Bibek Dulal Chhetri ‘Damak’ – U Napadhiyeko Pustak Ko Akshar Ho

विवेक दुलाल क्षेत्री “दमक” – उ नपढ़िएको पुस्तकको अक्षर हो

उ नपढिएको पुस्तकको अक्षर हो
जुन अक्षरको न कुनै अर्थ छ
न कुनै बजार .

अक्षरहरूको बर्ग हुदैन
र पनि पुस्तकको घना जंगलमा
उसको आधारशिला
बर्गीय जरूर हुन्छ
यात्रा गर्दै
अंतर्बर्गीय बाटोमा हिड्छ अक्षर
र सर्बमान्य विचार बन्छ .

र त्यस्ता विचारहरूको
न अहिले समाज खोजि गर्छ
न उत्थान नै
र तिनै हराइएका अर्थको
खोजि गर्ने
उ सानो कण हो .

अक्षर अरूको भाषामा
लेखिनु भन्दा
आफ्नै भाषामा लेखिनु बेश
उ धेरैको यस्तो विचार सितै
सहमती जनाउछ
र प्रश्न गर्छ –
“हाम्रो भाषा कमजोर भन्ने आधार के ?”

आफ्नो पहिचान खोज्ने
आफैलाई पहिल्याउने
शिम्फोनी गतिमा
सल्बलाउदैछन् अहिले
स साना शब्दहरू
तिनै शब्दहरूमा मिसिएको
उ सानो कद हो .

हो जबर्जस्ती पर्नु पर्दैन
अरूको आखामा
र हार्ने छैन कहिल्यै कर्तव्यमा
यस्तै शोच भएकाहरूको मथिंगलमा
अनुभुतीको उ सानो फिलिंगो हो .

उ नपढ़िएको पुस्तकको अक्षर हो
जुन अक्षरको न कुनै अर्थ छ
न कुनै बजार .

अस्तु :
दमक ,झापा
हाल : अबुधाबी ,यू ए ई .