Narayan Tiwari – Artha Khulne Kabita

नारायण तिवारी – अर्थ खुल्ने कविता

कुनै चराको चिरिबिरी जस्तै
नबुझ्ने तर मनपर्ने
हुनुपर्छ होला तपाईंका लागि कविता
कुनै सङ्गीत सुन्दाको अनुभूति जस्तो
रम–रम, आनन्दित– रमाइलो,
भए पनि हुन्छ होला तपाईंका लागि कविता !

तर मेरो निम्ति त
सङ्गीतका साथ– साथै हृदय छुने
गीत जस्तो नै हुनुपर्छ कविता
सफा पानीमा
टक–टक देखिने आनन्दित जूनको टक जस्तो
प्रष्ट आकृतिको हुनुपर्छ मेरा निम्ति त कविता

अन्यथा,
मान्छे नै किन कवि हुनुप¥यो ?
चराचुरुङ्गीलाई नै कवि गोष्ठीमा उभ्याए भएन ?
अनि–
मुर्चुङ्गा, नौमती बाजा,
बाँसुरी र मादल आदि यावत धुनहरूलाई
मञ्चमा बजाए भएन ?
त्यो त मात्र सङ्गीत हुन्छ
महाशय !
मात्र सङ्गीत….
सङ्गीत कसलाई प्यारो हुँदैन
सङ्गीतले कसको हृदय छुँदैन
अवश्य छुन्छ
तर के मान्छे सङ्गीतले रुन्छ ?
त्यसैले
अर्थ खुल्ने गीत चाहिन्छ
मान्छे रुवाउन
विना अर्थका कवितालाई
खोकिलामा हाल्नोस्
त्यसको कुनै दर्कार छैन यहाँ
मान्छे हँसाउन–
यहाँ कविता नै चाहिन्छ
अर्थ खुल्ने कविता…. !

थुप्रै– थुप्रै स–साना नानीहरू छन् यहाँ
कुपोषणमा †
भोलि तिनको भविष्य के होला ?
भविष्यका कर्णधार यो देशका …
अभाव र विपन्नताले
खाएको शरीरले
खोइ कसरी बोक्ला यो देश ?
अनि तपाईं भन्नु हुन्छ–
उनीहरूलाई सङ्गीत सुनाउँछु
बे– अर्थका कविता सुनाएर
खुसी पार्छु !
अरे † तिनलाई के सुनाउनु हुन्छ
चराचुरुङ्गीको बोली
सक्नुहुन्छ भने–
भोक कविता सुनाउनुहोस्
कविता पढेर सङ्गीत उमार्छु
भन्नुहुन्छ भने
बन्द गर्नुस् त्यस्तो सङ्गीत
जसले आनन्द त दिन्छ तर
अन्न दिंदैन
त्यसै त धेरै ‘अनुत्पादक’को दोष
बोकिसक्यो कविताले
बिग्रेको मान्छेलाई सपार्न सक्नुहुन्न भने
कमसेकम,
मान्छेलाई नबिगार्नुहोस्
उज्यालोको कामना गर्न सक्नुहुन्न भने
बिन्ती–
बन्द गर्नुहोस्
अँध्यारोको कामना !

कविता त उज्यालो हो
घाम जस्तै
कविता त ऐना हो
जसमा देखिनै पर्छ–
रोग, भोक र शोक
सपना हो कविता
जिउँदा मान्छेहरूको
सुनिश्चित,
सुखमय,
आनन्दित
–भविष्यको सपना
बिन्ती !
यसलाई अमूर्त नबनाउनुहोस्
थुप्रै कविताहरू जुर्मुराएका छन्
नेपाल उठाउन
तपाईं सक्नुहुन्न भने सुतिरहनुहोस्
तर–
अरूलाई पनि सुताउने प्रयास
नगर्नुहोस्
अर्थहरू लिएर उठ्ने
कविताहरूले अवश्य उठाउनेछन्
स–साना मानिसहरूलाई एकदिन
निरर्थक हुने छैन कविता
जुलुस भएर कविताले
आफ्नो सार्थकता प्रष्ट पार्नेछ एकदिन
अमूर्त हुने छैन कविता ….. !