सूर्जे भाइ
ए, सूर्जे भाइ
तपाईले थाहा पाउनु भयो?
मंगललाल चौधरीलाई त मारेछन नि !
आजै, भर्खरै मात्र ।
तपाईँलाई थाहा छैन होला उसको कथा –
ऊ रुग्ण थियो -कहिल्यै प्रतिवाद गरेन
ऊ जीर्ण थियो -कहिल्यै माथि उठ्न सकेन
ऊ कङ्गाल थियो -कहिल्यै दूई छाक खाएन
ऊ अवाक थियो -कहिल्यै विरोधमा बोलेन
बरु, हरेक दिन सडक पेटीमा बस्थ्यो
आशा पोख्थ्यो
र, साँझ परेपछि
सकि-नसकी आफ्नो झुपडी फर्कन्थ्यो
एक्लै- एक्लै ।
“ए हमार छिये…… ”
इन्द्रकाजीको जमीन देखाउदै कराउथ्यो ऊ
यो मेरो हो
मलाई धोका दियो र जमीन लग्यो,
सँधै बर्बराउथ्यो ऊ
हो, सूर्जे भाइ
ऊ सोझो थियो -उसलाई धेरैले हेपे
ऊ निरक्षर थियो -उसलाई कैयौंले ठगे
ऊ निराधार थियो -धेरैले लुटे
देख्ने-सुन्नेहरु भन्थे
जीवनमा ऊ धेरै रोएको छ
धेरै पीलिएको छ
त्यसैले त हरेक रात खटियामा पल्टिएर
ऊ आकाश हेर्थ्यो र गुन्गुनाउँथ्यो
“बरष ओ भगवन बरष, हमर उपर बरष…..!”
एक्लै, फेरि एक्लै ।
थाह छ सूर्जे भाइ.
जब ऊ बलियो थियो
धेरैले उसलाई “काका” भनेर धान कटाए
कैयौले उसलाई “दाजु” भनेर बारी खनाए
उसले भारी बोक्यो,
हलो जत्यो,
कोदालो खन्यो
र, धेरै-धेरै पसिना बगायो अरुको लागि
तर जब ऊ थला पर्यो
सबै तर्किए
सबै झर्किए
र, एक्लै, नितान्त एक्लै
सकिनसकी रोगसँग दुखिरह्यो ऊ ।
तर आज…..
उफ ! कसरी भनौ म सूर्जे भाइ……
……आधारभूत भनाउँदो देशमा निराधारको घाँटी रेटिएको कथा !
शिक्षित कहलिँदो समाजमा अशिक्षितको हत्याको ब्यथा !!
कति कहाली लाग्दो परिस्थिति !
कस्तो विभत्समयी ताण्डव !
म, आज फेरि दुखेको छु मंगललालको कथामा
म, पीडिएको छु गरिबीको व्यथामा
एकपटक फेरि सोचमग्न हुँदै मेरो देशको अवस्थाप्रति
सुनाउँदैछु तपाईंलाई विद्ममान यो यथास्थिति ।
सूर्जे भाइ
ए, सूर्जे भाइ
तपाईले थाहा पाउनु भयो?
मंगललाल चौधरीलाई त मारेछन नि !
आजै, भर्खरै मात्र ।