Dr. Madhu Madhurya – Bighathan Ra Arambha Manyata Haru Ko

बगरमा भेटिएको बान्किलो लाम्चो ढुङ्गो –
येतिखेर दोबाटोको चौतारीमा विराजमान छ
बटुवाहरु आउँछन् चढाउँछन्
फूल, स्याउला, चन्दन र फलफूल
हुने खानेले चढाउँछन्
बोका, भाले र भेंडाहरू !

मेरो एउटा सपनीमा
बनदेवी रिसाउनु भयो –
अनिस्ठ पठाउँछु भन्नु भयो
कसले कुरा लाएछ कुन्नि !
मसंग सारै असन्तुष्ट छु भन्नु भयो

जताततै चाकडी मात्र चाहिने
चाकडीको अभावमा –
भगवान भगवान असन्तुष्ट
मान्छे मान्छे असन्तुष्ट
अर्थात्
आफ्नै आविस्कारहरु असन्तुष्ट
चाकडीको बस्तीमा-
सल्बलाए धेरै अनुहारहरु
उचाईमाथिको उचाई नपुगेर हो कि !
मानौ सबै केहि कुरेर बसिरहेका छन्

कार्यक्रम भगवानबाटै शुरु गरें :
झिसमिसे मै चौतारीको ढुङ्गोलाइ
पुरानै बगरमा फर्काइ दिएँ –
एउटा स्वप्न – आतंक रोकियो
चौतरीमा पशु-रक्तप्रवाह रोकियो
हजारौं फूलहरु अन्धाधुन्ध चुडालिएनन्

अल्फा र ओमेगाहरु शान्त होउन्
शान्त होउन् अल्फा र ओमेगाहरु
होउन् शान्त अल्फा र ओमेगाहरु

अब अर्को स्वप्न – आतंक बाँकि छ:
नेपाल सिमानाहरुमै हराईरहेको
देश बिनाको नागरिकता र राहदानी लिएर
केहि पृथ्वीबासीहरु छटपटाईरहेको
अप्रिय दृश्यहरु….
सपना पनि नहोस यस्तो त !!!

चोर, फटाहा र नामर्दहरुलाई लिस्नु चढाएर
देशको सत्ता र आफ्नो अस्तित्व सुम्पेको
दिनको याद आइरहेछ
कुर्सिधारी “दास” हरुकोलागि
गन्तब्य खोज्न
दिन दहाडै

मान्छेको भीडबाट
निस्कीरहको छु

एउटा स्वतन्त्रता
नेपालीको अनुहार देखाएर खुलेआम नेपाल बेच्नेहरुबाट
मुक्ति मागी रहेछ
मन्जुश्रीको तरवारको धारमाथि
अन्तिम आस्था र विश्वास संगालेर !

आफ्नै आविस्कार बिरुद्दको युद्धमा
आविस्कारहरु
देश बिरुद्ध
गोहीको आँशु
तप तप चुहाउदै
गुहार मागिरहेछन्

उनीहरुकोलागी
अन्तिम गन्तब्य खोजिरहेछु
बनदेवीलाइ बगर जस्तै

अल्फा र ओमेगाहरु शान्त होउन् !

दोलखा, हाल: मस्को, रसिया