शरण आँसु – मनको गीत
म चराहरुको भाषा
सिकिरहेथें –
रनवन घुमेर
मलाई त्यो वन छाडेर आउने मन
छँदै थिएन
म मेरो
प्रेमोत्सर्ग वीच
परमप्रिय सपना
देखिरहेथें
मलाई त्यो सपनाबाट ब्युँझिने
मन थिएन
छातीको बगरमा
आस्थाको मौलो गाडेर
बस्, म एउटा सिसिफस
तीर्खाको उकालो
चढिरहेथें
मलाई
त्यहींबाट फर्केर
ओरालो झर्ने मन
छंदै थिएन
मेरो मन उडाउने
हावाका
झोक्काहरुमा –
म एउटा कविताको आतंक
रोपिरहेथें
मलाई त्यो परिवेशको
पर्दा उठाउने
मन थिएन
अँध्यारोको साम्राज्य
ध्वस्त पार्न
म एउटा टुकी बालेर
हिंडिरहेथें
मलाई त्यो उज्यालो
छाडेर आउने मन
लागेको थिएन
म मात्र प्यास
बगिरहेथें
मलाई
तिम्रो अनुहारको नदीमा
एकछिन नडुबी-
यहाँसम्म आउने
मन थिएन
आउने मन थिएन –
मनको गीत
लेखेर नभ्याउँदै ।