Dr. Suraj Niraula – Ventilator Chadhaidiye Hunthyo

डा. सूरज निरौला – भेन्टिलेटर चढाईदिए हुन्थ्यो

हर बिहानी, चियाको चुस्की नै
वेस्वाद हुनेगरि,
अनियमिता र भ्रष्टाचारको
व्याप्त समाचारले
घृणित भएको मेरो छवि,
अमृत जलले
एक पटक पखालिदिए हुन्थ्यो ।
टुक्रिएको मेरो मेरुदण्ड जोड्न
एक कुशल
अर्थोपेडिसियन ल्याईदिए हुन्थ्यो ।
मर्न चाहन्न अझै त,
उपचारको लागि मलाई
भेन्टिलेटर चढाईदिए हुन्थ्यो ।

साँस फेर्न नि गार्हो भैसक्यो,
बोलेका ध्वनिका तरङ्ग,
कान सम्म पुग्न छाडिसक्यो,
हिजोको मेरो प्रतिष्ठा
आज जमिन मुनि नै गाडिसके ।
बिरामीको विवशतामा
खेलवाड् नगरिदिए हुन्थ्यो ।
रोकिनै लागेको मेरो मुटुको
धड्कन फेरि उठाउन
एक कुशल
कार्डियोलोजिष्ट ल्याईदिए हुन्थ्यो ।
मर्न चाहन्न अझै त,
उपचारको लागि मलाई
भेन्टिलेटर चढाईदिए हुन्थ्यो ।
ईतिहासका मेरा स्वर्णीम धरोहरहरु
दुर्गतिले झन् झन तल धसि सक्यो ।
प्रगतिले उक्लिनु त कता
डिप्रेसनले नै थलापारि सक्यो ।
खरायो झै दौडनु पर्ने विकास
कछुवाको चालमा नहिडाईदिए हुन्थ्यो।
साइकोसिस् भईसकेको
मेरो मन मुर्झाउन,
एक कुशल,
साइक्याट्रिसियन ल्याईदिए हुन्थ्यो ।
मर्न चाहन्न अझै त,
उपचारको लागि मलाई
भेन्टिलेटर चढाईदिए हुन्थ्यो ।

हानहान् र तानातानको रणभूमीबाट
मलाई फुत्त बाहिर निकालिदिए हुन्थ्यो ।
चाहिदैन राजनिती, चाहिदैन सेक्योरीटी
कम से कम मलाई नेताको ईशारामा
न नचाइदिए हुन्थ्यो ।
निर्दोष माछाहरु सङ्लो पानीमा
दस्वतन्त्र पौडिन पाए पुग्थियो ।
निभ्नै लागेको दीप पनि
एक पटक जगाईदिए हुन्थ्यो ।
निस्वार्थ जनहित सेवा नै धर्म मान्ने
लोक परोपकारी मनको
एक कुशल,
नेतृत्व ल्याईदिए हुन्थ्यो ।
मर्न चाहन्न अझै त, उपचारको लागि
मलाई भेन्टिलेटर चढाईदिए हुन्थ्यो ।

२०७६/४/१२