Manju Marmika – Man Bhitra Ko Sambedanama

मञ्जु मार्मिका – मन भित्रको संवेदनामा

आगो बलिरहेको छ
हरेक पलपलमा
आगोका ज्वालाहरु पिइरहन्छु
म क्षणक्षणमा
हरितालिका
साच्चै तीज भएर आउनु छ भने
शान्तिको राको बालेर आउ
पिडाको आघातले फुटन
बाँकि मुटुहरुलाई जोगाउन
भोका पेटहरुको
भोक मेटाउन
न कि संस्कारको नाममा
खाली पेट बसाउन
चुहाउँदैछन मोतीका दाना दिनरात
बर्सिन्छन् आफसेआप चट्टानको चुहावटसरी
भीरहरुमा
कसरी टिप्न सक्छन र ?
श्रमका दाना टिप्नेहरुको भीडबाट
अहँ टिप्न सकेनन अझैपनि
तर लिन्छन पोल्टाभरि सान्त्वनाका पोकाहरु
बोकेर रुन्छन थुनेर कोठाहरु ।
दिनेहरुले दिए भन्दैमा नलेउ भो
हाम्रै मन कठोर बन्नु पर्छ
मुत्यु पर्यन्त पनि छुरा धस्नेहरु
मेरो लासमाथि रजाई गर्न मनाही छ
बौलाहा कुकुरले साप्रो च्यापे झैँ
नच्याप यी मनहरुलाई
पागलपनको पहिचान बोकेर
जिस्काउन मनाही छ
पृथक मनहरुलाई उदाङगो पार्न सक्दैनौ ।
हावा सुस्त छ, सूर्य चुस्त छ
यिनैलाई साक्षी राखेर
युद्ध भन्दा डरलाग्दो जिन्दगीको
कहानी भोगेकी छौ तिमीले
फलामसँग रातदिन युद्ध लडेकी छौ ।
आखिर जीत त तिम्रै भएको छ नि ।
तर अझै जिस्काइरहन्छन ती आडम्बर
तिम्रा मोतीका दाना खोस्नेहरु ।
निस्फिक्री सन्त्रासको पिरो
धुवाँमय आकाशमा उड्नु छ
प्रवाह नगरी धुवाँको
झर्नु अझै तल
बरु परु आगोमा
म त
आशा राख्दिन कसैको शुभकामनाको
माग्दिन भिक्षा कोहीसँग
बरु पौडिरहन्छु संघर्षाका डुंगा चलाएर
रुन्न भौकै मन जलाएर
बलिरहेको आगोमा बरु पेट्रोल थप्न
आउ जीवनलाई जिवन्तता दिनु भने
अनि हराउ
तिमीले फलाएका मोति टिप्नेहरुलाई
जिउँदोमा मात्र नपुगेर
मृत्यु पर्यन्त पनि शरीर चुस्नेहरुलाई ।