Shyamal – Layabraham

आमाले लोरी सुनाउँदैनथे
आफ्ना शिशुलाई
गीत नभएको भए,
नीरस हुन्थ्यो प्रेम
र भुत्ते खुकुरीझैँ काम नलाग्ने
हुने थिए शब्दहरू
सङ्गीत नभएको भए
प्रणाम, लयका पिताहरू ।
जीवन हिउँदको नाङ्गो रूखझैँ
हुने थियो
गीत नभएको भए ।
गाउँछन भोको पेट हुनेहरू
खोक्रो सारङ्गीको नसाबाट
धुन निकाल्दै
र गुन्गुनाउँछन् नाङ्गहरू पनि,
फरक छ
कसैले गाउने भजन छ
र कसैले निकाल्ने
पीडाको सुस्केरामा
जति फरक छ
ब्रुनाइ सुल्तानले रुचाउने गीत
र सुकुम्बासी युवतीले
सुनाउने गीतमा
प्रणाम लोकगायकहरू हो !
कसले सुनिरहन सक्थ्यो
रेडियोको सरकारी समाचार
सङ्गीत नभएको भए ?
त्यसो त सुनिन्छन् कति
कीर्तन र अश्लील गीतहरू पनि
दरबारको नृत्यशालामा गाइने गीत
र जुलुसले गाउने क्रान्ति गीत
छन् फरक–फरक
शाही कविले रचेको गीत
र सडकमा यात्रा गरिरहेको
गाइने दाइको गीत
छन् फरक–फरक
म्याडोनाको मादक स्वर
र हरिदेवीको तीजको गीतका अर्थ
छन् फरक–फरक
तैपनि कहाँ सुनिन्थ्यो
राजबन्दीको स्वर जेलबाहिर आइपुगेको
गीत नभएको भए
प्रणाम, लयका ब्रह्महरू !
प्रणाम, लोकस्वरका जननीहरू !
हामीले कहाँ गाउन सक्थ्यौँ
महान् ‘इन्टरनेशनल’
साँच्चै, गीत नभएको भए !