Damodar Pudasainee – Jerusalem Ko Koseli

दामोदर पुडासैनी किशोर – जेरूसलेमको कोसेली

जेरूसलेम
समयले कसैलाईपनि
एकै ठाउँमा बस्नदिदोरहेनछ
भेट्नेबित्तिकै किन हतार भएकोछ छुट्टिन ?

कति छिट्टो चिनजान गर्यौँ हामीले
कति छिट्टो आइसकेछ छुट्टिने समय
तिमीले आफ्नो मन देखायौ
केही रूप र रँग देखायौ
मसँग जे थियो
त्यो सबै दिएँ तिमीलाई

आखिर सँझना मात्र त रहेछ नि
जिन्दगीसँगै हिँडिरहने
तिमीले मेरो मुटुमा रोपिदिएका
पहाडी अक्षरहरू सँगालेर
फर्कने उदास बाटाहरू गनिरहेछु

जिन्दगी
किन चिन्न हतार छ
र किन हतार छ बिर्सन
तिमीलाई छामेर सोचिरहेछु

रित्तो आएको थिएँ
केही लिएर जाँदैछु तिम्रा कोसेली
कोसेलीनै त हो रहेछ
जिन्दगीको खुशी भन्नेकुरा
तिमीसँगका खुशीका कोसेली कहाँ सजाऊँ
योजना बुन्न जुटिरहेछु

२०७५ फागुन २९(२०१९ मार्च १३)
जेरूसलेम,इजरायल