अबिर खालिङ्ग – संवेदना स्वर
मेरा हात खुट्टा काटेर
पर मिल्काईदियौ
र जितें भन्दै
कुटिल हाँसो हाँस्यौ ।
तर मैले जोगाईराखें
मेरो एक मुठ्ठी विरोध … मेरो मुटुमा ।
आँखा फोर्यौ /
कान काट्यौ
जिब्रा थुत्यौ र
अराजकताका गीत गाउँदै हिँड्यौ ।
मेरा आँसुका थोपाहरुबाट
स्वीमिङ पूल बनायौ र आनन्दको विहार रच्यौ ।
रगत पिएर
चियाको स्वाद मार्यौ ।
हैकमवादको जुत्ता लाएर
मेरो छातीमा मार्चपास्ट खेल्यौ ।
संवेदनाको सानो स्वरलाई सुन्न सकेनौ
र रोक्न सकेनौ त्यसलाई ।
विरोधको स्वर निकाल्दै
म जन्मिएँ कवितामा
मार्न सक्छौ … मार मलाई ।