Umesh Rai ‘Akinchan’ – Sanghiyata

उमेश राई “अकिञ्चन” – संघियता

शासक
तिमीलाई घडि मनपर्छ वा समय ?

शासक
तिमीलाई फूल चाहिन्छ कि माली ?

भन
तिमीलाई
मेरो कविताको
कस्तो हरफ मनपर्छ ?

तिम्रो अनुहारजस्तो
वा
भोको नाङगो नेपालीजस्तो ?

आहाराको खोजीमा
प्रत्येक बिहान बाँसझ्याङबाट
उडिरहेका बकुल्लाझै
दिनहुँ
तेस्रो विश्वको
पासपोर्ट बोकेर
उडिरहेछन् हजारौं मदनहरू

उस्तै छ कर्णालीको कछाड
उस्तै छ कालापहाड जानेका कहानी

चुनावी नारामा
धेरै पटक सुनियो
उस्तादले गाएको
राष्ट्रवादको गीत

देखियो धेरै–धेरै
काचुली फेर्नेहरूलाई
सिँहदरबार छेउ

हामीलाई मनपर्देन
कालो जुत्तामा उभिएको मान्छे
कालो घोडा चढेको सालिक
अनि
बिरूपाक्ष भन्दा
कुरूप बनाइएको
कालो काठमाडौं

हामीलाई फर्काइदेउ
हाम्रो सानो संसार

हामी तराइको घुङी र सिपीले बाँचौला
हामी पहाडको चण्डि र भैलीमै रमाउला
हामी कर्णालीको कछाड नै लगाउँला

हामी हाम्रै आँगनको फूल बनौला
हामी हाम्रै माटोको माली बनौला ।

Dr. Mohan Prasad Joshi – Ghantilai Swatantra Paren

डा. मोहनप्रसाद जोशी — घाँटीलाई स्वतन्त्र पारेँ

सुट फुकालेँ, टाई फुकालेँ,
घडी फुकालेँ, फोन फालेँ,
खुट्टामा हल्का जुत्ता हालेँ,
ढोका उघारेर हिँडिहालेँ |

सडक र मोटर बाइपास गरेँ,
एउटा गोरेटोमा प्रवेश गरेँ,
लम्केर अगाडि बढ्दै गएँ,
रिङरोड छिचोल्दै पारि गएँ |

हिँड्दै जाँदा अलि टाढा पुगेँ,
रूख, बिरुवा र डाँडा देख्न पुगेँ,
अलिअलि जङ्गल जस्तोमा पुगेँ,
त्यहाँ म हल्का बन्न पुगेँ |

कोलाहल काठमाडौँ पछाडि छाडें,
सहरिया बोझलाई विसर्जित पारेँ,
टाईबिना घाँटीलाई स्वतन्त्र पारेँ,
अलिकति हिँडेर आनन्द उमारेँ |

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)

Mohan Koiarala – Pyaro Pyaro Mero Lobh

मोहन कोइराला – प्यारो प्यारो मेरो लोभ

छुटेको साथीलाई जसले पहिले माया जोर्‍यो,
हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो,
निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो,
कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो-
भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो,
ए प्रशस्त छातीले सुसेल्ने ए ताजा हावाको ताजा डाक्टर
त्यो पहिला दिनको पहिला आविष्कारलाई म लोभ गर्दछु,
प्यार गर्द छु,
सम्झन्छु तिमीले पहिला दिन सिस्नु उसिन्दा मलाई डाकेनौ
म कति रिसाएको छु ।
जसले आफ्नो कहानी एक विराट् गुफाबाट शुरु गरेथ्यो
तँ कति सोझो नरम पाठो जस्तो जङ्गलमा उफ्रेको
ए प्यारो प्यारो मेरो लोभ, मेरो कलाकार
आइज, म तँलाई छातीमा टाँसेर हेर्न चाहान्छु,
मुखमा खरो सूर्ती चुसेर एक पल्ट अब सुसेलेको ।

Abir Khaling – Sambedana Swar

अबिर खालिङ्ग – संवेदना स्वर

मेरा हात खुट्टा काटेर
पर मिल्काईदियौ
र जितें भन्दै
कुटिल हाँसो हाँस्यौ ।
तर मैले जोगाईराखें
मेरो एक मुठ्ठी विरोध … मेरो मुटुमा ।

