Kusum Gyawali – Shauchalaya 2

लुछेर वस्तीका हजारौं
कुमारी युवतिका कोमल अंगहरू
बटुलेपछि धार्नीका धार्नी अवैध सून
बनाउँछन् बादशाहहरूले सुनैसुनका शौचालय
अनि पार्टी कार्यालय जस्ता घरका मालिकहरू
निस्कन्छन् हरेक दिन पूजा गर्न त्यो शौचालय
सकेपछि त्यो प्राचीन शौचालयको नवीन पूजा
हठात फोहोर गर्न छिर्छन मान्छेहरू
स्कुल वा सार्वजनिक इनार तिर
●●●
माफ गर्नोस् किसान दाई
हामीले ल्याएको व्यानरमा
कुनै पार्टीको मात्र नारा लेखिएको छैन
निहत्था श्रष्टाहरूको यो जुलुस
कुनै ‘बन्द’ का लागि पनि होइन
हामी खोल्नका लागि हिडेका हौं
युगौं देखिका अवरूद्ध निकासहरू
हामी त सफा गर्न हिंडेका हौं
हरेक शक्ति केन्द्रलाई संक्रमित गर्ने
सताद्धीयौ देखिका दुर्गन्धित शौचालयहरू!