Janak Karki – Bichitra Kaal

जनक कार्की – बिचित्र काल

बिरामी सहरको व्यस्त चोकमा
एउटा निरोगी क्लिनिक
खटिएको छ दिनरात
उपचारार्थ ।

सहरमा अनेकौ रोगको माहामारी छ।

प्याङ्क्रीयाजको धाराबाट इन्सुलिनको थोप्पो चुहिन्न
रगतहरु म्याराथनको प्रतियोगितामा दौडिरहेछन
मुटुले बजाइरहेछन हेभी मेटलको रिदम ड्रमसेटमा
कलेजोहरु भट्टीमा अत्याधिक स्नानमा बिजयी भएर सिरोसिसको तक्मा भिर्दै छन
मृगौलाहरूले बालुवा चाल्दा-चाल्दा पत्थरको रास लगाएका छन
आखाँहरुले दिनरात उस्तैउस्तै देखिन्छ ।

तमाम रोगहरु बोकेर हिडेको यो बिरामी सहर
जसोतसो यो सुतिरेहको समयमा
एउटा एम्बुलेन्समा शंख फुक्दै
ठूलो आशा बोकेर
क्लिनिकको मुलढोका सम्म आइपुग्छ।

अपसोस् आज क्लिनिक बिरामी छ
चुकुल लगाएर कोठामा पल्टिरहेछ
बिरामी सहर डराउछ आत्तिन्छ चिच्याउछ।

आज क्लिनिक बिरामी छ,
आज सहर बिरामी छ
यस्तो संकट आएको छ
साला समय हरामी छ।