Dipendra KC – Meri Nabodha

दीपेन्द्र के.सी. – मेरी नवोढा !

ओई मेरी नवोढा !
उतारिदेउ लाज सवै
रात छिप्पिईसक्यो आज ।

अनजानमै सही
यात्रा शुरु गर्नुछ आज
मधुशालामा घन्किएको गीत
तिम्रा मेरा लागि हो
जीवनभर नभुल्ने रात
आत्मिक प्रेमको विनिमय
तिम्रा र मेरा लागि हो
सायद ! यसैलाई भन्छन होला
हनिमून !

ओई मेरी नवोढा !
उतारिदेउ लाज सवै
कुइना जोडेपनि नजोडेपनि
एउटै भैसक्यो हाम्र्रो यात्रा,
हेर त त्यो पहाड
सकेपनि नसकेपनि
अव सँगै चढने हो हामीले
यही शर्तमा –
पोखिएको हो सिन्दूर सिँउदोमा
हिडेको हो डोली नौमतीको लर्कोमा
उक्लिएका हौं सँगै
यो सिंढी र पिंढीमा
फेरि कहिल्यै नआउने समय
कैद गर तिमी पनि
र कैद गर्छु म पनि ।

ओई मेरी नवोढा !
आउलो लगाएर मूलढोकामा
आउ समर्पित भएर एकार्कामा
दुनियाँलाई हेरौं
एउटै आँखीझयालबाट ।
आजदेखि—
तिम्रो र मेरो
एउटै हो छानो
र, एउटै हो मानो ।

बागलुङ हालः लुभेन बेल्जियम ।

नवोढा — लज्जा र यौवनाले परिपूर्ण नवयुवती वा नवदुलही ।