Pratima KC – Hareko Sapana

प्रतिमा के.सी. – हारेको सपना

हर रात मेरो सपनामा
अनगिन्ती बालिकाहरु
बामे सर्दै आउँछन
र भन्ने गर्छन
हाम्रो बालअधिकार खोई ?
भेदभाब रहितको बातावरण खोई ?
डाक्टर ईन्जीनियर बनाउने सपना खोई ?
भन्दै तोते बोलीमा प्रश्न गर्छन
अनि म माथी आक्रमण गर्छन
मलाई पिट्छन् टोक्छन् र लुच्छन
न्यानो संरक्षणको अभावमा
रुन कराउन थाल्छन
म चुपचाप हेरी रहन्छु /
हर रात मेरा सपनामा
असंख्य युबतीहरु
केहि हराए झैँ अलिकति डराए झैँ
ठिंग उभिन्छन र भन्छन्
हाम्रो इज्जत खोई? हाम्रो समानता खोई?
बेचिनु पर्ने हाम्रो जीबनको मुल्य खोई?
उनीहरु पनि म माथि आक्रमण गर्छन्
म नतमस्तक उभिइरहन्छु /
हर रात मेरा सपनामा
आधा आकाश र आधा धर्तीको भार थाम्ने
अधबैँसे नारीहरु र जीवनलाई सकी नसकी
थेगीरहेका बृद्धा आमाहरु मलाई घेरा हाल्छन र सोध्छन
महिला अधिकार खोई ?
जन्मदेखि मृत्यु बिचमा भौतिक र मानसिक रुपमा
हेरक क्षणमा बलात्कृत हुनुपर्ने
अवसर गुमाउनु पर्ने
दोस्रो दर्जामा गनिनु पर्ने
पुस्तौदेखि यस्तै अपहेलित हुदै काटिरहेका पिडाहरुलाई
मेरो आगनमा पक्छ्याल्तै पोख्छन्
रुन्छन्, कराउछन् र भन्छन्
हामी कहिले मानव भएर जिउने?
मैले उनीहरुका यी कारुणिक पीडालाई
टिप्न सक्दिन , बोल्न सक्दिन र मसंग उत्तर पनि छैन
म पनि यही लडाई लडिरहेकै छु
त्यसैले,
मैले मेरा हर सपनामा
हारेको अनुभव गर्छु
मैले हारेको सपना
हर रात देख्ने गर्छु /

८ जनवरी २०११
बेलायत

(Sent to Sanjaal Corps via Email)