Nistej – Bartamna Pariprekshya Ma 2

निस्तेज – वर्तमान परिप्रेक्षमा -२

वर्तमान परिप्रेक्षमा
अभियुक्त बनेर
कठघरामा
समय उभिएको छ
र फरियादी बनेर
इजलनसमा हाम्रा खुशीहरु
प्रतीक्षामा
निष्पक्ष निसाफको
तराजु हातमा लिएर
निसाफ गर्नेछन्
ढुङ्गाका मूर्तिहरु
र प्रफुल्ल मुद्रामा
घर फिर्नेछन् हाम्रा खुशीहरु
म सशङ्कित छु आज पनि
यस कुरामा ।

हूल बाँधेर
सडकमा असहमतिहरु
हिंड्ने छन् वा छैनन्
रात उषामा सहिद भएपछि
चराहरु खुसियालीमा
गाउनेछन् या छैनन्
नयाँ होइन
इतिहासको घोडा चढेर
विजय जुलुसमा
विजेताहरूले निस्किनु
र एकथरिहरूले
झन्डा बोक्दै
पछि पछि लाग्नु
कनक-कनक को अन्तर
प्रष्ट्याउने छन्
यी फिलुङ्गाहरू
को निस्किन्छ
तपेर झन् प्रभासित हुँदै
र को हुनेछ खरानी
फिलुङ्गाहरू खोल्ने नै छन् पोल ।

हिमपातले
लुटिएका रुखहरू
पातको प्रतिक्षामा
वसन्त कुर्नेछन फेरी फेरी
र मुस्कुराउने छन
फेरी नयाँ खुसीहरू
यामले प्रत्येक हानिको
गर्नेछ क्षतिपूर्ति
र मलाई सिकाउनेछ
पराजय बिर्सेर फेरी जिउने कला
तर अफसोस
मलाई थाहा छ
वसन्तका उपहार अवश्य हुनसक्छन
नयाँ पालुवाहरू
तर हिमपातले लुटेका
ती पातहरू कदापी हुन् सक्दैनन्
यामको क्षतिपूर्ति।

र वर्तमान परिप्रेक्षमा
जलेरुहरू जाल बुन्दैछन
स्थिर तलाउ बाहिर
र तलाउ भित्र
ठुलो षड्यन्त्रबाट बेखबर
माछाहरूको वस्तीमा उत्सव चलेका बखत
बल्छीहरू तिखारिंदैछन्
र तिखारिंदैछन् भालाहरू
रातारात उमारिंदैछन
झुट्ठा साक्षीहरू
खेलाची बन्नेछन इजलासहरू
तर नियम सङ्गत नै हुनेछ
प्रत्येक कुरा
र वर्तमान परिप्रेक्षमा
मैले सिकेको छैन
नियम हरु भङ्ग गर्ने कला
र माछाहरूले सिकेका छैनन्
जालहरु काट्ने विज्ञान ।

म कायर हुन सक्छु
या लो लाचार
र तोड्न सक्दिन नियमहरू !
या म प्रभावित छु
कुनै तथाकथित शाश्वत ज्ञानबाट
जुन लेखिएको हुनसक्छ
बाक्ला- बाक्ला किताबहरूमा
र कसरी असत्य हुन् सक्लान
किताबहरूका नियम सङ्गत कुराहरू ?
मेरो मस्तिष्क
डसेको छ
किताबहरूको भूतले
मलाइ विश्वास छैन
रत्तिभर पनि आफुमा
म किताब हरूको दासताले
आज पूर्णरुपेण निकम्मा भएको छु
र किताबहरू लेखिएका छन्
सफल पर्न अभूतपूर्व षड्यन्त्रहरू ।

सपनाहरूको हाटमा
सजाइएका झुठा सपनाहरू
हरेक सपनाको यौटा ब्राण्ड छ
र त्यस ब्राण्ड को यौटा विज्ञापन
कर्पोरेट सपनाहरू
ओझेलमा पार्छन
हाम्रा अक्षुण्ण काँचा र अप्रशोधित सपनाहरू
यी किताबहरू
विभेद उत्पन्न गराउँदैछन्
सपनाहरूमा
म हेर्दैछु
हातका रेखाहरूमा
मेरा सपनाहरू
हाटमा पनि छैनन्
र हातमा पनि छैनन् ।

वर्तमान परिप्रेक्षमा
बजारमा
चोकहरूमा
साईबर क्याफेहरूमा
अखबारका पानाहरूमा
भेउ खोज्दै
नाली बेली सोध्दै
शब्दहरू निस्केकाछन्
नयाँ अर्थको खोजीमा
नयाँ परिभाषाहरूको खोजीमा
अर्थहीन / परिभाषाहीन
कति बस्न सक्छन शब्दहरू
र म महसुस गर्दैछु
वर्तमान परिप्रेक्षमा
मेरो चेतना जागृत भएझैं छ
मलाई आभाष हुँदैछ नयाँ अर्थको खोजीमा
नयाँ परिभाषाहरूको खोजीमा
अर्थहीन / परिभाषाहीन
कति बस्न सक्छन शब्दहरू
र म महसुस गर्दैछु
वर्तमान परिप्रेक्षमा
मेरो चेतना जागृत भएझैं छ
र मलाइ आभास हुँदैछ
बक्ला-बक्ला किताबहरूमा
लिपिबद्ध यी सत्यहरू
यी कथित सत्यहरू
कुनै औधी चकचके बलकले
पिसाप फेर्दै
भित्तामा बनाएका
अश्लील आकृति झैं
मेरो भाषामा
पहिलो पल्ट हराएको छ
शीष्टताको आवरण
र म निरावृत छु
र म महसुस गर्दैछु आफुलाई
अभूतपूर्व शक्तिशाली
र सत्य
र निरावृत
वर्तमान परिप्रेक्षमा।

बैतडी,हाल: धनगढी