Hem Nath Ghimire – Naya Barsha

हेमनाथ घिमिरे – नयाँ बर्ष

रातै लेक फुलुन् गुराँसहरुले बेशी फुलुन् काँशले ।
पाखा-पर्वतमा बुकी पनि फुलुन् वास्ना छरुन् घाँसले ॥
हाँगा मग्मग भै सुनाखरि फुलुन् नाना थरी रङ्गमा ।
नौलो याम फुलुन् सबै ह्दयमा उत्साहका सङ्गमा ॥ १ ॥

हाम्रा यी जति छन् कुभाव मनमा फालौँ सबैले अब ।
राम्रो काम गरौँ सबै तरहले धर्ती उठाऔँ अब ।
हाम्रो माथ उठोस् सदा सगरमा नीचो न ह्वौं क्वै कतै ।
हाम्रा यी सब सन्तती सफल हुन् राखुन् सुकिर्ती सधैं ॥ २ ॥

चारैतर्पु बहोस् नयाँ पवन त्यो नौलो छरी जाँगर ।
एकै भै सब बाल-बृ-बनिता उर्लोस् महा-सागर ॥
नौलो जोश नयाँ उमङ्गहरुले माथी उठोस् देश यो ।
डाकौँ यूग नयाँ सबै जन मिली फालौँ सबै क्लेश त्यो ॥ ३ ॥

झुल्कोस् घाम नयाँ छरी किरणका नौला बिहानीहरु ।
आओस् यूग नयाँ हटुन् जति थिए पीडा र बाधाहरु ॥
नौलो दृष्टि खुलोस् सबै जन मिलुन् सन्तान एकै सरी ।
आओस् बर्ष नयाँ मधू-सुमनको वास्ना सुनौलो छरी ॥ ४ ॥

डा हेमनाथ घिमिरे
बाहुन डाँडा लमजुङ् ।