आँखा फोर्‌यौ /
कान काट्यौ
जिब्रा Continue reading “Abir Khaling – Sambedana Swar”

Mohan Swaroop – Lukayekai Maya Mitho

मोहन स्वरूप – लुकाएकै माया मिठो
(Sent To Sanjaal Corps Via Email)

लुकाएकै माया मिठो देखाएको भन्दा
तर मैले थाहा पाएँ तिम्ले तारा गन्दा

तिम्रो नाम के हो भन्दा नामै छैन भन्यौ
आफ्नै शिर निउँर् याएर औलाहरू बुन्यौ

लजालु त्यो मुहारमा माया देखेँ मैले
मिल्ने साथी भन्छ्यौ अरे पागल भन्थ्यौ पहिले

आजकल तिम्रा मुहारमा श्रृंगार देखिन्छ
नीँदमा पनि बोल्छ्यौ अरे यस्तै सुनिन्छ

रिशाउँछ्यौ कि जस्तो लाग्छ धेरै कुरा भन्दा
तर मैले थाहा पाएँ तिम्ले तारा गन्दा

Tanka Subba – Abhiyan

टंक सुब्बा – अभियान

अहिले हामी अभियानमा छौ
त्यो कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
कुन अभियानमा छौ
वा कस्तो अभियानमा छौ भनेर
तर हरेक मान्छेले
चाहेर होस् या नचाहेर होस्
आफ्नो जिन्दगीको
अभियानमा Continue reading “Tanka Subba – Abhiyan”

Rakesh Karki – Timile Heri Rahyou [Nepali Geet]

इन्जिनियर राकेश कार्की – तिमीले हेरिरह्यौ (गीत)

तिमीले के सोचि हेरिरह्यौ
म गइरहेँ
हवाइजहाजमा आँखा चिम्लदा
तिमी मै भइरहेँ

तिम्रो परेलीमा अडियो थोपा
आँखा भरिएर टिलपिल
फर्कि फर्कि हेर्न नसकि
अहिले रोएँ पिलपिल

तिमीले हाँसेर बिदा दिँदा
मायाले मलाई समाइरह्यौ
तिम्रो मनको घाउ मलाई
सुम्सुमाउन थमाइरह्यौ

फेरि फर्किन्छु चाँडै भनि
म गइरहेँ
सपना बटुल्दै विरानो देशमा
तिमी मै भइरहेँ

Dhanraj Giri – Banna Pugyo Madhuparka Mita Sahitya Ko (Nepali Gajal)

धनराज गिरी – बन्न पुग्यो ‘मधुपर्क’ मित साहित्यको (गजल)
(मधुपर्क माघ, २०६७)

