहरण वरिपरि ।।

प्रेममै जिउँला तिमी हामी मरण प्रेम मै होओस्
देखेर पिरती हामी दुईको समाज इर्ष्याले रोओस् ।।

Shreeshisha Rai – Ghara Pugne Bato Khojdai

श्रीशीशा राई – घर पुग्ने बाटो खोज्दै

म श्रीशीशा किरात राई वान्तावा हुँ
‘किरुवा कान्छा’ भन्छन् उनीहरु
सानो ठान्छन्
घरमा पस्न दिँदैनन्
तुलसीमठ छोईदिने हो की भनेर झस्किन्छन्
तैपनि
कति उनीहरुकै खसीलाई घाँस काटीरहने ?
कति गहुँबारी खन्ने ?
कति चामल बोक्ने ?
अहिले म आफ्नै
संघीय घर खोज्न निक्लेको हुँ
बल्ल बल्ल यहाँ आईपुगेँ

यो त रामप्रसाद राईको ठाँटी पो रै’छ
आम्मा…..मा……मा…..
यहाँ त चारैतिर बाटा रै’छन्
अब म कतातिर जाऊँ ?
उ…., सञ्जय सन्तोषी राई
सवैले अजात भनेको सुन्न नसकेर
आफ्नो दाह्रीजुंगामा आगो लगाउँदैछन्
उ……, भुइदल राई
आफैलाई लेख्दा लेख्दा थाकेर
आफ्ना पुस्तकहरुले लसुन साट्दैछन्
यता
‘किरात स्वायत्त राज्य’ ब्यानर बोकेर चतुरभक्त राई
कुमार लिङदेनसँग बक्सिङ खेल्दैछन्
‘नारदमुनी थुलुङ रेडियो’ सुन्दै सुमाया राई
साकेला गीत सम्झदै रुदैछन्

उता भूपाल राई
कवितासँग्रह हातमा लिएर भाषण थालेका छन्
श्रवण मुकारुङ
‘विसे नगर्चीको बयान’ बेच्न साउदी जाँदैछन्
पारीवाट इन्द्रबहादुर राई
खिस्स खिस्स हाँस्दैछन्

आफ्नो ब्याकरण कसैले नपढिदिएपछि
डा. नोबलकिशोर राई रिसले मुर्मुरिँदैछन्
सवै विद्यार्थीहरुले छाडेर गएपछि लालदेउसा राई
कक्षाकोठामा गट्टी खेल्न थालेका छन्
त्यही नजिकै गोपाल किराती
भएभरका बन्दुक माटोले पुरेर झम्म झम्म मुस्काउँदैछन्
तैपनि ‘ह्याङओभर बाकी छ’ भन्दै सवै भाग्दैछन्
जय शिवाहाङले मुद्युम विज्ञानको परिचर्चा शुरु गरेका छन्
तर कसैले फर्केर समेत हेरेका छैनन्

अब म कहाँ जाऊँ ?
कुनबाटो गए म आफ्नो घर पुग्छु ?
हेरेको हेर्यै भा’ छु
यहाँ भोकभोकै उभिरहनु भन्दा
घाँस काट्नु नै वेश
भारी बोक्नु नै वेश

तरहरा

Achyut Fuyal – Yo Sannata

अच्युत फुयाल – यो सन्नाटा

यो सन्नाटा
कति अत्यास लाग्दो छ
कति विरक्तिलो छ
यो मुर्दा
हरबखत यसले
हाम्रो अभिव्यक्ति निल्न खोजिरहेछ
रोक्न खोजिरहेछ यसले
हाम्रो स्पन्दन
लाग्छ अब त
भ्वाइलन रेटुँ या मन
जसरी होस्
एउटा नयाँ धुन जन्माउँ
जुन धुनमा
आफैं फाँसी चढोस्
यो सन्नाटा ।

Yuddha Prasad Mishra – Bidhyarthi Biralo (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – विद्यार्थी बिरालो (नेपाली बाल कविता)

फलफूल चाहिँ नमिठो मान्छु
मासु पाए खुसीसित खान्छु
दही दूधको सौखिन भारी
म हुँ बिरालो मुसा सिकारी

छैन कसैसित झगडा मेरो
कुकुरसितको केवल फाटो
टोक्न मलाइ जगर फुलाई
भुक्दै आउँछ छेक्दछ बाटो

भाषा कोमल हिक्मत चर्को
म हुँ बिरालोः होइन अर्को
आफ्नो दाउ माथि पारी
आए त्यसकन पंजा मारी
नबनी नहुने पढ्न र्समर्थ
नपढेको जुनी अर्थ न र्व्यर्थ
त्यसै हुनाले नसकी अड्न
आएँ स्कूल म पनि पढ्न
घडी हातमा बान्नु भएका
धेरै धेरै पर्ने दाम
आधा आँखा चिम्ली कुर्सीमा
गर्नु हुने आराम
हेल्मेट जसको नाउँ छ सिंगै
टाउको छोप्ने फलाम
मोटरसाइकलका हे मालिक
मास्टर साहेब, सलाम सलाम

२०४५ भाद्र २५
(बालकोसेली वर्ष ४, अंक १२)

