Samarthya – Man Ek Tamas Ko Bhaye Pachhi

सामर्थ्य – मन एकतमासको भएपछी

विकासको कुरा
निकासको कुरा
निरास हुँदामा हतासको कुरा
केही ठीक लाग्दैन
प्राकृतिक लाग्दैन;

भर्खरै आइपुगेर एक हात पानी पिउने रहर
बटिदारले आफ्नो बनाइदियो
बुखार लागेछ गिरत भन्दैछ अब्बास
निधार छाम्ने हर्कत गर्न मन छैन
निधारसम्म पुग्ने तागत पनि छैन
योपल्ट मौसमले बडो घात गरिदियो
व्यग्र भएर भनिरहेछ आफ्नो कुरा
एकाग्र भएर सुनिदिनुछ उसको कुरा
र यससँगै,
चार मन पैचो तिर्ने रहरले
फेरि अर्को टिकट काटेको छ
बडो अदबका साथ उसले गरेको नमस्कारले
मानसिकता त्रस्त भएको छ
मन एकतमासको भएपछी
बतासको कुरा
आकाशको कुरा
निरास हुँदामा अब्बासको कुरा
केही ठीक लाग्दैन
प्राकृतिक लाग्दैन
कारण:
भर्खरै उसकाे जाबाे एउटा समाचारले
समय संकटग्रस्त भएकाे छ;

मन एकतमासकाे भएपछि…….॥