Damodar Pudasaini – Nariwal Ra Supari Ka Rukh Haru

दामोदर पुडासैनी किशोर – नरिवल र सुपारीका रूखहरू

ठिँग उभिएर
सँसारको चर्तिकला हेरिरहेछन्
नरिवल र सुपारीका रूखहरू
मान्छेले भने
सँसारको कुना कुना चाहार्दा पनि
बुझ्न सकेको छैन
ज्यूँनुको रहस्य
मान्छेहरू
मन्दिरमा ,मस्जिदमा र चर्चमा
ध्यानको अभिनय गरिरहेछन्
नरिवल र सुपारीका रूखहरू भने
जन्मेदेखिनै ध्यानमग्न छन्
सँसारका कुनैपनि मान्छेले
ध्यान गर्न सकेको छैन
नरिवल र सुपारीका रूखहरूलेजस्तो
अलि फरक छ
पोखरी छेउ ध्यानमग्न बकुल्ला
र ,बारीमा उभिएका
नरिवल र सुपारीका रूखहरूमा
बकुल्लाहरू
कसैलाई थुतुनोमा हुलेपछि
आवरण फालेर कुलेलम ठोक्छन्
यी रूखहरू भने
ध्यानमग्न छन्
केही न केही अरूलाई दिनको लागि
माया गरेर नथाक्ने आमा
लडाईँमा नथाक्ने सिपाही
भारी बोकेर नथाक्ने खच्चर
सबै सबै हुन्
नरिवल र सुपारीका रूखहरू
केही फरक लाग्दैन मलाई
आँगनछेउमा उभिएको नरिवल र तिमीमा
कहिल्यै नरिसाउँने
सधैं चम्किलो पहिरनमा मुस्काइरहने
चराहरू पनि खुशी
घाम पनि खुशी
पानी पनि खुशी
बादलका कथा सबै खुशी
जिन्दगी त आखिर पत्र फेरिरहने त रहेछ नि
प्याज जस्तो
अथवा नरिवल र सुपारीको बृक्ष जस्तो
पत्र पढ्यो ,फाल्यो
पुरानो पत्र फाल्यो
पढ्यो पुन: नयाँ पत्र
पत्र पलाउँने क्रम सकिएपछि
सकिँदोरहेछ फूल जस्तो जिन्दगी
प्याज र नरिवललाई जस्तै
मलाई पनि धौ धौ छ
पुराना पत्रहरू जोगाउँन
र, नयाँ पत्रहरू उमारिरहन
नरिवल र सुपारीका रूखहरूमा
लेख्न सकिनेछ
हाम्रो मायाको हिसाबकिताबको अभिलेख
कोर्न सकिनेछ
देशको फेरिन लागेको अनुहार
उभ्याउँन सकिनेछ बिशाल विजयस्तम्भ
बनाउँन सकिनेछ
मान्छे हिड्ने फरक ढँगको बाटो
यी रूखहरूले निरन्तर रखबारी गरिरहेछन्
मान्छे हिँडिरहेको उज्याला र अँध्यारा बाटाहरूको
अपराधका बिउ रोपेर
बहादुरीका इतिहाँस लेख्न खोजिरहेछ मान्छे
भित्र भित्रै अग्नीज्वालाहरू पिएर
अनुहारमा पूर्णिमा लेप्न खोज्दैछ मान्छे
भएकोलाई होइन र नभएकोलाई हो भन्नेहरू
आफ्नै अघिल्तिर ओहोरदोहोर गरिरहेको देखेर
उमेरनै नपुगी छिया छिया बन्दैछन्
नरिवल र सुपारीका रूखहरू
यो बस्तीमा
मान्छेहरू रूख बन्न खोजेका हुन् कि
रूखहरू मान्छे बन्ने प्रयासमा छन्
किन कसैले सोचेन अहिलेसम्म ?

-२०७५ माघ १२ गते शनिबार
होटल आनी हेरिटेज प्लाजा
भद्रपुर,चन्द्रगढी,झापा