Damodar Pudasainee – Samayagarbha

दामोदर पुडासैनी किशोर – समयगर्भ

आकाश मुठ्ठीमा राख्न खोज्दैछु
जीवन उचाई चाख्न खोज्दैछु
कहाँ हराए मेरा प्रिय पातहरू
समयसँग उज्यालो माग्न खोज्दैछु
कहाँ गए होलान् बास बस्ने चराहरू
कहाँ गए होलान् सुवास खोज्ने जराहरू
फूल खोज्दा खोज्दै ,किन पुडकिएको मान्छे गमलामा
बिर्सनेसँग हिसाब किताब माग्न खोज्दैछु
कयौँ यात्रा घाममा भयो कयौ यात्रा तुवालोमा
कयौ यात्रामा जीवन ,गुमनाम टाँग्न खोज्दैछु
ठिँग उभिएकोछु सँसारलाई पैतालामा झुण्ड्याएर
सँसार मुठ्ठीमा कोचेर अन्तै कतै भाग्न खोज्दैछु
कयौ आए गए मेरै छेउको बाटोबाट
बिसाउँनेको भारी सँझन खोज्दैछु
घामझैँ फर्केन कोही पनि जानेहरू
जानेलाई आफ्नै नाम सँझाउँन खोज्दैछु
गुनासो बोकेर उभिने धेरै भेटिए शहरभरी
नासो बोकेर उभिने ख्वै को कहाँ छ खोज्दैछु
बुँख्याँचा त धेरैलाई बनाइन्छ हिजोआज
कँक्रिट तोडेर दूर देश दूर मन टेक्न खोज्दैछु

२०७५ फागुन ५ गते आइतबार
सोल्टी होटल ,नेपालगँज