Bhupin Byakul – Kumari Gaun

भूपिन ब्याकुल – कुमारी गाउँ

दिनदिनै निस्किरहने भूइंचालोका लहरहरु
जो जन्मिन्छन युरोपको गिर्जाघरहरु र राष्ट्रपति भवनबाट
पररास्ट्र नीति र सभ्य पापी आँखाहरुबाट

छिन्छिनै आइरहने आतंकका तरंगहरु
जो जन्मिन्छन्
एसियाका मस्जिदहरुबाट / मन्दिरहरुबाट
आन्ध्यारोका चिन्तनहरुबाट र दमित बिस्फोटहरुबाट

अफ्रिकाका भोकमरी र युद्धहरुबाट
अमेरिकाकोकुरूप दादागिरी र अग्निमय आँखाहरुबाट

तिनीहरु आइरहन्छन्
आउन्
र सहरसम्म आइपुगेर उतै फर्किउन

तिनीहरु जन्मिरहँछन्
जन्मिउन्
र यी डाँडाहरु काटेर गाउँमा नाछिरुन्

मानवताको भजन गाउन ब्यस्त छ
प्रेमको सुसेली बाँसुरीमा सजाउन ब्यस्त छ
आतङ्कले नछोएका धेरै कुमारी गाउँहरुझैं
यो गाउँ

दिनदिनै आइरहने भूइंचालोका लहरहरु
छिन्छिनै आइरहने आतङ्कका तरंगहरु
यी डाँडाहरु काटेर गाउँमा नछिरुन्