Bhupin Byakul – Kitaab

भूपिन ब्याकुल – किताब

मेरो हृदयको पुरानो दराजमा
मलाई मनपर्ने
प्रिय किताब छ !

प्रत्येक दिन त्यसका पानाहरु खोल्छु
पाउँछु
हिजोका शब्दहरु फेरिएर नयाँ शब्दहरु टाँसीएका छन्
मानौँ त्यसको पातलो आवरणभित्र अटाएको छ सिङ्गो समुद्र
जहाँ शब्दका नयाँनयाँ छालहरु आउँछन्
त्यही एउटा किताब छ
जसका पृष्ठहरु भित्रबाट
एकाएक हराउँछन् शब्दहरु
र जसरी भरिन्छन् इनारहरु बर्षामा
त्यसरी नै भरिन्छन् किताबका रिक्त पानाहरु

प्रत्येक दिन त्यसका पानाहरु खोल्छु
हिजो दुखाएका शब्दहरु गाएब छन्
हिजो हँसाएका शब्दहरु पनि गाएब छन्
रुप बदलिरहेका शब्दहरु पढेर
म कसरि अर्थ लगाउन सक्छु अ त्यो किताबको ?

मेरो पुस्तकालयमा
जहाँ शब्दहरुको नदी बग्छ
र किताबको सीमनाबाहिर पुगेर टुंगिन्छ
जहाँ शब्दहरुको घाम लाग्छ
र किताबको क्षितिजबाहिर पुगेर डुब्छ
जहाँ शब्दहरुको अर्थ बग्छ
र किताबको भूगोलबाहिर निस्किएर हराउँछ

संसारका सबैसबै प्रेमिहरुसंग छ
शब्दहरु हराउने र भेटिने
अर्थहरु बग्ने र बदलिरहने
प्रेमको किताब !