Rajab – Ek Hightech Kavita Sangraha Bujhna Khojdai

काला, मोटा पानाहरूमा
चौकोण, त्रिकोण, सीधा, बांगा, मोटा रेखाहरू भरिएका छन्
यी कुन अक्षरहरू हुन् ?
यी कुन शब्दहरू हुन् ?
अचम्मले एक कवितासङ्ग्रहका पानापाना पल्टाउँदै
ग्राहकहरू मर्माहत सोध्छन्
यी के हुन् ?
‘द ग्रोलिएर पोयट्री बुक सप’ की लुइसा भन्छिन्
ती हाइटेक कविता हुन्
म पनि सोध्छु
को पढ्छन् ती ?
को बुझ्छन् ती ?
लुइसा भन्छिन्
ख्वै, त्यो त मलाई थाहा छैन
तर ती कविताहरू हुन्
तिनमा कविले देखेको म्यानहाटनको जीवन
उत्तर पुँजीवादको सञ्जाल र
उच्च आधुनिक संवेगहरू छन्
एक हाइटेक समीक्षक ऐ भनेर निस्के
कत्तिले किनेर पनि लगे
तर ती के बुझ्छन् मलाई थाहा छैन
म त यत्ति भन्न सक्छु– ती कविताहरू हुन्
जसरी अरू कविताहरू म बुझ्दिनँ
ती कविताहरू पनि म बुझ्दिनँ
मेरो लागि सब कविताहरू हाइटेक कविताहरू हुन्
यी पुस्तक बेचेबापत
मेरो तलब बढाइयो भने
त्यही नै मेरो लागि
एउटा सजिलो कविता हुनेछ

One thought on “Rajab – Ek Hightech Kavita Sangraha Bujhna Khojdai”

Comments are closed.