Somraj Abhaya – Hamrai Chha Thulo Jagat

सोमराज अभय – हाम्रै छ ठूलो जगत्
(मधुपर्क २०६६ असोज)

पैसा गोरखनाथको, मुलुक नै श्रीपस्पतिनाथको !
साँढेमा सुनका चढेर शिवजी रक्षा गरून् देशको !
छोडून् पौरख गर्नलाई सबले बाँधून् दुवै हात नि !
हाम्रो देश त्यसै बडो झिलिमिली कैलाश बन्ला अनि !!!
नन्दी गोरुमुखे र वानरमुखे भृङ्गी र कुत्तामुखे-
तुण्डी, बाघमुखे रिटी छ शिवको पार्टी त ठूलो अरे ।!
छोरा छन् युवराज ती गजमुखे, हाँक्छन्, ठूलो फौज रे !
मुसो बाहन बोक्छ पेट उनको यो विश्व नै होस् अरे !
पेटै भर्न मलाई राज्य बलियो यौटा मिलोस् लोकको !
पेटै भर्न कदापि कत्ति नसकी अर्को मरोस् देशको !
साझा स्वप्न कहाँ सज्यो र कसले त्यो स्वप्न मात्रै रहृयो,
ठूला शक्तितिर चढाइ शिर यो, मुड् काटिएको भयो !
सारालाई समेट्छ नीति जुन त्यै सच्चा टिकाऊ हुने !
आफ्नै स्वार्थ टिकाउने पनि ठूलै नीति यहाँ चाहिने !
झन् सर्वोपरि राजनीति छ, कुरै बुझ्दैन हाम्रो मगज!
तेंत्तीसकोटि त देवताहरू हुने, हाम्रै छ ठूलो जगत् !

-विराटनगर