Bhupin Byakul – Antim Hastakshar

भूपिन ब्याकुल – अन्तिम हस्ताक्षर

यो निर्दयी इश्वरले
के लेख्छ मेरो निधारभित्र
सिस्मोग्राफ ?
त्यहाँ त एउटा प्रिय हस्ताक्षर छ
अरुले गरिदिएको

डाक्टरहरुले सुनून्
मेरो मुटुको कालजयी सङ्गीत
र जानून्
कार्डियोग्राफमा जे देखिन्छ
त्यो उसैको अन्तिम हस्ताक्षर हो
उसले आवेशमा गरिदिएको

जीवनको सादा चेकबुकमा
मैले त्यही हस्ताक्षर चलाएको छु
जीवनका ठूला निर्णयहरुमा
मैले त्यही हस्ताक्षर गरिदिएकोच छु
लाग्छ म स्वयम्
उसले गरिदिएको एउटा हस्ताक्षर हुँ !

मेरो मृत्युपछि
मेरो निधार र मुटु
संग्रहालयमा राखियोस्
कुनै पुरातात्विक बस्तुझैं
र लेखियोस क्याप्सनमा
‘ यो एउटा अराजक
प्रेमीको नमुना मुटु हो
एउटा हस्ताक्षरले चलेको ! ‘

मेरो मृत्युपछि
देखोस् कसैले मेरो मुटुमा
आफ्नो हस्ताक्षर !