Shrawan Mukarung – Aadi Samjhana

तिमीसँग–
यौटा चुहिने घर र आँगनमा एक थुँगा रातो फूल थियो
मलाई खोज्न–
धुवाँ निस्किरहने आँखीझ्याल, पुरानो क्षितिज
र आक्कलझुक्कल उड्ने केही चराहरू थिए
मलाई सम्झिन–
एक रोगी कथा र खसिरहने आँसु थियो
थियो–
अचाक्ली दुख्ने यौटा घुर्मैलो मुटु

तिमीसँग–
यौटा रुमाल थियो– स्वप्नको
ऐना बट्टाजस्तो एक पँधेरी थियो– मेरो विवशता हेर्नलाई
फुल्दै गरेको कपाल
खुम्चिँदै गरेको निधार
सुक्दै गरेको वक्षस्थल
र फाट्दै गइरहेको कुर्कुच्चा थियो– मेरो बैमानी बुझ्नलाई

तिमीसँग–
यौटा कलिलो तस्वीरभरि पोखिएको सिन्दूर थियो
कुनै अपहृत मुलुकको सीमारेखाजस्तो
रातो पोते थियो (झन्नै छिनेको !)
र थियो– एक निर्दोष मौनता
जो सलबलाउँथ्यो रातै पहाड भएर–
फूल फुल्दा/फूल झर्दा
चट्याङ खस्दा/ झरी थामिँदा
घाम उभिँदा/घाम ढल्किँदा
तिमीसँग–
आकाश थियो– अनन्त
धर्ती थियो– वैभवपूर्ण
र थियो–
एक जीवन/एक विश्वास/एक समर्पण/एक सङ्कल्प
अपसोच !
मसित केही थिएन ! केही थिएन !! केही थिएन !!!
केवल थियो– एक पिरो सम्झना ।