Bibek Dulal Chhetri ‘Damak’ – Yathartha Ra Naya Barsha

विवेक दुलाल क्षेत्री “दमक” – यथार्थ र नयाबर्ष

नयाँ केही छैन,
उस्तै छ जागर
उस्तै छ सपना
उस्तै छ बचाइको अर्थ ।

महंगी,
छलकपट
अहंकार
सबै उस्तै छ ।

सडकको पेटी उस्तै छ
सानीको भट्टी उस्तै छ
बिदेशिनेहरूको कलेटी अनुहार उस्तै छ
डलर कमाउनेहरूको अँध्यारो शहर उस्तै छ ।

चर्केको पार्टी जस्तै बिद्यालय जीर्ण छ
अस्पातलको पहुच बाहिरकी सुत्केरी झैँ अस्पताल बिरामी छ
आस्वासन मात्र बोकेको नेता झैँ सु ब्यबस्थाको पुरानै ताल छ
खेत बगाएको, आगोले घर जलेको, बबुरो जनताको बेहाल छ ।
नयाँ केही छैन, सबै उस्तै छ ।

यसैले :
यो नया बर्षले केही त नयाँ कुरा देओस्
क्यालेन्डर फेरिदैमा समय फेरिदैन भन्छन्
यस्तो धारणालाई केही गरेर बदलोस्
साच्चिकै नेपाल र नेपालीहरू सबैमा, खुशीको लहर ल्याओस्।

अस्तु :