बन्न पुग्यो ‘मधुपर्क’ मित साहित्यको
जानेको छ गर्न यसले हित साहित्यको ।

सिपालु छ पैँचो लिन कण्ठ कोइलीको
हाली भाका गाउने गर्छ गीत साहित्यको ।

थियो कुरुक्षेत्रमय यसको जिन्दगानी
लड्यो धर्मयुद्ध भयो जीत साहित्यको ।

मानवता, राष्ट्रियता बन्यो मूलमन्त्र
सिकाउँछ सारालाई प्रीत साहित्यको ।

गर्छ शोध वाङ्मयको बनी यायावर
हिँड्छ खोजी नयाँनयाँ रीत साहित्यको ।

उज्यालो नै उज्यालोको हुन्छ खेती यहाँ
माग्छ किरण प्रभाकरसित साहित्यको ।

सारा जगत् आफन्त हुन् अक्षरका लागि
हो यो साथी मानिसको कि त साहित्यको ।

सबै रङ अटाउने हाम्रो साझा घर
होइन यो निकेतन पीत साहित्यको ।

चाख्छन् जब भावकले यसको नवै रस
मर्छ, मर्छ, पक्कै मर्छ धीत साहित्यको ।

Biplav Pratik – Jindagi Ra Jindagi

बिप्लव प्रतिक – जिन्दगी र जिन्दगी

म पहिले कल्पना गर्थें
अहिले धुम्धुम्ती सोचिरहन्छु
आँखामा सप्तरङ्गी तस्बिर नाच्दानाच्दै
अब सायद आँखामा एउटा फुलो परेछ, सप्तरङ्गी फुलो ।
जीवनमा आएका वसन्त, शिशिर
वर्षा र हिउँदले मलाई
निरन्तर चोट र प्रहार मात्रै दिएको रहेछ ।
म कुप्रो परेर
बाँकी जीवनका बिस्कुनहरू
समयको लठ्ठीले यताउति पल्टाउँदै जान्छु ।
मौसम प्रतिकूल, ओस लागेको छ
चारैतिरको दुर्गन्धले
फोक्सो सास लिन नसक्ने भएको छ ।
आँखा उठाएर हेर्छु
रगत र मासुका चिथ्ला ढुसी परेर गन्हाएको
चिसो पसलभित्र
पकपकी माटो उप्किने गारोमा खिया लागेको कीला ठोकेर
नाइलनको डोरीमा बगरेले सुकाएको बोसोका पत्रहरूझैँ
जिन्दगी सुक्दै जाँदैछ ।

यहाँ केको सार छ ? निस्सार के हो ?
म घोत्लिरहन्छु, तर जवाफ छैन
हुन सक्छ यसको उत्तर पहिले नै भनिसकियो
र हामीले सुनिसक्यौँ
सके सुनेर पनि याद गरेनौँ ।

८ अगस्ट १९९२, घट्टेकुलो

Bandhu Bikram Kshetri – Fulnechhan Sapanaharu Ek Din

वन्धुविक्रम क्षेत्री – फुल्नेछन् सपनाहरू एक दिन
(मधुपर्क २०६६ भदौ)

सूर्यमुखी फूलले तपतप
आँसु खसाल्ने छैन
बन्दुकको नालसँगै बतासिएर
उड्ने छैनन्, हूलका हूल चराहरू
सुनिनै छैन बस्तीहरूमा
बारुद गर्जिएको आवाज
बेमौसममा फडफडाउने छैनन्
लडाकु विमान र नाइटभिजनहरू
आकाश खुला हुनेछ र शान्त हुनेछ ।
रगत बग्ने छैन पानीझैँ नदीमा
न पानी बग्नेछ रगतमा
लासको दुर्गन्ध बोकेर होइन
सुवासित भएर बहनेछ हावा
तर्सिएर उड्ने छैनन्
पि्रय बचेरा छाडी चराहरू
स्वतन्त्रताको गीत गाइरहेका हुनेछन् ।
स्वःस्फुर्त नाचिरहेका हन्छन् ।
रगतको आहाल जम्ने छैन
बरु निर्मल पानीका सुन्दर कुवाहरू हुनेछन्
बलात्कृत हुने छैनन् चेलीहरू
बेवारिसे बन्ने छैनन् नानीहरू
बस्नुपर्ने छैन नब्बे वर्षे बाबुले
वीस वर्षे छोरोको क्रियाकर्म
रुने छैनन् बाबुको मृत्युको खबर सुनेर पनि
कमाण्डरको आदेशले घर जान नपाएका सैनिकहरू
बस्नुपर्ने छैन कोही आँसुको सागर बनाएर
वर्षौं भेट्न नपाएको पतिको बाटो हेरेर
हाँसिरहेको देशसँगै नाचिरहेका बालकहरू हुनेछन् ।
बिहानी लालीझैँ खेलिरहेका नानीहरू हुनेछन् ।
इतिहासको व्याज खानेहरू पाखा लाग्नेछन्
हुर्कने छैनन् सेता बुकीहरू सयपत्री, मखमलीझैँ
मेरी पि्रया
एकदिन यस्तो आउनेछ
चारैतिर खुसी नै खुसी छाउनेछ
कलङ्कित इतिहास भेट्टाएर
वीर पुर्खाहरूको गौरवगाथा
पढिरहेका हुन्छन् नानीहरू
तिनले बदल्नेछन्- हत्यारो बलात्कारी इतिहास
प्रत्येक सहिद दिवसमा
विजयोत्सव मनाउने छन् मानिसहरू
सहिदहरू पुजिनेछन्
सपनाहरू फुलिरहेका हुनेछन् ।
र एक दिन
हत्याराहरू इतिहासको
कहालिलाग्दो भीरमा मिल्क्याइनेछन् ।

