Damodar Pudasainee – Shabda Jaal Ma Faseko Samaya

दामोदर पुडासैनी किशोर – शब्दजालमा फसेको समय

म्याक्सिम गोर्कीको आमा पुस्तक काखी च्यापेर
आमाको सालिक मुन्तिर
सड़क किनारमा रोइरहेछन् आमाहरू
सडकमा दौडिरहेका सन्ततिहरू
कारको सिसा खोलेर
पिच्च थुक्छन् आमाका ढाडहरूमा
र हुँइकिन्छन् कारभन्दा अघि अघि

बुध्दको बलात्कारबाट बच्न नसकेर
आत्महत्या गर्दैछन् आनीहरू
बुध्दको यौनतृष्णा मेटाउँन
नयाँ नयाँ आनी खोजेर ल्याइदिँदैछन् भक्तहरूले
यौनक्रिडाका नयाँ नयाँ आसनपछि
ध्यान समाप्त भएको घोषणा भएको छ गुम्बाहरूबाट

जस्टिन विवरको स्कर्ट र क्रिश ब्राउँनको शर्टमा लेखिएको गीत हेर्न
स्कर्ट र शर्ट किन्नेको लामों लाइन छ गाउँ सहरका पसलहरूमा
विवर र ब्राउँन भने ब्राउँन सुगरको ओभरडोजमा
रोमाण्टिक कथा भन्दैछन् जीवनका कहालीहरूको
त्यसैलाई महान गीत भनेर रेकर्ड गर्दैछन्
सहरका नामुद उत्पादकहरू

ओभरडोज पछिको मृत्यु र जीवनवृत्त पछिको मृत्युमध्ये
कुन मीठो भन्ने दर्शन पस्कँदैछन् युनिभर्सिटीका प्रोफेसर
उनको ब्याख्यायानमा
दुई शताब्दी अगाडि कसैले पोखेको
झुसिलो बाडुली छ
दशकौं पुरानो झुत्रो डायरी पल्टाएर
सबै कक्षामा एउटा आलाप अलापिरहेछन्
बहुध्यानी टुरिष्ट प्रोफेसरहरू

इदि अमिन ,तालेबान ,अलकायदा ,बोकोहराम वा हिटलर
प्रार्थनाका पुराना शब्दमात्र भएकाछन्
हरेक परिवार,समुदाय र राष्ट्रमा
कुनै न कुनै रूपमा उभिएकाछन् तिनका अबशेषहरू

शब्दजालमा फसेका मान्छेहरू
हावामा उभिएर पिउँन खोज्दैछन् एक घुट्को पानी

धर्मको खोल ओडेर
झुठका नाटक गरिरहेछन् मान्छेहरू
नाटक गर्न जान्नेहरू झुठका सँबाद बोलिरहेछन्
सिधासाधा मान्छेहरू
सत्य ठानेर तालि पिटिरहेछन्

छली गुरू र अबिर दलेको ढुँगालाई
दश प्रतिशत चढाएपछि
नब्बे प्रतिशत कुचक्र लुकाउँने सिध्दान्तका ढोँगीलाई
कालो कुर्सीमा चढाइएको छ
उ गोप्य कोठामा भ्रष्टाचारको सेटिँग मिलाउँछ
गोप्य फाइलमा इमान्दारको खुट्टा काट्छ
र ,जनतासामु ठस ठस कनेर
सुशासन र पारदर्शी नामको प्रवक्ता बन्छ

बाक्ला पर्दाहरूको माग बढिरहेछ
खोलाहरू पनि धमिलै चाहिएकोछ
बिष्टाको कुवाबाट निस्केको मान्छे
नुहाएर होइन
शुध्द बन्न खोज्दैछ
नाम संकीर्तन जपेर
र ,टिका आशीर्वाद थापेर

बाटो खन्ने र बाटो बचाउँने
सबै सिध्दान्तले
शून्यपछिको शुरूवाति खोजिरहेछन्

दर्शकहरूको बाली झ्याँगिएको छ

अनाहकमा हत्यागरिरहेछ कसैले
यो क्षणमा पनि तिम्रो समयको

-२०७६ जेठ २५ शनिबार
ग्वँग:बुँ,नयाँबसपार्क,काठमाडौ