Ritu Ashik – Sambodhan

ॠतु आसीक – सम्बोधन

धर्तीभारिका वासिन्दाहरु हो !
म सम्बोधन गरिरहेको छु |
तिमीहरुलाई
म तिमीहरुलाई ढुंगाले वोलेको आवाज सुनाउँछु |
काँतर हो !
यतिका शताब्दीसम्म आफूलाई
कुवाको भित्र राखेर
संसारको मपाई भन्न र भनाउन खोज्ने हो !
जिन्दगी ज्यादै अर्थपूर्ण र कामलाग्ने भएको छ |
सुन्तला भन्दा कमलो र
मौरीको मह भन्दा मिठो छ सूर्य
आउ यसलाई टुक्रा -टुक्रा पारेर खाउ
सुतेका सुताहाहरुलाई पनि झ्यालबाट
सूर्यका टुक्रा छिराइ दिउ
बुझनेले बुझे हुन्छ
जिन्दगी ज्यादै अर्थपूर्ण र संघर्षशिल भएको छ |
बाँच्न मन पराउने हो !
बाँच्न ज्यादै अप्ठेरो भएको छ |
हुन सक्ने र ढुंगाको छाती माथि
हरियो दुवो उम्रिएको हेर्न मन भए
आँट गर
अझै जाँगर भर
मान्छेले कसरी बाँच्नु पर्छ |
लुकेर चियाउने गर
निगरानी राख्ने गर
ए धर्तीभरिका मान्छेहरु हो !
म तिमीहरुलाई सम्बोधन गर्न फेरी आउने छु |
म बेला -बेला आउँदै भन्ने छु |
आँट इमान्दारीको आत्महत्या कहिले नगर्नु
तिमीहरुले चाहेको
वैचारिक र व्यवहारिक जिन्दावादलाई
म पनि सहयोग गर्नेछु |
कठोर र इमान्दारी हाथहरु चलाएर
आकाश भन्दा पनि माथि माथि उचाली दिनेछु |