Damodar Pudasinee – Akshar Bina Ka Shabda Haru

दामोदर पुडासैनी किशोर – अक्षर बिनाका शब्दहरू

शरणार्थी चराझैँ उडिंरहेको बेला
भेट भएको हो हाम्रो
कँक्रिटको कुनै ओडारमा

भीड थियो
भीडमा साँझको बाँसको झ्याँगमाझैँ
कल्याँगकुलुँग गरिरहेथे सबैजना
भीडभित्रै भयो कसैको मौन सँझौता
त्यसपछि
एकको बाटोमा अर्को फूल रोप्न खोज्छ
एउटा जून हिँडिरहँदा अर्को रोशनी थपिरहन खोज्छ

समयको राजमार्ग बनाउँने  ठेक्का लिन पनि तयार
समयलाई काँधमा बोकेर
नयाँ धर्म प्रबर्तनको लागि पनि तयार
सँझौतापछि सारेगम भन्दा सुन्दर अर्को स्वर गुन्जिरहेछ

सँझौता अघि
सँझौता हुन्छ हुन्ननै थाहा थिएन
मौननै किन नहोस्
सँझौता भएपछि
उपस्थितिका भन्दा अनुपस्थिति हिसाबहरू
बढी प्रबिष्ट हुन थालेका छन् आ-आफ्नै खाताहरूमा

साक्षी सहितका लिखित सँझौताहरू भन्दा
साक्षी बिनाका मौन सँझौताहरू
सबल हुनेरहेछन्

समयसँगै यात्रा गर्दा
हृदयबाट मूल फुटिरहेछ अब्यक्त किनाराहरूको
अक्षर र शब्दहरूमा रूपान्तरित छैनन् ती कुनैपनि
शर्तहरूमा उल्लेखनै नगरि शर्त पालना गर्दैछ दोस्रो पक्ष

मनमा जून  उदाउँनुपूर्बको साँझ
र उभिएको जमिनको यादले सताइरहेछ
जहाँबाट फुटेथ्यो एउटा सुगन्धित मूल
किनारहरूबाट खडाभएथे धमाधम
सँझौताका मौन शर्तहरू

वासनासहित हल्लिरहेका फूलहरू
निष्कलँक उडिरहेका पँक्षीपँख पनि
सधैं समयसँगै पिछा गरूँन् भन्ने
शर्तहरू जागारहुन् भन्दैछ
बायाँपट्टिको अर्को किनार

मौन सँझौतापत्र
मनको अन्तिम भित्तामा
जोडदारसँग लेखिने क्रम जारी छ

जागा बन्दैछन्
अक्षर बिनाका शब्दहरू

-२०७६ बैशाख १९
जेनल होटल ,बिराटनगर