Yuddha Prasad Mishra – School Jaun (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – स्कूल जाऔं (नेपाली बाल कविता)

सुनधारामा पानी भर्छन्
टुँडिखेलमा चर्छन् गाई
रत्नपार्कमा घुम्छ सिपाही
हुन्छन् नाङले पसले त्राही

धरराको त्यो टुप्पो हेर्दा
शिरमाथिको टोपी खस्छ
भई पुराना हटाइएका
सालिकमाथि कौवा बस्छ

सुकिला कपडा भिर्नेहरूसँग
भोका-नांगा पैसा माग्छन्
बार्ह बजेको तोप पड्किदा
चर्न बसेका परेवा भाग्छन्

घण्टाघरमा बज्न गयो दश
विद्यार्थीले भरियो क्याम्पस
हामी पनि अब स्कूल जाऔं
हिजो दिएका पाठ सुनाऔं

२०४३ कार्तिक २९
(बालकोसेली वर्ष २, अकं ६)