Bimal Nibha – Thaal

सुरक्षित राख्नोस्
यो थाललाई
यही आशय हो मेरो
दिदी र बहिनीहरु
यसको विषयमा सोच्न थाल्नोस्
अहिलेदेखि नै
(जतिसक्दो छिटो)
हामीसँग त्यति समय छैन
पुर्खाहरुका अथक हाडको धुलो
यहाँ छ
र असङ्ख्य गोपनीय प्रेम पनि
याद राख्नोस्
यो सामूहिक इच्छाहरुको
निरन्तरता हो
इतिहासका लेखकहरु !
नोट गर्नोस्
म यो थाल
आफ्नो छोरालाई
उसको तीन करोड सात लाख वर्षको
जन्मदिनको उपलक्ष्यमा
उपहारमा दिन चाहन्छु
मलाई थाहा छ
यसको समाप्तिका लागि
सक्रिय छन् केही पेशेवर बधिकहरु
सजग रहनोस् त्यसैले
मेरा समकालीन बन्धुहरु
एकदम सतर्क र तयार
हुनसक्छ,
यही थालका लागि
अन्तिम युद्ध लड्नु परोस्
(२०५२)