Prakash Rodung – Baadi Atikraman

प्रकाश रोदुङ – बादी अतिक्रमण

आज तिमीहरुले हियाएर हेरे पनि
श्रद्धाले हेरे पनि
भावनाले पुकारे पनि
आखिर म बादी हुँ
तिम्रै चाहानाको निम्ति
बनाइएकी हुँ म बादी

इतिहाँसको अध्याँरो कालखण्डमा
बलात्कृत र चुसिएर फ्याकिएकी
तिम्रो धर्म सस्कार अनि समाजको नाप तौलमा
खोक्रिएको म असहाय बादी हूँ

म आफूलाई गर्व गर्छु
आखिर म नारी हूँ, यस समाजको
रहनलाई सहनै पर्ने तिम्रो समाजमा
धेरै सहेको छु बाँच्नलाई यहाँ
मर्द छु भन्ने पुरूष तिमी
तिम्रो समाज, बादी भएको छ आज
आज तिम्रो छोरी, बुहारी र श्रीमतीहरु
भएको छ , मजस्तै
र तताउदैछन् ओच्छ्यानहरु, पराईको
तर फरक आधुनिकताको नाममा, डलरको शानमा
बोल्ने चाल चलनको फरकमात्र न हो
काम त एकै न हो नि
पर्दा बन्द गर्नु पर्ने
या पर्दा भित्र गर्नु पर्ने
फेशन, ब्युटिसियन अनि मसाजको नाममा
लिभीङ पाट्नर र सेक्रेटरीको नाममा
कि कसो महाशय ?

तिमी प्रत्येक मर्दहरुको कम्युटर र मोबाईलहरुमा
अश्लिल स्रब्य दुश्यहरु कैद छन्
तिम्रै, छोरी, बुहारी अनि श्रीमतीहरुको
हिजो म बाँच्नलाई गरेँ
र आज खै किन हो कुन्नि
सबैसबै बादी हुदैछन् मजस्तै
तिम्रो समाज पनि
मेरो रोजीरोटी फेरि पनि
तिम्रो समाजले नखोसोस
अतिक्रमण नहोस नवबादीहरुबाट
मेरो यही कामना छ
तिम्रो समाजलाई
तिम्रो खोक्रो मर्दपनलाई ।