मणि लोहनी – जीवनको रीत
छाडेर गए पनि तिमीले
दुःख लागेन मलाई ।
यो हाम्रै मनजस्तो कहिल्यै नअडिने पृथ्वी पनि
एकछिन त अडिएजस्तो लाग्यो
विरुपाक्षजस्तो टक्क रोकिएर समयले
धारेहात लगाइरहेझैँ लाग्यो
छाडेर गएपछि तिमीले
भगवान् पनि तिम्रै साथमा उभिएर
मलाई सरापी रहेझैँ लाग्यो ।
छाडेर जाँदा तिमीले लिएर गएकी थियौँ
मेरा ओठका खुसीहरू
सपनाहरू मेरा आँखाका
लिएर गएकी थियौ मेरा चौडा छातीका साहसहरू
र बाँकी थिए मसँग
पीडाकै पाइलाजस्ता कलेँटीहरू ओठमा
नपुङ्सकको पत्नीको श्रापझैँ आँसुहरू आँखामा
र गडेथ्यो छातीमा, आफैँसँग हारेको मानिसको अनुहारजस्तो दुःख ।
छाडेर गएपनि तिमीले
दुःख लागेन मलाई ।
हामीले छोएको र देखेको मात्रै
सत्य रहेनछ
सँगै हुनु र रमाउनु मात्रै पनि
जीवन होइन रहेछ
हो, जसरी हाँस्यौ नि तिमी मेरो अँगालोमा
हो, जसरी अग्लिए नि म तिम्रा सपनाहरूसँग
यी सबै पनि पूर्ण रहेनछन् ।
कोही हुनु, नहुनुले
कहाँ रोकिदोरहेछ र यो घुमिरहने पृथ्वी
कसैको हुनु, नहुनुमा
कहाँ अडिदोरहेछ र यो बगिरहने समय ।
सँगै हुँदा हामीले
कपडाजस्तै फुकालेर आफ्ना अहमहरू
एकसाथ नबाँचेका पनि होइनौँ
बेपरवाह छाडेर आफ्ना खुसी र रहरहरू
एकअर्कालाई न्यानो नबनाएका पनि होइनौँ
ओच्छ्याएर आफ्नै छाती मैले
तिमीलाई दुःखहरूबाट सुरक्षित राखेको पनि हो
समातेर मेरो पाखुरा
संसार बैरी हुँदा तिमी मेरो पक्षमा उभिएकी पनि हौ ।
र पनि यस्तै भयो
सँगै हुन सकेनौँ हामी ।
भेटिनु र छुट्टनु
एउटा प्रक्रिया रहेछ
जसरी पलाउँछन् पातहरू रुखबाट
जसरी र्झछन् पातहरू रुखबाट
यो एउटा सिलसिला रहेछ जिन्दगीको
कहिल्यै नअडिएजस्तै पृथ्वी
कहिल्यै नरोकिएजस्तै समय
एउटा रीत रहेछ जीवनको ।
तिमीसँग छुट्टएिको वर्षौंपछि
आज मैले बुझें
छुट्टनिकै लागि भेटिएका रहेछौँ हामी ।
छाडेर गए पनि तिमीले
दुःख लागेन मलाई ।