Radha Karki – U Arthat Chhaya Awatar

राधा कार्की – ऊ अर्थात् छाया अवतार
(मधुपर्क २०६६ भदौ)

ऊ अर्थात् छाया-अवतार
थाहा छैन कतिपल्ट उसका प्वाँख उखेलियो
थाहा छैन कतिपल्ट ऊ टुक्राटुक्रा भयो
उसको बगैँचामा
फूलहरू फुल्दछन्, फक्रन्छन्, रमाउँछन्
उसको युद्धमा
ऊ प्रेम र सद्भावले प्रतिद्वन्द्वीको स्वागत गर्छ
उसको सगरमाथामा
आफ्नै गौरवको झण्डा फरफराउँछ
ऊ आफैँमा साहसको पथ-प्रदर्शक बन्दैछ
उसले समरभूमिमा ‘हामी’ बोकेको छ
उसलाई नजिकबाट हेर्छु म
नजिकबाट टाढा पुर्यारउन मन लाग्छ
मैले सम्बोधन गर्ने नाम
पि्रय नाम
उसको बाटो आकाशजस्तै भएको छ
ऊ थुप्रैपल्ट टुक्रिँदै/जोडिँदै/जोडिँदै/टुक्रिँदै
लडिरहेछ
र समयलाई गहिरो स्पर्श गरिरहेछ
अदृश्य
आकारबिहीन बनेर
मेरो निराकार पीडामा

-इलाम

Prakash Thamsuhang – Thotro Cycle

प्रकाश थाम्सुहाङ – थोत्रो साइकल

अचेल
अनवरत बिहानी
अलार्म घडीको किरिङ-किरिङ
बलजफ्ती निद्राबाट जाग्छु
अनि ठीक पार्छु मेरो थोत्रो साइकल
जानैपर्छ मैले
निरर्थक काममा

यो समय
ऐरावत चढ्ने बेला
यो उमेर
इफेल टावर चढ्ने बेला
कुन्नि झ् कस्तो नियति मेरो –
अविराम थोत्रो साइकल चढिरहेछु

विशाल कालो सर्पजस्तो
लमतन्न परेर सुतेको सडक
मेरो थोत्रो साइकलको ख्याट-ख्याटमा
ब्यतिन्छ एक्कासी
अनि आफ्नो मुख बाउँछ मलाई निल्नलाई
बस्, म निलिँदै जान्छु भित्रभित्र सडकको उदरसम्म
हो झ् अनि म पुग्छु चिहानमा
सारा एषणाहरू रित्तिएको म
उभिदिन्छु भावहीन ठिङ्ग
अचेल म चिहान कुरूवा भएको छु
कस्तो अचम्मको चिहान हो यो
दिउँसै पनि भित्र बाहिर गर्छन्
काला सेता करवीर मसानहरू
अनि, कुन्नि झ् केले अभिसंचालित म
ओठमा अनृत मुस्कान छर्दै भन्छु
सलाम आलेकुम
छि ! चिहान कुरूवा म
छि ! मसानहरूको चाटुकार म
यसर्थ बिरामी म
ऐ फेदाङमा ! मेरो सातो बोलाइदेउ है
अचेल सातो हराएको छ मेरो

त्यसैले त
धारे हात लगाउन सक्दिन मेरो नियतिलाई
मेरो नियति कोर्ने समाजलाई अथवा शासकलाई
साँच्ची सातो हराएको छ मेरो
त्यसैले त
फोर्न सक्दिन ग्रेटवाल जो मेरो सपनाको बाधा बनेको छ
रोक्न सक्दिन मेरो आवाजहरूले
अनगिन्ती चिहान कुरूवा बन्न ओइरिनेहरूलाई

अहर्निश साँझ
रङ्गहीन, फुस्रो परिक्लान्त म
फर्किन्छु कोठा उही थोत्रो साइकलमा
भोलिको पुनरावृत्तिको निम्ति मनस्थिति तयार बनाउँदै ।

