Mani Raj Singh – Sapana

मणिराज सिंह – सपना

विचार
स्वतन्त्रता
र समर्पण
सपनामा पनि नाचिरहेको हुन्छ
सपना नहुदो हो त
मान्छेको
धर्म,
कर्म
र वंश
कसरी लहलहाइ रहन्थ्यो ।

विचारले,
मनहरू डो¥याइरहन्छ
सपनाले त्यसरी नै
मनहरू कोट्याइरहन्छ, घच्घचाइरहन्छ
र त इतिहासमा पनि
सपनाहरू नाचिरहेका हुन्छन्
बुख्याँचाहरू बाँचिरहेका हुन्छन्
नङ्ग्राहरूले कोपरेर आफ्नै अनुहार कुरुप बनाइरहेका हुन्छन्
अन्धकार घचेटिरहेका हुन्छन्
एउटा सुन्दर भविष्यको खोजीमा
विचारहरू गुटमुटिएर
समयसँग लुकामारी खेल्दै
सपनाहरूलाई म्वाइँ खाँदै
तगाराहरू पन्छयाउँदै बाटो कोरिरहेका हुन्छन्
पर्खाल ढालिरहेका हुन्छन्
चुकुल खोलिरहेका हुन्छन् ।