Siddhicharan Shrestha – Ma Bahula Hoina


सिद्धिचरण श्रेष्ठ – म बहुला होइन

आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।

मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।

मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु;
पेट छ खान पाऊँ भन्छु,

नाङ्गो भएर कोही नहिँडोस् भन्छु;
आवाज कानले सुन्न पाओस् भन्छु;

बिचारलाई बोलीमा उतार्न पाओस् भन्छु;
यत्तिकैमा पनि तिनीहरू

मलाई बहुला भन्छन्,
आमा, म बहुला होइन ।