Mohan Banjade – Kura Ka Kura

मोहन बन्जाडे – कुराका कुरा

मन्दिरको जग भित्रभित्रै भत्काएर
बाहिर बाहिर गरेका गजुरका कुरा
देउता छोडी आफ्नै पूजा गराउन खोज्ने
पूराना हजूरका कुरा

हुन्छ हजूर हस् हजूर भन्नेलाई थापना गरेर
योग्यताको कदर गरेको गुड्डी हाक्ने कुरा
खुद्रा इमान्दारीको विज्ञापन गरेर
थोकमा न्याय बेच्नेहरुका कुरा

रित्तो थैलो बोकेर दाताको दैलो कुर्नेका
स्वाभिमानका कुरा
अरुका एजेन्डा नै सधै “निष्कर्ष” निकाल्ने
दाताजिवीका अनुसन्धान कुरा

कुरोको चुरो छिनाल्न पराई पाउमा विसर्जित हुनेले
उज्यालो भएपछि गरेका देशभक्तिका कुरा
कित्ता कित्तामा बाँडेर नागरिकलाई
गरिदै गरेका राष्ट्रिय एकताका कुरा

आफ्नो सभ्यता समाप्त पार्न आएकासंग
लिदै गरेका कुण्ठा – मन्त्रणाका कुरा
पूर्वजको स्वाभिमानको सत्तो सराप गरेर
इतिहासको अभिमान गरेका कुरा

यताका कुरालाई ठेगान लगाउने उताका कुरा
उताका कुरालाई ठेगाना सुम्पने यताका कुरा
कुरै कुरामा अल्मलाएर
सन्तति विरुद्ध सिंगौरी खेल्नेका कुरा

कुरो बुझेर पनि बुझ पचाएका कुरा
कुरा गरे जस्तो गरी कुरो लुकाएका कुरा
कुरै नबुझी कुरा लगाएका कुरा
कुरा कुरेर जीन्दगी बिताएका कुरा

अचेल छ्यापछ्याप्ती छन् _
मान्छे बाँड्ने कुरा , मान्छे भाँड्ने कुरा
आँखा टोलाएर सुन्न खोज्दै छिन् आमा –
हामीले हामी भएर गर्ने हाम्रा कुरा |

Abir Khaling – Euta Sketch

अबीर खालिङ – एउटा स्केच

वर्तमान को त्रासद जङलबाट
अक्षरको वीर्य खोजेर ल्याएको छु
रोप्छु अब तिम्रा आँखाका
कचौरामा ।

अभिशप्त मान्छेका मन मस्तिष्कबाट
उठेको छ मुँस्लो धुँवाँको
र विचारको बगदाद ढकिएको छ ।
फाटेको तन्नामा परिवर्त्तित् छ सोंच
तुहिनुमा उद्द्यतशील सधैं।

भोकग्रस्त आकाशबाट घाम तुहेको छ
संकटको छातामा ओत थापेर
हिडिरहेछन महाजुलुस।
शताब्दी-स्वरको चट्याङ खसेको छ
रुख्-रुखमा ।
उर्लेको छ वेमौसामको वादी
खुशीको गीत गाउँने चराको वस्तीमा।

यसबेला
हातमा क्यामेरा लिएर
खिँच्न खोज्दैछु एउटा तस्वीर
तिम्रो,मेरो, हामी दुवैको
यसो भनौं
हामी सबैको हाँसिरहेको अनुहारको।

Prakash Gautam – Beshya Ra Loktantra

प्रकाश गौतम – बेश्या र लोकतन्त्र

थाहा छ ?
सुन्दरीको इच्छा हुनुपर्छ,
उ एक निमेशमा
मात्र एक निमेशमा
सफल बेश्या हुन सक्छे ।
समाजमा तुहिन सक्छे,
परिवारमा चुहिन सक्छे ।
बैँशको तिक्ष्ण कटाक्षले
मोहनिमा Continue reading “Prakash Gautam – Beshya Ra Loktantra”

