Sitaram Acharya – Ti Din Haru Aaundai Chhan

सीताराम आचार्य – ती दिनहरु आउदैछन्

घुम्दै फिर्दै रुम्जाटार भनेझैं
फेरि ती दिनहरु हाम्रो सामु आउदैछन्
जब सुकिला-मुकिला, राता-पिरा देखिने
उनै चिर-परिचित मुहारहरु तँछाड-मछाड गर्दै
पुन: तपाई हाम्रो गाउँ-वस्ती भित्र छिर्नेछन् l

विराट राजधानी नगरलाई नै आफ्नो
स्थायी वासस्थान औ कर्मथलो बनाएका
समान कुटिल चरित्र धारण गरेका
अपितु आपस-आपसमै कटुता बोकेका
भिन्न-भिन्न बथानका मानवाकृतिहरु
केही भरौटेहरुलाई अघि-पछि लगाएर
बर्षौंपछि उही पुरानै शैलीमा
हाम्रो गाउँघरको दैलो-दैलो चाहार्नेछन् l

क्रान्ति र/वा शान्तिका भ्रान्तिपूर्ण नारा उराल्दै
अद्भुत विकास र प्रगतिको कोरा दुहाई दिंदै
उनीहरु आउनेछन् दलबल सहित
हाम्रा आँगन-आँगन, चोक-चोक अनि टोल-टोलहरुमा
जहाँ भीमकाय सपनाको बिस्कुन फिंजाइनेछ
जहाँ असंख्य आश्वासनको चारो छरिनेछ l

दुई कर जोडेर होस् या हाम्रा हातहरु
कर्याप्प अँठ्याएर होस्
मुट्ठी उठाएर होस् वा हाम्रो वदनसित
अंकमाल गरेर होस्
पिठ्यूँमा धाप मार्दै होस् या हाम्रा शिशुलाई
जुरुक्क उचालेर होस्
उनीहरुले फेरि अर्कोपटक हामीलाई
आत्मियताको चरम अनुभूति गराउने
घटनाको पुनरावृत्ति गर्ने जमर्को गर्नेछन्
उनीहरुले फेरि अर्कोपटक हामीलाई
ललाई-फकाई गरी उनीहरुको अचुक
वाहुपास/मायाजालमा पार्ने प्रयत्न गर्नेछन् l

दृष्टिगोचर गर्नुपर्नेछ यी हाम्रा नयनले
उनीहरुबीचको मल्ल-युद्ध
अनि बनाइनेछन् हाम्रा पावन बस्तीहरु
फेरि एकपटक खुल्ला रणभूमि
रंगमंचका उनै पात्रहरुद्वारा
मन्चन गरिनेछन् हाम्रै नाममा
उस्तै प्रकृतिका नौटंकीहरु, चटकहरु
अनि सम्पन्न हुनेछन् पर्दाभित्र
अनेकन् चलखेलहरु, अनैतिक कृत्यहरू l

यसप्रकार, स्वार्थ-सिद्धि हेतु हामीलाई झुक्याउन
हामीलाई भगवानको पगरी गुथाउदै
हाम्रो नाम जप्दै, हाम्रो आरती उतार्दै
दर्जनौं कान-फट्टा जोगीहरु फेरि आउदैछन्
हो, घुम्दै-फिर्दै ती दिनहरु चांडै नै आउदैछन् l

मार्च १७, २०१३