Bhawana Pokharel – Ghoda

भावना पोखरेल – घोडा

म तिम्रो घोडा हुँ
होलटाइमर कार्यकर्ता होइन
त्यसैले
तिम्रो आदेश भयो भन्दैमा
म अपमान गर्न सक्तिन मानवताको
जानाजान म कुल्चिन सक्तिन
सडक धर्ना दिने
जिउँदा मान्छेहरुलाई
म कोर्रा सहँन तयार छु
तर जानाजान तिमी चढेको रथसहित
म हामफाल्न सक्तिन भिरहरुबाट
म तिम्रो सुरक्षामा निष्ठावान छु
मैलै बुझि्दन
तिम्रो कुर्सी र भर्‍याङको
काइते जोड घटाऊ
किनकी म तिम्रो घोडा हुँ
होल्टाइमर कार्यकर्ता होइन

बाधेर दुवै आँखामा ढक्कन
मलाई कार्यकर्ता बनाउन नखोज
म तिम्रो घोडा हुँ
घोडै बन्न देऊ
मलाई नसिकाउ तिम्रो काइते भाषा
म बोल्न सक्तिन तिम्रो भाषा
तिम्रा कार्यकर्ताहरुलाई जस्तै
मेरो हिनहिनाहटलाई उपहास गर्दैनन मान्छेहरु
किनकी म घोडा हुँ
होल्टाइमर कार्यकर्ता होइन

मैले देखेको छु
युद्धहरुको बीचैमा
विश्वास घात गरेर भागेका
तिम्रो विश्वासीला कार्यकर्ताहरु
तर म भाग्न सक्तिन युद्धहरुबाट
किनकी म तिम्रो घोडा हुँ
होल्टाइमर कार्यकर्ता होइन

त्यसैले
तिम्रो आदेश भयो भने पनि
म अपमान गर्न सक्तिन मानवताको
जानाजान म कुल्चिन सक्तिन
सडक धर्ना दिने
जिउँदा मान्छेहरुलाई