Bikram Kangbha – Shalik

विक्रम काङभा – शालिक

भो अब, तिमी ढल्नु पर्छ ।
खियाले जिर्ण तिम्रा स्तम्भहरु
तिम्रो धरोहर थाम्न काबिल छैनन ।

मान्छेहरु
जो माथि टेकिएर
तिमी ठडिएका छौ
तर जसको रक्षा गर्न
तिम्रा डुडां हातहरु सक्षम छैन्न ।
त्यसैले, शालिक ।
तिमी अब ढल्नु पर्छ ।

तिम्रा आखांहरु
जो रोशनी गुमाएर अन्धो छन् ।
त्यसैले तिमी अब तिम्रो दृष्टि भ्रममा नपर,

तिम्रा चेतनाहरु
जो जडतामा विवेक शुन्य छन् ।
तिम्रो सिङ्गो शरिर
छिया छिया भएर
प्राण बिहिन छ र मात्र तिमी
ठिङ्ग उभिएका छौ ।

अब, कुनै पनि बहानामा
शालिक, तिमी ठडिन हुन्न ।

इतिहासमा,
धेरै शक्तीशाली शालिकहरु ढलिसके
राजा- महाराजाका, बादशाहका, तानाशाहका ।
त्यसैले, शालिक ! तिमी अब ढल्नु पर्छ ।

न इतिहासले तिमीलाई टेका लगाऊन सक्छ
ना बलि चढाएर तिम्रो आयु लम्बिन सक्छ ।
किनकी, मन्दिरहरुमा अब तिम्रा
भग्वानहरु छैनन ।
त्यसैले-
भो शालिक, अब तिमी ढल्नु पर्छ ।

किनकी, मान्छे अब
आफ्नै बलि दिएर
तिम्रो शालिक ठड्याउन मन्जुर छैनन ।

र अब, तिम्रो ठाउँमा
अर्कै एउटा नयां शालिक
ठड्याउनु छ ।

One thought on “Bikram Kangbha – Shalik”

Comments are closed.