Pushpa Baruwal – Kohi Malai Kina Kehi Bhanos

हुस्सुका बाक्ला खातहरु हटाएर
राफिलो घाम ताप्नुछैन मलाई
न त बादलका बाक्ला च्यादर ओढेर
न्यानो बन्नुनै छ
म, पखेरोको एउटा अस्तित्व
घाममा वा ओझेलमा
खुशीहरु अनुभुत गर्नसक्छु जसैतसै
कोदालीले पखेरो सम्याएर
अन्न उब्जाउन सक्छु, परिवारको लागि !

मैले कसैलाई जित्नु छैन
न त मलाई कसैसँग हार्नुनै छ
प्रतिष्पर्धाको भिडबाट परै रहेर
एउटा ढाकर बुन्नुछ मैले
र, बोक्नुछ सिङ्गो चन्द्रमा
अनि देखाउनुछ सुन्तली, मार्फाली र इमानेलाई
तिम्रा बा’ले अझैसम्म शितलता धमिल्याएको छैन
न त शान्तिनै खल्बल्याएको छ भनेर ।

थरिथरिका झन्डा बोकेर
कसैको गुणगान गाउने रहर छैन मलाई
न त अरुले झन्डा बोकेकोमा होच्याउने चाहनानै छ
म एउटा भरिया,
ढाकर भरि सुन्तलीको स्कुल जाने सपना बोकेर
मार्फालीको एउटा गतिलो गुन्यूँ फेर्ने रहर राखेर
र, इमानेको च्यातिएको भोटो सिईदिने इच्छा साँचेर
मैले त केवल ढाकर बोक्नुछ
र, हिंड्नुछ मधेशदेखि हिमालसम्म
खाली खुट्टा
रक्ताम्मे हुँदै
केवल हिंड्नुछ…….
हिडिरहनुछ ……
मात्र हिडिरहनुछ……….. ।