Chhabiraman Silwal – Yatra Ka Yatri

छविरमण सिलवाल – यात्राका यात्री

आऊ
हामी यात्रामा छौं
यस यात्रामा
तिम्रो पनि साथ चाहिन्छ
उनको पनि साथ चाहिन्छ
गरिब, पीडित
विधवाहरूको
गहिरो घाउ निको पार्न
हामी सबैको साथ चाहिन्छ
**
यात्राका हामी यात्रीहरू
सिर्जनाका गोली बोकेका छौँ
कागजमा उतारेका नीति–नियमहरू
सिंहदरबारका पटाङ्गिणीमा
सीमित नहोस् भन्ने चाहन्छौँ
उहिले–उहिलेका
नीति नियम जस्तै
सिंहदरबारका पटाङ्गिनीमा
नकुहियोस् भन्ने चाहन्छौँ
र नीति नियमहरू
व्यवहारिक होस् भन्ने चाहन्छौँ
नीति–नियमले
गाउँ–गाउँ घुमोस् भन्ने चाहन्छौँ ।
**
धनी र गरिब बीचको
खाडल पुरेको हेर्न चाहन्छाँै
हुने र नहुनेका बीचको
खाडल भरेको हेर्न चाहन्छौँ
न्याय र अन्याय बीचको
खाडलको दुरी कम भएको
हेर्न चाहन्छौँ ।
**
हो हामी आँखा देख्छौँ
तर अन्धो बनाइएका थियौँ
अब
त्यो अन्धोपन हटेको देख्न चाहन्छौं
सावधान !
अझै पनि यहाँ निरङ्कुशता
सल्बलाउन सक्छ
त्यसैले हामी सजग रहनु पर्छ
निस्वार्थरूपमा अघि बढ्नु पर्छ
हो,
एक्लो यात्रीले सम्भव छैन
त्यसैले यो यात्रामा
सबै सबैको
न्यानो साथ चाहिएको छ ।