Anil Koirala – Haami Janataa

अनिल कोइराला – हामी जनता

ढुङ्गा पनि होइन
मूढा पनि होइन
ढुङ्गाको वर्षा जस्तो
असिनाका थुप्रा होइन
चट्याङ चुटुङ गर्दा पनि
ब्ल्याक आउट भए जस्तो
इन्द्रको दरवारमा पनि
अन्धकार व्याप्त हुन्छ
देवताहरु जनता भई उत्रेका छन
इंटका गिर्खाले ढल्ला जस्तो सरकार
दरबारभित्र मुसो दगुर्दा पनि
बज्र प्रहार हुन्छ अब इन्द्रको
आफैंले पालेको कुकुर आफैंलाई टोक्छ
गर्जंदै सिंह बाहिर ढोकामा
“इन्द्र ! बाहिर आ !” भनिरहेछ
” कति दुलोमा बस्छस् ?
शचिको साडी तान्दै
मुख छोप्तै
कति पछि लाग्छस् काम्दै ?
मुखभरि थुकका खटिरा
उछ्रेर अब लक्ष्मी मुखुण्डो
फालेर गइसकी त्यो
भैँसी पनि कालो जुम्रो झैँ
जनताको आँगनमा लुक्न सक्तैन अब ।”
सिंह अब ढोका फोर्दै छः
“बिअवेर अफ देवता-
हामी जनता !”