Sarubhakta – Akalpaniya Desh Ko Yatra

‘के इतिहास
चक्रीय सिद्धान्तनिष्ठ छ ?’
पुनरावृत्तिमा लिगलिगकोटे युगहरु
प्रतिश्पर्धा दौडमा छन्
छुमन्तर ! गोर्खाली जिनका रसायनिक भाषाहरु
खोई हुस्सुले छेकेको घाम
कहाँ ‘ब्रेनड्रेन’ भई हिडेको छ ?
युग वदलियोः हामी एक अकल्पनीय
देशको यात्रमा छौं
कायरहरु धेरैपल्ट मर्छन् हामी बहादुरहरु
एक एकपल्ट मर्दैछौं – ‘ भटटटटटट ….’
को मूर्ख ? वर पाउने भष्मासुर कि
वरदिने महादेव ?
गुहेकीरालाई गुहेकीरा के भन्नु
ती स्वर्गीय नर्कका वासिन्दा हुन्
युगीन आवश्यकताः आजभोलि घाँटीमा क्रश
टाँगिन्छन्, क्रशमा यशूहरु टाँगिदैनन्
नाथुरामहरु कहिल्यै गान्धी बन्दैनन्
गान्धीहरु भकाभक नाथुराम बन्दैछन्
ए ! देशमा सवै बहुलाएको वेला
त्यो मान्छे किन सद्दे कुरा गरिहिड्छ
वेफ्वाँकमा ?
हिउँदेयाम
आउ मौकाको घाम तापौं
अनि कत्लापरेका फोहोरहरु सुकाऔं !