Phanindra Raj Khetala – Mero Yo Mahanagar

फणीन्द्रराज खेताला – मेरो यो महानगर

अप्राप्य सुखको कल्पनामा
निसास्सिने कल्पना बोकेर
हरित्गृहभित्र
ध्वनि, धुवाँ र धूलोसँग
होली खेल्दै
हिँडिरहेको छु म
आफ्नै महानगरको–
राजमार्गमा
हो, यो मेरो महानगर
भानुभक्तको अमरावति
मेरो जन्मथलो
काल्पनिक–
हराभरा र स्वच्छ नगर
महानगर कान्तिपुर
कोलाहलकोबीच
भाषण बाजी हुन्छ
धाक धक्कु फुल्छ
रातारात सिमेन्ट कङ्क्रीटको
नयाँ जञ्जाल उम्रन्छ
साँस्कृतिक धरोहर ढाकिन्छ
यो महानगर
जहाँ काल भैरव निदाएका छन्
महाँकाल निसास्सिएका छन्,
भोलेबाबा पशुपति
शुद्ध जलको अपक्षाा राख्दै
बागमती किनारमा तपस्यारत छन् ।
घण्टाघर रुन्छ
धरहरा चित्कार्छ
उपहासमा बाँचेको
वसन्तपुर
आफैँ आफैँ निसासिन्छ
अनि
हनुमान ढोका–धरोहर प्रतापमल्लको,
पाटन दरवार
पचपन्न झ्याले दरवार
अतीत सम्झी
आँसु झार्छन् ।
रोक्ने छेक्ने कसको ?
सार्वभौम जनता हामी–
कर्तव्य होइन
आज अधिकार बराबर
कानुनी पुस्तकले दिएका
खोस्ने कसले ?
छेक्ने थुन्ने कसले ?
बाटो फोहोर भएर के भो ?
कल्पनामा त
सफा–सुग्घर, हराभरा
हङकङ वा सिङ्गापुरको छ
तर
मेरो यो कान्तिपुर– राजधानी
मुटु देशको
धड्कन राष्ट्रको
विभिन्न युगका
विभिन्न कर्मठ कालिगढले
निर्माण गरेको साँस्कृतिक धरोहर
कुपोषित रोगीझैं
जीर्ण हुँदैछ
फोहोर र प्रदूषित
धूलो र धूवाँले–
यसको कायामा
क्यान्सर प्रवेश गराउँदैछ ।
यो महानगर–
काष्ठमण्डप
सेरो फेरो यसको परिधि
दिनमा सूर्य हेर्न
आँखा च्यात्नु पर्छ
सास फेर्न
नाकमा बूजो कोच्नु पर्छ,
यसका हर्ता कर्ता र भाग्य विधाता
जनप्रतिनिधि
विदेश भ्रमणमा मस्त
कर्मचारी आफैँमा अस्तव्यस्त
छाडा साँढे रे
लुते कुकुरको जमातले
ढाकेको
मेरो यो नगर
महानगर !

Rakesh Karki – Hinda Hindai Chhodna Sakchha (Nepali Gajal)

इन्जिनियर राकेश कार्की – हिँड्दा हिँड्दै छोड्न सक्छ (गजल)

हिड्दा हिड्दै छोड्न सक्छ बाटोमा हिड्नेले
टुना जादू गर्न सक्छ भाटोमा हिड्नेले

ऐस आराम नसाले भुल्न खोजे पनि
भुल्दैन त्यो रगतको टाटोमा हिड्नेले

फेरी उक्काउन सक्छ किचीदिन सक्छ
बिसेक हुने घाउको खाटोमा हिड्नेले

तिम्ले पसिना सिँचेको धरती नै काटेर
बेच्न सक्नेछ स्वार्थी भई माटोमा हिड्नेले

Yatiraj Ajanabee – Aaja Mero Salik Ko Anawaran

यतिराज अजनबी आज मेरो सालिकको अनावरण

मलाई कुनै उदभास थिएन
न थियो कुनै आस नै
समय शेक्स्पियर बन्छ भन्ने
तर थाहा पाऍ जब
म छक्क  परें

म बाँचिरहेंको  थिएँ
नाचिरहेंको  थिएँ
मेरै दुनियाँमा
तर मलाई
विधीका Continue reading “Yatiraj Ajanabee – Aaja Mero Salik Ko Anawaran”

Manoj Kafle (Mansoon) – Sakiyo Jharera Anshu

मनोज काफ्ले मनसुन – सकियो झारेर आँसु

सकियो झारेर आँसु अब रूदा पासको छ
चोटमा दुखेको मन बन्चराले तासेको छ

उसलाई मायाको हाँसो हास्नपनी सिकाएँ
आज उ दिनरात अर्कैको खुसी हासेको छ

उसलाई प्रीतिको फुल गास्नपनी सिकाएँ
आज उ अर्कैलाई फूलमाला गासेको छ

उसलाई दुखामा छातीपनी थाम्न सिकाएँ
आज उ अर्कै संगको छातीमा टासेको छ

जस्ले बाचुन्जेल हसाउने कसमपनि खायो
उसैले आजमेरा अनामोल मोती नासेको छ

मनसुन