Acharya Prabha – Samarpan

आचार्य प्रभा – समर्पण

म पहाड उक्लेर
समतल नियाल्ने मान्छे
म पहाडको उचाइमा
अभिमानी बन्न सक्दिन
र समतलको होँचाइमा
उसलाई बिर्सन सक्दिन
किनकि पहाडको
स्वाभिमान बढ्नु भनेको नै
समतल भुइँमा लमतन्न परिदिनु Continue reading “Acharya Prabha – Samarpan”

Niroj – Dasee

निरोज – दसी

उज्यालो दिने निहुँमा
सल्काएर छोडे पछि
डढेलो लागेको आफ्नै आसमा
भत्कीदै गरेको विश्वास च्याँपेर
अन्धकार रात बाँची रहदा
झस्क्याईदिन्छ र पो त
नुन चुक छरिन्छ घाउमा
तिम्रै यादको एैठनले
झकाउन खोज्छु जति पटक म ।

तिमी भन्छ्यौ — म ढुङ्गा हूँ
र म त्यही ढुङ्गा प्रमको
ढुङ्गे अक्करमा सपनाको
जोड घटाउ गरीरहेछु
आधी बाँचेर आसमा
आधी मरेर निरासामा ।

यादले नसताउने तिमीलाई
तिम्रो प्रमको प्रवासमा
शरणार्थी मिल्काइएको
अधमरो लासमा
मेरो जिन्दगी खुम्चीएको छ
र सोझै मुटुमा
तिमीले हानेको तिर
दसी बोकेर स्मृतिमा
एक हातले
भलभल्ती बगेको रगत थामीरहदा
अर्को हातले कागज खोप्दै छु — प्रियतमा
मुटु भित्रको तिम्रो तस्वीरलाई
सुरक्षित स्थनान्तरण गर्न ।

यहाँ रहर बाँचेर
प्रहर कटाउने
मात्रै अल्झेको छु नियतिमा यतिखेर
जबकी प्रत्येक पल्ट बजाईदिदा
घण्टी तिमीले निषेधको
झर्न विवश हुन्छु सुकेको पात झै
र कुनै बेला
डिलमा तिम्रो परेलीको
तप्कीएका आँशु सम्झदा — सम्भावानामा
चढ्दै हुन्छु आकासमा
मेरो जून भेट्न
तर फेरि हठात्
उडाइन्छु कता कता
उहि झर्नु र चढ्नुको
विवश विवश यात्रा
न अङ्गालोमा जून छ
न विश्राममा आधार छ
फगत् सुकेको पात बाँचेको छु ।

भरथेग
कसैको उँधारो आश्वासनले
चल्छ र कतिञ्जेल ?
जबकी सुनामी हलचलमा म छु
कारण उपेक्षाको लहरमा
आफैलाई अर्पिसक्दा पनि
तिम्रा सुन्दर आँखीभौँ मूनि — मैले कोरेका
धेरै सुन्दर सपनाहरु छन्
फक्रिदै गरेको गुलाफको
गुच्छासँग साट्न बाँकी ।

पात्रोमा त पूर्णिमा अंङ्कित छ
तर कसरी बोलाउन सक्छु म तिमीलाई
आफै अन्धकार अनुभव गरिरहदा
बिझेर काँडा पाइतालामा
बग्न सक्छ भेल रगतको
जति बगाउनु बगाई सकेर मैले नै
तिरीसकेको छु भार जगत्को
भो तिमी तिमै्र सँघारमा बस
म तड्पी तड्पी
आफ्नै प्यारमा मर्छु ।

प्रियतमा
मैले टोलाएको क्षितिज पल्तीर
तिम्रो शहरमा
कुनै बेला मैले फेरेमो श्वासमा पनि
प्रेम छोडेको थिए
भन अब कसरी
फिर्ता लिन सक्छु म त्यो श्वास ?

