Rajab – Sardai

मलाई लाग्दै छ
अरू निधर्न झैँ
मेरो बा पनि
भविष्यका समयहरू
राम्रो आउनेछन् भन्ने
आत्मदिलासामा
जीवन हुर्काइरहनुभएको थियो
त्यसैले उहाँ
खपिरहनुभएको थियो
अगाध आर्थिक वेदना
र मृत्युपर्यन्त
पिलाइरहनुभएको थियो मलाई
जीवनघुटी
तर आफूले
आउँछ भनेर चिताएको
त्यो वेदनारहित समय
नभेटेरै
उहाँ यो पृथ्वीको हावापानीबाट विदा हुनुभयो
यता बालाई झैँ
मलाई पनि लाग्दै छ
यी समयले खपेका
बमवर्षाका महामारी
संक्रामक सामाजिक जीवाणुहरू र
हिंस्रक राजनीतिका
आत्मधन्य राजनीतिज्ञ
र भयानक शासकका क्रुरतम शासनबाट
बाँच्न सकेँ भने
मेरो बाउले चाहेको
सुखमय समय
म अवश्य भेट्नेछु