कुनै रङ्गहरुको संयोजनले
नसमेट्दा तिम्रो मुहारको आभा
हतास हतास छु
निरास निरास छु
क्यानभासमा
मुस्कुराईरहदा पनि तिमी
आफ्नै ओठहरुको डोब
नभेट्दा तिम्रा गालाहरुमा ।

अनुभव — जो सँगालेको थिए
यात्राहरुमा
गर्यौ र पो त इन्कार
राख्न आफ्नै पोल्टामा
बग्यो पानी सँगै
पुल मूनि नारायणीमा
तर जतन गरेर राखेको छु
मुटु भरिको माया तिमीलाई
अस्वीकृत प्रेम जमानामा पनि
त्यसैले त भन्छु
चुपचाप निदाउ
भरे आउनेछु सपनीमा
गुलाफको गुच्छा लिएर
तिमीलाई फेरि पनि
जनाउ दिन प्रेमको ।

आफ्नै निष्ठामा अतिक्रमण गराउन
बित्थ्यामा शँङ्काहरु ओरालेर
थाहा छैन किन सोध्दै छु प्रश्नहरु —
कहाँ ? कसरी ? कोसित ?
बिताउदै छौ बैशका कौमूदी रातहरु ।

समय यतिखेर
मै उभिएको विन्दुबाट
प्रस्थान गर्न खोज्दैछ
आँधी, हुरी, भेल, बाढी
सबै सबै अङ्गालेर
र मलाई बाँधेको समय
शून्यतामा टक्क अडिएको छ
जनाउँ दिन शून्य समयको ।

मलाई थाहा छ
यो — हुरी समय
— आँधी समय
— भेल समय
— बाढी समय
एकै छिन पछि
भत्काउन उध्त हुनेछ
किनार उभिएको मलाई
तै पनि शून्य समयको
कोलाहल मस्तिष्कबाट
निकाली छोडीराखेको छु
दसी मेरो प्रेमको ।

देउराली—३, नवलपरासी

Ratna Shamsher Thapa – Andhakar Fissa Hanschha

रत्नशमशेर थापा – अन्धकार फिस्स हाँस्छ

अस्पतालको सस्तो खालको
ह्वास्स केही-केही गह्नाउने
आङ्गै सिरिंग गराउने
एउटा कोठामा
दिउँसै रात पर्छ
अन्धकार फिस्स हाँस्छ ।

प्यासाले तृप्ति माग्छ
पर कुखुरा बास्छ
नाडी सजाउने चुराको
एक टुक्रा लाचार भई
भूइँमा फ्यात्त झर्छ
अन्धकार फिस्स हाँस्छ ।

एउटा फूल सड्छ
एउटा भूल गड्छ
जन्माई हुर्काउने
टन्टा झन्झट सबै
एकै पल्ट मर्छ
अन्धकार फिस्स हाँस्छ ।
फेरि अन्धकार फिस्स हाँस्छ ।

Kapil Anjan – U Runu Yes Paali Rahechha (Nepali Gajal)

कपिल अन्जान – ऊ रुनु यसपाली रहेछ (गजल)

ऊ रुनु यसपाली रहेछ
भन्थ्यो संसार जाली रहेछ

मैले मुटु धुन सकिन
भनेर घाउ पखाली रहेछ

पाएछ माया गरेको फल
छातीमा आगो बाली रहेछ

मेरो मनले मान्न सकेन
सबैले Continue reading “Kapil Anjan – U Runu Yes Paali Rahechha (Nepali Gajal)”

Rambikram Thapa – Ankha

रामविक्रम थापा – आँखा
(मधुपर्क २०६६ माघ)

संसार देख्ने रमिता हजार
यो ज्योति आँखा सबको छ सार
सौन्दर्य हेने नयननाभिराम
सानो छ हेर्दा कति धेर काम

लेख्ने र पढ्ने हतियार हाम्रो
देखाउने यो मतियार राम्रो
राम्रो, नराम्रो सबमा छ दृष्टि
हेरेर भन्दै नवभाव सृष्टि

यो ज्ञानदाता र अनेक भाका
यो प्रेमदाता रसिलो छ भाषा
राम्रो र मीठो नयनी इसारा
स्वभाव पोख्ने कतिको सहारा

जो नेत्रवाणी मुखले नभन्दा
त्यो भाव राम्रो अझ शब्द भन्दा
ढोका खुलायो मनको महान्
नेत्रास्त्र सानो, हचुवा नठान

-बालकन्या उमावि फाक्टाङ-२, खोटाङ